राति बास्ने कुखुरो (कथा)

४ बर्ष अगाडि

कथा – ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए ।

“सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा भन्यो ।

“थाक्न पनि किन नथाक्नु त कान्छा ! आँखा यसो झिमिक्क गर्न पनि पाएको हुँदैन, कुखुरो बास्न थालिहाल्छ, ‘झट्ट उठ ए मोरा हो ! कुखुरो बासिसक्यो, कति मरिरहन्छौ ओछ्यानमा रु हैन यही चालले त कहिले उठाइसक्नु ए गाँठे मेरा त्यत्रा पैसा ! ल ल उठिहाल र जाओ मेलामा काम गर्न, ल ल ‘‘...’ ल त भनेर आँखा मिच्दै धर्याङमर्याङ गर्दै खेत पुग्यो र काम गर्न थाल्यो, उज्यालो त हुँदै हुँदैन ! कतिबेर काम गरिसकेपछि पो बल्ल उज्यालो हुने सुर गर्छ । हैन के भा’को यस्तो उदेक !” अर्को खेतालाले आफ्नो मर्म पोख्यो ।

“कुखुरो पनि त्यही धनीमानीको पक्ष लाग्छ । के गर्नु बजियाको भाग्यै ठूलो र’छ । ‘जता धेर, उतै हेर’ भनेको यही त होला नि ।”

“भाग्य–साग्यको कुरो नगर है मसँग ।” अर्को किसानले जङ्गिदै भन्यो, “अघि सधैँ ठिक्क बेला बास्ने कुखुरो अहिले चाहिँ किन मध्यरातमै बास्न थाल्छ हँ रु विचार गर है सबैले । अब यी स्यालका छाकहरूलाई एक–एक गरेर ननिमोठी भो’र ! मरी मरी काम गरेर एक झल्को पनि सुत्न नपाउनु ए गाँठे !”

त्यस भेगका खेतालाहरू सधैँ यस्तै कुराकानी गर्दै मेलाबाट आ–आफ्ना घरतिर फर्कन्थे । मिठो–नमिठो एक–आधा पेट खान्थे र निद्रा पु¥याएर सुत्ने विचारले हतार हतार ओछ्यानतिर लम्कन्थे ।
केही दिनदेखि काओ यु–पाओलाई पखाला लागेको थियो । त्यस रात पनि ऊ उठ्यो र बिस्तारै बाहिर निस्क्यो । दिसा बसिसकेपछि फर्कने बेलामा गोरुलाई भुस्सा छ कि छैन भनेर हेर्न काओ यसो टाट्नोतिर गयो । तर त्यही बेलामा उसले एउटा कालो छाया अलि पर कुखुराको खोरतिर चाल मारेर लमक्क लम्केको देख्यो । त्यसको हातमा एउटा लामो लठ्ठी थियो । मान्छेको आकृति भएको त्यस छायालाई उसले ठम्याउन खोज्यो तर अहँ ठम्याउन सकेन । अँध्यारो थियो, चन्द्रमा उदाइसकेको थिएन ।

“आज चाहिँ यसलाई नसमाती हुँदैन । बाँधेर लडाउनै पर्यो । एक्लैले सकिनँ भने चिच्याएर सबैलाई उठाएर भा’पनि यस कुखुरा चोरलाई समातेरै छाड्छु ।” उसले सोच्यो । तर उसको अर्को मनले यो पनि सोच्न थाल्यो कि ‘बिचरा कुनै गरिब मान्छे होला नि । यसका जहान छोराछोरीहरू कति दिनदेखि भोकै होलान् वा बिरामी भएर लडिर’का होलान् । नभएरै त चोर्न आयो होला नि बरा ! जहान बच्चा भोकै मर्न लागेपछि के गरोस् त अरू । भो म यसलाई समात्दिनँ । हद्दै चोरे त्यही दुई–चार कुखुरा त चोर्छ होला नि यसले । आ‘‘.. चोरोस् । स्यालका आहाराहरूलाई लगे एक निन्द्रा सुखले त सुत्न पाइन्छ ।’

त्यसैबेला छायाले गर्धन तनक्क तान्यो र हातले नाक छोप्यो । यसले हाच्छिउँ गर्न लागेको जस्तो लागेर काओ यु–पाओ आत्तियो र मनमनै सोच्यो ‘ला, यसले हाच्छिउँ गर्यो र सबै उठे भने यसको दुर्दशा हुन्छ होला नि ! अझ त्यो जमिनदार जोउले यो कुरा चाल पायो भने त यसको छाला काढेरै छोड्छ ।’ तर केही पनि भएन । काओले बिस्तारै गएर गोरुलाई भुस्सा राख्ने भाँडा यसो छोएर हेर्यो रातभरलाई पुग्ने भुस्सा रहेछ । त्यसपछि उसले सुत्न जाने विचार गर्यो तर आफू हलचल गरे चोर भाग्ने र उसले केही पनि लान नपाउने कुराले ऊ सतर्क भयो । चोरकै भलाइका लागि काओ पनि भुईंमा थपक्क बस्यो । त्यो को रहेछ भनेर चिन्ने रहर उसलाई निकै लागिरहेको थियो ।

धेरै बेर चुप लागेर बसेपछि एक्कासि कुखुरा बासेको नक्कली आवाज निकालेर छाया करायो । काओ त्यसको चाल देखेर जिल्ल पर्यो । त्यो आफूतिरै आउन लागेको देखेर काओ पछि हट्यो र परालको थुप्रोमा लुक्यो । गोरु भएको ठाउँमा आइपुगेपछि त्यसले सलाई कोर्यो र भुस्सा भए नभएको यसो हेर्यो । सलाईको उज्यालोमा काओले त्यो मान्छेको अनुहार देख्यो र तिन छक्क पर्यो – त्यो त अत्याचारी जमिनदार जोउ नै पो रहेछ ।

‘ए ! उसो भए आधारातमा बास्ने कुखुरो त तैँ बजिया पो रहिछस् !’ काओले मनमनै भन्यो ।
जमिनदारले बासेको आवाज सुनेर एकछिन पछि खोरका कुखुराहरूले पनि बासेरै जवाफ दिए । त्यसपछि त गाउँभरिका सारा कुखुराहरू नै बास्न थाले । काओलाई भयङ्कर रिस उठ्यो । तर त्यसबेला उसले चुप लागेर बस्नु र त्यसको अगाडि नपर्नु नै उचित ठहर्यायो ।

एकैछिन पछि जमिनदार जोउ हल्ला गर्दै घर घर गएर कराउन थाल्यो “ए .. उठ है ‘ हिँड मेलामा काम गर्न ‘। कुखुरा बासिसके ‘। अर्काको ऋण खाएर पनि कस्तरी सुत्न सकेका, भाते बजियाहरू । ल.. ल उठिहाल र ज्यावल बोकेर हिँडिहाल खेततिर ।” किसानहरू अधुरो निद्रामा धङधङाउँदै उठ्न थाले र रिसाउँदै बरबराउँदै औजारहरू समातेर खेततिर हिँड्ने सुरसार गर्न थाले । जमिनदार जोउ एकछिन पछि घरतिर हिँड्यो ।

“कस्तो अचम्म ए ! न चाँडो, न ढिलो, ओछ्यानमा यसो ढल्यो, बास्न थालि पो हाल्छ । कस्ता कुखुरा हुन् यी ? मलसाँप्राका मुख ।”

“के भन्छौ त कान्छा, एउटाले बासे मात्र पनि केही भयो भन्नु । गाउँभरिकाले नै बास्न थालेपछि के भन्ने त ?” लिउ नाम गरेको किसानले पनि आश्चर्य व्यक्त गर्यो ।

“सुन भाइ हो ! बिगार चाहिँ पक्कै केही भा’को छ ‘ छ । यस्तै किसिमले दिनभरि काम गर्नु, त्यस्तै खान्की खाएर रातभरि सुत्न नपाउनु हो भने अब चाँडै मरिन्छ है । होस गर ।”

“हैन म त भरखर पल्टेको मात्र पो थिएँ, बास्न थालिहाल्यो पड्के ।”

“काँ’को ! मेरो त भात खाएपछिको एक चिलिम तमाखु पनि सकिएको थिएन ।”
रिसले रन्कँदै उनीहरूले गरेको कुराकानी सुनेर काओले मनमनै भन्यो, ‘यो सबै त्यही लोभी जमिनदारको जाल हो भन्ने तिमीहरूलाई के थाहा ?’

“मेरी आम्मै ! के देखेँ नि आज ! धन्न उम्केँ नि म ! कालो भूत ‘ अँध्यारोमा ‘ ।” किसानहरूको अगाडि आएर आश्चर्य मिसिएको स्वरमा काओ भन्न थाल्यो । “हेर्नोस् त ! मैले लुगा पनि फुकालेको छैन । कस्तो अचम्मको कुरा छ । बुझ्नु भो !”

“कस्तो भूत ? कहाँ ?” किसानहरूले आत्तिएर सोधे ।

“पख्नोस् ‘ म भन्छु, तर अलि पर बाटोमा पुगेपछि ।” काओले सबैको मनमा खुल्दुली मच्चाउँदै भन्यो । कुरा सुन्ने आत्तुरीले पर बाटामा निस्किसकेपछि किसानहरूले हतारिँदै काओलाई सोधे “ल भन् न त, अचम्मको कुरा के हो ? चाँडो !”

काओ हाँस्न थाल्यो । उसका आँखा चम्किरहेका थिए ।

“काका हो ! अबदेखि चाँडो कुखुरा बास्यो भनेर कुखुरालाई गाली नगर्नू । कुबेलामा बासेकामा बिचरा कुखुराको केही बिराम छैन तर यसको जरोमा एउटा मानिस छ है ।” काओले रातिका कुरा जम्मै बेलिबिस्तार लगायो ।

सबै कुरा सुनिसकेपछि लिउ रिसले आगो भयो र करायो । “अब खेतमा पुगेर केही काम गरिँदैन । मज्जाले सुतिन्छ, त्यत्ति हो ।”

लिउको कुरामा सबै सहमत भए । खेतमा पुग्दा आकाशतिर तारा छरिएका थिए । एक–एक चिलिम तमाखु खाएर किसानहरू लम्पसार परेर सुते । मस्त निद्राले गर्दा शीतले लुगा लफ्रक्क भिजेको पनि कसैले चाल पाएनन् ।

अत्याचारी जमिनदार जोउको खलकले यस्तै नानाभाँतीका जालझेल गरेर किसानहरूलाई ठग्दै प्रशस्त श्रीसम्पत्ति जोडेको थियो । अनेक वित्पाते जुक्तिहरू जोउले उसका बाबु बराजेहरूबाटै सिकेर आएको थियो । जालझेल त उसको पुख्र्यौली सम्पत्ति नै भने पनि हुन्छ । निद्राले चुर भएर किसानहरू काम गर्दागर्दै खेतमै ढल्थे । यस्तो हुँदा पनि ऊ चाहिँ यसैबाट अरू फाइदा निकाल्ने जुक्ति निकाल्थ्यो । ‘अल्छे, ठग, बेइमान, निमेक हराम्’ भन्दै ऊ किसानहरूलाई पुरा काम नसिध्याएको भनेर एक पैसा पनि ज्याला दिँदैनथ्यो ।

मस्त निद्रामा सुतिरहेका किसानहरू एक्कासी कहालिएर कराए, “ऐया !”

दुष्ट जमिनदार जोउ ठूलो स्वरमा गर्जिंदै किसानहरूलाई बुटले निर्मम तरिकाले कुटिरहेको थियो । निद्राबाट आत्तिएर किसानहरू जर्याकजुरुक उभिए । जोउ आँखा तर्दै किसानहरूलाई हकारिरहेको थियो– “मेरो नुन–पानी खाएर मलाई नै ठग्ने ! तेरी’मा निमेक हरामी चोर हो । हेर त ! सबै मस्तले सुतिरहेका नकच्चराहरू, यत्रो काम बेमाख पारेर । अहिले बार बजेसम्म यति सबै काम नसक त ! म के गर्दो रै’छु तिमीहरूलाई ? एक थोपा पानी र एक गेडा अन्न दिन्नँ, बुझ्यौ ?” खाने कुरा लिएर आएको मान्छेतिर फर्केर जोउ करायो “खाने कुरा फर्काएर लैजा ।”

जोउ सधैँ झैँ आज पनि सबेरै उठेको थियो । बिहानको खाना खान सधैँ झैँ किसानहरू बेलामा नआइपुगेकाले आज ऊ छक्क प¥यो । किसान आउँदा जाँदा धेरै समय लाग्ने र काममा निकै हानि हुने सोचेर खानेकुरा आफैसँग खेतमा लिएर जाने उसले निर्णय गर्यो । त्यसैले उसैकहाँ बस्ने बुढो गोठालालाई खानेकुरा बोकाएर जमिनदार खेततिर हिँड्यो । उहाँ पुगेर हेर्छ त सबै खेताला मस्तसित सुतिरहेका । रिसले उसको जीउ नै सल्केको जस्तो भयो र उसले सुतिरहेका खेतालाहरूलाई लठ्ठीले जथाभावी हिर्काएर उठायो । त्यसपछि मारसँग गाली गर्दै खानेकुरा फर्काउन लगाउँदै अत्याचारी जोउ खेतबाट हिँड्यो ।

जोउ त्यहाँबाट हिँडेपछि रिसले मुर्मुरिएका किसानहरू एक आपसमा कुरा गर्न थाले । कसैले तुरुन्त काम छोडेर हिँड्ने विचार गरे । कसैले आजसम्म काम गरेको ज्यालाको हरहिसाब माग्ने कुरा गरे । कसैले चाहिँ निराश भएर त्यसै घर फर्कने विचार गरे ।

अन्तमा सबैको कुरा र विचारहरू सुनेर बसिरहेको काओले मुसुमुसु हाँस्दै उनीहरूलाई भन्यो, “काका हो ! मेरो पनि एउटा सानो कुरो छ । तपाईंहरूले त्यसलाई राम्ररी ध्यान दिएर सुनिदिनुहुन्छ कि भन्ने मेरो अनुरोध पनि छ ।”

सबैले उसको कुरो सुन्न उत्सुकता देखाएपछि काओले भन्न थाल्यो, “मैले एउटा सानो योजना बनाएको छु । मेरो योजनालाई राम्ररी सुनेर त्यसबमोजिम चल्ने हो भने त्यस पाजीसँग अहिलेको रिस पोख्न र त्यसलाई निकै मजाले मर्मत गर्न सक्छौँ ।”

“हैन, के भन्छ यो केटो ?” एक जना किसानले छक्क पर्दै भने, “उससँग धन छ । तागत छ । यस इलाकाको त्यो सानोतिनो राजै हो । कस्तो नराम्रो कुरा गरेको तैँले ?”

अरूहरूले पनि आफ्नो कुरामा त्यति ध्यान नदिएको देखेर काओले आफ्नो कुरालाई अझ जोड दिँदै भन्यो, “काका हो ! मैले नराम्रो कुरा गरेको हैन । त्यसलाई ठिक पार्ने जुक्ति निकालेको मात्रै हो । हाम्रो सन्तान दर–सन्तानलाई सधैँ यसरी सताउने र मार्ने काम गरिरहन्छ भने अहिले मौका पाएको बेलामा हामीले पनि किन छाड्ने, हँ ? काका चाउ–ते–चुनले भन्नुभएको कुरा पनि हामीले बिर्सन हुन्न नि– ‘जसले शत्रुलाई पहिलो मुक्का हान्न सक्छ, त्यही नै बहादुर हुन्छ ।”

किसानहरूले काओको योजनालाई ध्यान दिएर सुने र दिल खोलेर हाँसे । “सारै बेस, सारै मनासिब । हामीले यसै गर्नुपर्छ ।” काओको योजनालाई सबैले एकै मुखले समर्थन गरे ।

दिउँसोको खाना खान सबै किसानहरू जमिनदार जोउको घरमा गए । जोउ अझै पनि उनीहरूलाई गाली गर्दै सरापिरहेको थियो । तर उनीहरू कसैले पनि त्यसको वास्ता गरेनन् ।

दुई–तिन दिनपछि किसानहरूले लामा लामा लौराहरू तयार गरे र एकदिन सधैँ झै राति खानेकुराहरू खाइसकेपछि उनीहरूले बत्ती निभाए । काओलाई चियो बस्न उनीहरूले आँगनमा पठाएका थिए । एक घन्टा बितेपछि जमिनदार जोउ चाल मारेर कुखुराको खोरतिर लम्कँदै गरेको काओले देख्यो र जोउ कुखुराको खोरनिर पुगेको मात्र के थियो काओले न्वारानदेखिको बल झिकेर चिच्यायो “चोर ‘ चोर ।”

किसानहरू हत्त न पत्त कोठा–कोठाबाट निस्केर आए र जोउलाई लखेटेर आ–आफ्ना लौराहरूले मारसँग चुट्न थाले ।

“पर्ख पर्ख, ए ‘ म हुँ ।” जोउले आत्तिएर करायो ।

“हो हो, तैँ होस् नि तेरी’मा कुखुरा चोर । आज चाहिँ तँलाईं ठिक नपारी कहाँ छोड्छौँ र ?” किसानहरूले दनादन दनक दिन थाले ।

काओ चिच्याउँदै आँगनतिर दौडियो र करायो “जमिनदार जोउ, झट्ट बाहिर निक्लनुहोस् त । हामीले चोर समातेका छौँ ‘ कुखुरा चोर‘ ।” बाहिरको डरलाग्दो खैलाबैलाले जमिनदारको घरमा बस्ने जापानी अफिसरको निद्रा टुट्यो र दुई जना आठपहरियालाई अघिपछि लगाएर हातमा पिस्तोल लिँदै बेछाँटले हतारिँदै आँगनतिर कुद्यो ।

जापानी अफिसर करायो “ठोक् ‘ ठोक बजियालाई ! कुखुरा चोरलाई पनि जिउँदै छोड्ने हुकुम छैन । कुटी कुटी मारिदेओ ।”

उता जमिनदारको घरमा चाहिँ भने स्वास्नी छोराहरू आत्तिएर कोकोहोलो मच्चाउन थाले । “ए, तिनलाई नकुट भनेको !” जमिनदारनीले न्वारानदेखिको बल निकालेर चिच्याई तर जापानीले हानेको दुई फायर पिस्तोलको आवाजमा उसको स्वर कता हरायो कता ?

“मार्यो बाबा ‘ गुहार‘ गुहार..! ए, म हुँ भनेको ।” अत्याचारी जोउले आत्तिएर टाउको कुखुराको खोरतिर घुसार्यो ।

दुई फायर आकाशमा हानेपछि जापानीले पिस्तोल कुखुराको खोरतिर ताक्यो । आफ्नो लोग्नेको ज्यानै जान लागेको देखेपछि सुरुवाल मात्र लगाएकी, नाङ्गीभुतुङ्गी, बहुलाई झैँ जोउकी स्वास्नी कुद्दै कुद्दै त्यहीँ आइपुगी र भएभरको तागत निकालेर चिच्याई, “ए, यिनी त इलाकाका जमिनदार पो हुन् ।”

अफिसरको हात टक्क रोकियो र छक्क पर्दै भन्यो, “हँ ! किन ? किन ? के ? के ? अघि‘ अघि त यसरी मध्यरातमा कतै बाहिर निस्किनुहुन्नथ्यो । आज चाहिँ किन कुखुराको खोरतिर आउनुभयो हँ ? ए ‘‘ चाँडो बत्ती ल्याओ ।”

“ए जमिनदार सा’प पो हुनुहुँदो रै’छ । हरे ! हामीले के गर्यौँ नि मालिकलाई !” किसानहरूले अचम्म मान्दै पछुतो गरेको अभिनय गरिटोपले ।

जमिनदारको छोरो आफ्नो सुत्ने कोठाबाट लालटिन लिएर दौडिँदै आयो । लालटिनको उज्यालोमा त्यहाँको दृश्य छर्लङ्ग भयो । जोउको जाँघबाट रगतको धारो छुटिरहेको थियो । किसानहरूको मारबाट जोगाउन उसले टाउको चाहिँ कुखुराको खोरभित्र घुसारेको रहेछ । किसानहरूले जोउलाई झल्ट्याङझुल्टुङ पारेर बाहिर निकाले र भुँइमा पल्टाइदिए । जोउको मुख कुखुराको सुलीले घिनलाग्दो र हाँसउठ्दो भएको थियो । ऊ जाँघ मुसारी मुसारी कराइरहेको थियो । किसानहरू चाहिँ भित्रभित्रै खुसी भएका थिए र उनीहरूको शिर ठाडो थियो ।

“मालिकलाई पनि के सुर चलेको त, यस्तो मध्यरातमा कुखुराको खोरतिर आउन ? कुखुरा चोर नै ठानेर पो हामीले पनि यस्तो सारो कुट्यौँ ।” किसान लिउले धेरै दुःखी भए जस्तो गरेर अफसोस प्रकट गरे ।

“ऐया ‘ ओह ‘ म त ओछ्यानमा ‘ सुतेको ‘ थिएँ ‘ ऐया ‘ कुन्नि कुन चाहिँ ‘ भूतप्रेतले ‘ तानेर मलाई यहाँ ल्यायो ‘ मलाई थाहा ‘ छैन ‘ ऐया‘ ।” जमिनदार जोउले पीडाले रुँदै कराउँदै आफ्नो स्पष्टीकरण दियो ।

“ए, उसो भए हजुरले झन् विचार गर्नुपर्ने भयो । घरमा भूतप्रेत रहेछन् । मौकैमा होस नपुर्याए झन् ठूलो बिगार पर्न पनि बेर छैन है मालिक ।” किसानहरूले बडो गम्भीर भए जस्तो गरेर अत्याचारी जोउलाई सम्झाए ।

जोउलाई बोकेर कोठामा पुर्याइदिएपछि जापानी अफिसरले डाक्टरलाई लिन पठायो । जमिनदारको दुवै जाँघका मूल हड्डी नै भाँचिएका रहेछन् । भित्रभित्रै रिसले मुर्मुरिए तापनि दुष्ट जमिनदार जोउले बाहिर चाहिँ केही भन्न सकेन । त्यस घटनापछि अत्याचारी दुष्ट जमिनदार जोउ कुखुराको खोरनजिक जानै नसक्ने भयो । खेतमा चियोचर्चो गर्न जान पनि ऊ असमर्थ भयो र गाउँमा मध्यराततिर कुखुराहरू पनि बास्न छाडे । (अनुवादकः रामेश श्रेष्ठ)

४ बर्ष अगाडि

प्रतिक्रिया