आज बार्सिलोना र युनाइटेड भिड्दै , को जालान् सेमीफाइनलमा ?

५ बर्ष अगाडि

काठमाडाैँ – आज युरोपियन च्याम्पिन्स लिगको क्वाटर फाइनलको दोश्रो लेगमा स्पेनिस पावरहाउस बार्सिलोना र रेड लायन म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन् । आजको यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

बार्सिलोनाको मैदानमा आज युनाइटेड जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रनेछ भने बार्सिलोना पनि आफ्नो नाममा रहेको रेकर्ड कायम राख्दै सेमिफाइनलको यात्रा तय गर्ने दाउमा हुँनेछ ।

आजसम्म म्यानचेस्टर युनाइटेडले बार्सिलोनाको घरेलु मैदानमा खेलिएका खेलमा जीत हासिल गर्न सकेको छैन । बार्सिलोना र म्यानचेस्टर युनाइटेड बिच क्याम्प नोउमा ४ पटक प्रतिस्पर्धा हुँदा बार्सिलोनाले २ पटक जीत हात पारेको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

आज हुने खेलमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई हराउँन अत्यन्तै आकर्षक खेल पस्कनु पर्ने हुन्छ । किनभने गोल पोस्ट सम्हालेका टेर स्टेगनलाई डिफेन्स लाइनमा पिके तथा लेङलेटले साथ दिनेछन् । लेफ्ट विंङबाट जोर्डि अल्बाले मेसीलाई भरपूर सहयोग गर्दा कौटिन्हो वा डेम्बेले मध्ये एकले स्ट्राइकर स्वारेजलाई गोलका लागि पास उपलब्ध गराउँनेछन् । राकिटिच, सर्जियो बुस्केट र आर्थुरले मिडफिल्डमा बल खेलाउँदै म्यानचेस्टरको आक्रमणलाई विफल पार्न प्रयास गर्नेछन् ।

बार्सिलोनाले स्टार खेलाडी मैदानमा उतार्दा पहिलो लेगमा १ गोलले पछाडी परेको म्याचेस्टर युनाइटेडले पनि पहिलो रोजाइकै खेलाडी मैदानमा उतार्नेछ । युनाइटेडलाई आजको खेलमा डे गेया, क्रिस स्मलिङ , योङ , पोग्बा तथा लुकाकु जस्ता नामी खेलाडीको साथ हुँनेछ ।

त्यसै गरी आजै हुने खेलमा इटालियन क्लब युभेन्टस र डच क्लब आयाक्स भिड्दैछन् । पहिलो लेग बराबरीमा सकिएको खेलको दोश्रो लेग आज युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

यो खेल नेपाली समय अनुसार आज राति १२ः४५ मा सुरू हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया