‘मेस्सीलाई ईश्वरसँग तुलना गर्नु मूर्खता हो’

४ बर्ष अगाडि

स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी विश्व फुटबलका उत्कृष्टमध्येका एक खेलाडी हुन्, यसमा कसैको दुईमत छैन । तर, कतिपयले मेस्सीलाई फुटबल जगतकै सर्वकालीन महान् खेलाडीका रूपमा चर्चा गर्ने गर्छन् ।

त्यत्ति मात्रै हैन, कतिपयले मेस्सी सबैभन्दा उत्कृष्ट खेलाडी हुन् भनेर साबित गर्न उनको तुलना ‘ईश्वर’सँग गर्ने गरेका छन् । कतिपयले मेस्सीलाई धर्तीका मानिस नभई एलियनसम्मको उपमा दिने गर्छन् ।

तर, क्याथोलिक इसाई धर्मावलम्बीका सिनियर धर्मगुरु पोप फ्रान्सिसले यसमा आपत्ति जनाएका छन् । उनले मेस्सीलाई ईश्वरसँग तुलना गर्न नहुने भनाइ राखेका छन् ।

हालसालै स्पेनको एक टिभी कार्यक्रममा कुरा गर्दै धर्मगुरु फ्रान्सिसले मेस्सी राम्रो खेलाडी भए भने उनी ईश्वर नरहेको बताए । उनले मेस्सीलाई पटक–पकट ईश्वरसँग तुलना गर्नेलाई ‘मूर्ख’ पनि भनेका छन् ।

कार्यक्रममा धर्मुगरु फ्रान्सिसलाई ‘के लिओनल मेस्सी ईश्वर नै हुन् त’ भनेर सोधिएको थियो । सो प्रश्नमा उनले भने, ‘यो एक विश्वास हुनसक्छ । तपाईं वा जो कोहीले यसो भन्न सक्दैन । मलाई सोध्नुहुन्छ भने यो वाहियात हो, म विश्वास गर्दिनँ ।’

फ्रान्सिसले मेस्सी राम्रो खेलाडी भएकाले समर्थकहरूले माया गरेर ईश्वर मान्नु अर्कै कुरा रहेको बताए । ‘कतिपयले भन्छन् कि, मेस्सी ईश्वर हुन् । किनभने, उनीहरूले मेस्सीलाई माया गर्छन् । तर, ती भावनात्मक कुरा हुन्,’ धर्मगुरु फ्रान्सिसले भने, ‘जसले ढिपीसाथ मेस्सीलाई ईश्वरको नाम दिन्छन्, त्यो उनीहरूको मूर्खता हो ।’

धर्मगुरु प्रान्सिसले मेस्सी राम्रो खेलाडी भएको बताए । ‘अवश्य पनि, मेस्सी एक राम्रा खेलाडी हुन् । तर, उनी ईश्वर हुन सक्दैनन् ।’

४ बर्ष अगाडि

प्रतिक्रिया