महाभारतको युद्ध हुनुमा कसको हात थियो? द्रौपदीको? कि अरू कसैको?

५ बर्ष अगाडि

जहाँ जहाँ हिन्दु धर्मग्रन्थ महाभारतको कुराप्रसङ्ग उठ्छ, त्यहाँ सबैबाट फरक-फरक विचार र तर्क आउने गर्छ। अधिकांश प्रसङ्ग के हुन्छ भन्दा महाभारतको युद्ध किन भयो? कसले गर्दा भयो?

अनि धेरैको तर्क के हुन्छ भन्दा द्रौपदीकै कारणले गर्दा महाभारतको युद्ध भएको हो। उनकै कारणले गर्दा लाखौँ योद्धाहरूले आफ्नो प्राण त्याग्नुपर्यो। अनि उनकै कारणले गर्दा दाजुभाईको झगडा एउटा ठूलो युद्धमा परिणत भयो। तर के यो साँचो हो?

आज हामी यसै विषयलाई लिएर छलफल गर्न जाँदैछौँ। वास्तवमा महाभारतको युद्ध हुनुमा कसको हात थियो? धेरैले द्रौपदीलाई नै दोष दिने भएकोले उनैबाट कुरा सुरु गर्दा ठीक होला।

द्रौपदी को थिइन्?
सिधै द्रौपदीलाई दोष दिनुभन्दा पहिले द्रौपदी को थिइन् भनेर जान्नु जरुरी हुन्छ। महाभारतको कथा पढ्दा अथवा टिभीमा हेर्दा सायद सबैले याद गरेकै होला कि उनी अरू महिला भन्दा भिन्न थिइन्। जन्मेदेखि नै उनको जीवनको पाटामा फेरबदल हुँदै आएको थियो।

यो कुरा भनिदिऊँ कि उनको जन्म आमाको कोखबाट भएको होइन। पञ्चाला राज्यका राजा द्रौपदाले महायज्ञ लगाउँदा यज्ञको अग्नीबाट द्रौपदी उत्पन्न भएकी थिइन्, जसलाई द्रौपदाले आफ्नो धर्मपुत्री बनाएर राखे। फेरि यो पनि कथित छ कि अग्नीबाट उत्पन्न हुँदा उनी बालक थिइनन्, किशोरी थिइन्।

यति भनिसकेपछि, उनको आफ्ना मातापिता प्रतिको भावना अनि आफ्नो पहिचानसँग जोडिएको प्रश्नको बारेमा तपाईँ सजिलै अनुमान लगाउन सक्नुहुन्छ होला।

द्रौपदीको बाल्यकाल
राजा द्रौपदा पञ्चाला राज्यका सबैभन्दा शक्तिशाली राजा थिए। उसको जीवनको मूल उदेश्य भनेकै युद्ध गर्नु र अरूको वध गर्नु थियो। यस्तो राजाको छोरी बन्न पुगिन् द्रौपदी। द्रौपदीका एक भाई पनि थिए- द्रौपद। उसको जन्म पनि यज्ञअग्नीबाटै भएको थियो र ऊ जन्मिँदा आफूसँग थुप्रै हात हतियारहरू पनि लिएर आएको महाभारत उल्लिखित छ। फेरि द्रौपदीको एक बहिनी पनि थिइन्- शिखण्डी। उनी सानो छँदा स्त्री थिइन् र पछि पुरुषमा परिवर्तन भइन्।

यो सबै तथ्यलाई बुझ्ने हो भने द्रौपदीको बाल्यकाल कसरी बित्यो भनेर हामीले अनुमान पनि गर्न सक्दैनौँ। अवश्य पनि अन्य राजकुमारीको भन्दा उनको बाल्यकाल विवादास्पद थियो।

द्रौपदीको वैवाहिक जीवन
द्रौपदीले पाण्डवहरूसँग विवाह गर्नुपर्यो। उनका पाँच पती थिए। जस्तो सुकै समयकालमा पनि यो एकदमै अपरम्परागत हुन्छ। तैपनि उनले सजिलै पाँच पाण्डवलाई आफ्ना पति स्वीकार गरिन्।ससुराली राज्य छिरेपछि मात्रै उनले थाहा पाइन् कि उनका पतिहरूले निरन्तर खतरा र धम्की झेल्दै आइरहेका थिए। अनि जब उनी महारानी बनिन्, उनलाई जग्गाको एक सानो हिस्सा दिइयो जुन बाँझो थियो।

आफ्ना हरेक पतिबाट उनबाटचवटा सन्तान भयो। तथापी पतिप्रतिको धर्म निभाउनुपर्दा उनले १२ वर्षसम्म आफ्ना सन्तानहरूबाट टाढा रहनुपर्यो। अनि थाहा छ? द्रौपदीका पाँच वटै सन्तानको निर्मम हत्या गरियो। भनेपछि उनको मातृजीवन पनि अरूको जस्तो सुखमय अनि सोँचेको जस्तो भएन।

द्रौपदीका मित्र
उनका असल मित्र श्रीकृष्ण थिए। वास्तवमा उनको नाक ‘कृष्णा’ पनि हो। उनको धर्मप्रतिको आस्था र भक्तिबाट प्रसन्न भएर श्रीकृष्णले उनलाई सदा आशिर्वाद र सुरक्षा प्रदान गर्थे।

द्रौपदीमाथिको आरोप
अधिकांशले महाभारतको युद्धको लागि द्रौपदीलाई नै आरोप लगाउँछन्। तर के यो साँचो हो? विस्तृतमा बुझ्ने कोशिस गरौँः

कर्णलाई के भनेकी थिइन् द्रौपदीले?
द्रौपदीले कर्णलाई प्रेम गर्थिन्, सम्मान गर्थिन् र विवाह गर्न चाहन्थिन्। तर उनले आफ्नो स्वयंवरमा कर्णलाई सिधै अस्वीकार गरिन् र उनले कर्णलाई ‘सुतपुत्र’ पनि भनिन्। सुतपुत्र भनेको मातापिता नभएको पुत्र भन्ने बुझिन्छ।

उनको यो वाणी तिखो थियो, जसले कर्णलाई घायल बनायो र पछिसम्म पनि त्यो घाउ निको हुन सकेन। तर के उनले गलत बोलेकी थिइन् र? त्यतिबेलासम्म कर्णको वास्तविकताको बारेमा कसैलाई पनि थाहा थिएन। पछि कृष्णले भनेपछि मात्रै द्रौपदीले थाहा पाइन् कि कर्णको माता कुन्ती थिइन् भनेर। 

हो, ल ठीक छ, उसको बोली तिखो थियो। तर के यसलाई युद्धको कारण मान्नु उचित होला? के सारा योद्धाहरू यतिसम्म मूर्ख थिए कि एउटा स्त्रीको बोलीले एक-अर्काको प्राण लिन तत्पर भए? यो त सरासर तर्कहीन कुरा भएन र?

द्रौपदीले दूर्योधनको पनि अपमान गरेकी थिइन्
पछि फेरि द्रौपदीले दूर्योधनलाई ‘अन्धोको पुत्र’ भनेको भनेर आरोप लाग्यो। हुन त उनले सत्य कुरा नै भनेकी थिइन् तर दूर्योधन बदला लिने स्वभावका थिए। तर केवल यत्ति कुराबाट युद्ध निम्त्याउन मिल्छ त? यदि मिल्छ भने त्यो युद्धमा कसले भाग लिने? महायुद्धको लागि त कुनै ठूलै कारण हुनुपर्छ।

द्रौपदीको चीरहरण
कुनै पनि स्त्रीको अस्मितामाथि हात लाग्नु जस्तो अपमान र लज्जास्पद कुरा अरू केहि हुँदैन। तर दूर्योधनले यस्तो पाप र अधर्मी काम गर्न बाँकी छोडेन। कर्णले समेत उनलाई ‘वेश्या’ भन्दै दूर्योधनको साथ दिन थाले। यदि श्रीकृष्णले द्रौपदीलाई बचाउँथेनन् भने दूर्योधनको बदलाले अर्कै रूप लिन सक्थ्यो।

त्यसो भए महाभारत युद्धको कारण के त? के पाउनका लागि अनि किन सारा योद्धाहरू एक-अर्काको प्राण लिन तत्पर भए? किन सबैजना रगतको प्यासी बने?

सबैलाई याद छ होला कि, श्रीकृष्ण युद्ध नगर्ने आग्रह लिएर हस्तिनापूर पुगेका थिए। तर दूर्योधनले कृष्णको आग्रलाई सिधै नकारे। किनकी दूर्योधन त केवल युद्ध गर्न चाहन्थे। कर्णले पनि उसलाई त्यत्तिकै साथ दिएका थिए भने अन्धो राजा धृतराष्ट्रले पनि दूर्योधनको युद्ध गर्ने निर्णयमा कुनै आपत्ती थिएन।

कृष्णले पनि युद्ध गर्नुहुँदैन भनेका थिए
विराट राज्यको राजधानी ‘उपप्लव्यय’मा कृष्ण, पाण्डव र पाण्डवका मित्र राज्यहरू बसेर छलफल गरेका थिए, जहाँ कृष्णले व्यक्तिगत दुश्मनीका कारण युद्ध गर्नु धर्म विरुद्ध हो भनेका थिए। अनि यस्तो तर्कहीन कारणले हरेक योद्धालाई युद्धमा होमाउनु गलत हो पनि भनेका थिए।

त्यसो भए के थियो त कारण?
कारण थियो दूर्योधनको घमण्ड, बदलाको भावना। कारण थियो कर्णको अन्धाधुन्ध साथ। कारण थियो धृतराष्ट्रको अन्धो न्याय। अनि कारण थियो शकुनीको विषालु कुटनीति।

५ बर्ष अगाडि

प्रतिक्रिया