प्रतिफल पाउन आठ वर्ष कुर्नुपर्ने रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री खुल्यो

४ बर्ष अगाडि

काठमाडौंं – प्रतिफल पाउन ८ वर्ष कुर्नुपर्ने सरकारी लगानीका दुई जलविद्युत् आयोजनाले आजदेखि साधारण शेयर बिक्री सुरु गरेका छन् ।

सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्री सुरु गरेका हुन् । दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइने व्यवस्था गरिएको छ ।

चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुई आयोजनाले छिटोको अवधिमा वैशाख १० गते र पहिलो चरणमा बिक्री हुन नसकेमा ढिलोको अवधिमा जेठ ५ गतेसम्म शेयर बिक्री गर्ने छन् । सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ ।  यस्तै ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको जनाएको छ ।

कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ । आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।

कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष लाग्नेछ। आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया