नेकपा एकता: सहमतिपछि चार जिल्लामा हेरफेर

५ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकता प्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ ।

पूर्वएमालेको भागमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका हुन् । सहमतिअनुसार उदयपुर, खोटाङ र महोत्तरीको जिल्ला नेतृत्व पूर्वएमाले र अर्घाखाँची पूर्वमाओवादीको भागमा परेको थियो । तर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले सोमबार बिहान त्यसमा हेरफेर गरेको स्रोतले बतायो । जसअनुसार उदयपुर, खोटाङ र महोत्तरी पूर्वमाओवादीलाई दिएर अर्घाखाँची मात्रै पूर्वएमालेले लिएको थियो।

अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको छलफलमा ती जिल्लालाई पूर्वएमालेकै भागमा राखिएको थियो। सहमति फेरिँदा पूर्वएमालेका जिल्ला अध्यक्ष अब सचिवको भूमिकामा रहेका छन् ।

उदयपुरका तत्कालीन एमाले अध्यक्ष ईश्वरमणि राउत सचिवालय सदस्य ईश्वर पोखरेल निकट मानिन्छन् । उनलाई पार्टीको जिल्ला सचिव बनाइएको छ। त्यस्तै खोटाङका बबी चाम्लिङ माधव नेपाल निकट मानिन्छन् । उनलाई पनि सचिव बनाइयो भने महोत्तरीका सौकीलाल यादव पनि नेपाल निकटकै जिल्ला अध्यक्ष हुन् नागरिक दैनिकले लेखेको छ । उनलाई पनि सचिव बनाइयो । ‘केही हेरफेर भए पनि नेपाल असन्तुष्ट हुनहुन्न । उहाँले राखेको मापदण्डअनुसार भएकाले त्यसलाई अन्यथा लिनुभएको छैन’, नेपाल निकट स्रोतले भन्यो । 

नेता नेपाल सोमबार नेकपाले स्थापना दिवस मनाइरहेको कार्यक्रमको बीचमै बाहिरिएका थिए । यसबाट उनी एकता प्रक्रियामा असन्तुष्ट रहेको अर्थ लगाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया