इजरायल संसदको निर्वाचन: चार पटक प्रधानमन्त्री भएका नेतान्याहूको अग्निपरीक्षा

५ बर्ष अगाडि

जेरुसलेम – इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा हुनुहुन्छ । 
भ्रष्टाचारको आरोपका कारण विवादमा तानिनुभएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ । तर राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपणहरु पनि आएका छन् ।

मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणहरुले देखाएका छन् । तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउन सक्ने सम्भावना रहेको देखाएका छन् । 

चुनावको अन्तिम नतिजा भने बुधबार बिहान प्राप्त हुनेछ ।

पूर्व सैनिक प्रमुख गान्जले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताउनुभएको छ । 
यो चुनाव ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहूका निम्ति धेरै किसिमबाट जनमतसङ्ग्रह सरह रहेको छ । नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ । तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन् ।

यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीहरुमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गर्नुभएको छ । चुनावी अभियानलाई नजिकबाट हेरिरहेका टिप्पणीकारहरुले अरब इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रुपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन् । 
नेतान्याहूले चुनाव हुनु तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गर्नुभएको छ । आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने नेतान्याहूले घोषणा गर्नुभएको छ । 
इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाईले प्यालेस्टिनीसँग यसअघि भएको दुई– देश समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ । दुई–देशको मान्यता दिने, इजरायल, राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ ।
इजरायलका अति दक्षिणपन्थीहरुको यो लामो समयदेखिको चाहना र कदम हो ।

परिवर्तनको आवश्यकता:

नेतान्याहूले आफूलाई इजरायलको अत्यावश्यकीय राजनेताका रुपमा चित्रण गर्ने प्रयत्न गर्नुभएको छ । चुनावी दौड अन्तिम चरणमा पुगेकै अवस्थामा पनि उहाँले आफ्ना निकटतम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोसँग भेटवार्ता गर्नुभएको छ । 

चुनावी प्रचारका क्रममा उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पबाट जेरुसेलमलाई इजरायलको राजधानी र गोलान हाइट्सको सार्वभौमसत्ता इजरायलकै भएको मान्यता दिलाउन सफल भएको बताउनुभएको थियो । उहाँले पश्चिमी किनाराका इजरायली बस्तीलाई इजरायली सार्वभौमसत्ताभित्र समायोजन गर्ने योजना बारेमा अमेरिकी नेतृत्वलाई जानकारी गराइसकेको पनि बताउनुभयो ।

“कसले यो कार्य गर्न सक्छ ? साँच्चिकै भन्नुपर्छ, अरु कसैले यो कार्य गर्न सक्दैन,” नेतान्याहूले आइतबार स्थानीय समाचार पोर्टल आरुज् शेभालाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।  “विश्वका अघिल्तिर को उभिन सक्छ रु अमेरिकी कङ्ग्रेसलाई कसले सामना गर्न सक्छ रु कसले जनताको विचारलाई त्यसतर्फ लैजान सक्छ ?”

यसैबीच, उहाँले ट्रम्पकै शैली अपनाउँदै भन्नुभयो – भ्रष्टाचारको अनुसन्धान केबल मलाई कमजोर देखाउन मात्र गरिएको हो, त्यसमा कतै सत्यता छैन । 
सोमबार राति प्रधानमन्त्री नेतान्याहू प्रार्थनाका निम्ति जेरुसेलमको पश्चिमी पर्खाल पुग्नुभयो । 

पूर्व सैनिक ५९ वर्षीय गान्जले पनि पार्टी गठन गरी नेतान्याहूलाई चुनौती दिन कम्मर कस्नु भएको छ । उहाँले प्रधानमन्त्री नेतान्याहू भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अब आमजनताले नेतान्याहूलाई बिदा गर्ने समय आइसकेको छ भन्नुभयो ।

उहाँले पश्चिम किनारालाई इजरायलमा गाभ्ने नेतान्याहूको योजना दक्षिणपन्थी मतदातालाई आफूतिर आकर्षित गर्ने “गैरजिम्मेवार” प्रयास मात्र रहेको आरोप लगाउनुभयो ।
गान्जले विश्वव्यापी रुपमा स्वीकार्य शान्ति सम्झौतालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पश्चिम किनाराका बस्ती र त्यहाँको सुरक्षा जिम्मा इजरायलले गर्नुपर्ने धारणा उहाँको छ ।
उहाँले कुनै पनि किसिमको एकपक्षीय कदम नचाल्ने स्पष्ट गर्नुभएको छ ।

“अहिले परिवर्तनको आवश्यकता छ र परिवर्तनको अवसर पनि प्राप्त भएको छ,” गान्जले इजरायली सेनाको रेडियोमा बोल्दै भन्नुभयो । “इजरायलले एकता, सम्बन्ध र आशा जगाउनुपर्ने आवश्यकता छ, पराकाष्ठाको राजनीति अहिलेको आवश्यकता होइन ।”

गान्जले दुई जना पूर्व सैनिक प्रमुखहरु र पूर्व अर्थमन्त्री याइर लापिडलाई पनि साथमा लिनुभएको छ । उहाँहरु राज्य सञ्चालन र प्रशासनमा निकै अनुभवी मानिनुहुन्छ । 
जनमत सर्वेंक्षणले नेतान्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले बराबर स्थान प्राप्त गर्नसक्ने देखाएका छन् । इजरायली संसदमा १२० स्थान रहेको छ ।
सर्वेक्षणमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ । दुबैले ३०–३० स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेकाले दुबै पार्टीले सरकार गठनका निम्ति अरु साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनु पर्नेछ । 

साना दक्षिणपन्थी पार्टीहरुले नेतान्याहूलाई समर्थन गर्ने सम्भावना रहेकाले पनि अबको प्रधानमन्त्री पनि उहाँ नै हुने सम्भावना छ । तर विगतमा भएका जनमत सर्वेक्षणका नतिजाहरु नमिलेकाले अहिल्यै चुनावी अडकल गर्न कठिन छ । 

चुनावका दिनसम्म पनि निर्णयमा नपुगेका मतदाताहरुको संख्या ठूलो रहेको मानिन्छ । नेतान्याहूले विजय हासिल गरेमा इजरायलका संस्थापक डेभिड बेन–गुरिअनकै समकक्षमा उहाँले इजरायलको सबैभन्दा बढी समय नेतृत्व गर्ने अवसर प्राप्त गर्नु हुनेछ । नेतान्याहू १३ वर्ष प्रधानमन्त्री रहिसक्नुभएको छ, र कतिपयले उहाँलाई “राजा बिबी” भन्न थालेका छन् । तर चुनावमा विजयी भए पनि उहाँमाथि भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा पर्ने सम्भावना छ । महान्यायाधीवक्ताले नेतान्याहूमाथि ठगी, धोखाधडी र विश्वासघातको नाममा अदालतमा मुद्दा दायर गर्ने बताइसक्नु भएको छ ।

अदालतमा मुद्दा दायर भए पनि उहाँले राजीनामा गर्नु पर्नेछैन । संविधान अनुसार अदालतबाट दोषी प्रमाणित भएमा मात्र प्रधानमन्त्रीको पद रिक्त हुन सक्दछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया