अस्पताल बनाउन ३ करोडको जग्गा दान !

५ बर्ष अगाडि

भरतपुर महानगरपालिका वडा नं.३ नारायणगढ निवासी उदय कुमार पिया उमेरले ९१ वर्ष पुगी सके । तर उनी उमेर भन्दा धेरै फुर्तिला छन् । उनको एउटै मात्र इच्छा थियो समाजका केही राम्रा काम गर्ने, दिनदुखीहरुको सेवा गर्ने ।

त्यो इच्छा उनले सोमबार पुरा गरेका छन् ।चितवन र ललितपुरका ६ वटा रोटरी क्लवहरुले स्पाईनल इन्ज्योरी हस्पिटल तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने अग्रसरता देखाएपछि उनले एक्लै तीन करोड रुपैयाँ दान दिने घोषणा गरे । जसका कारण केन्द्रको सोमबार शिलन्यास समेत भयो ।

उनै पियाले केन्द्रको भरतपुर–३ स्थित नगरवनमा भरतपुर महानगरपालिकाले दिएको एक विघा जमिनमा शिलान्यास गरे । मुलदाताका रुपमा रहेका पियाले भने–“जीवनमा मेरो एउटै उद्देश्य आज पुरा भयो, सबैको कल्याणका लागि हस्पिटल बनाउने चाहना थियो ।” उनले आफ्नै व्यापारबाट आर्जन गरेको आम्दानी पैसा सहयोग गरेको बताए । “मैले सकेको सहयोग गरेको छ, अरु सक्नेले पनि सहयोग गर्दा राम्रो, मरेर लाने केही पनि होइन्”–पियाले भने ।तीन करोड सहयोग प्रति पिया परिवार खुशी छन् । उनका जेठा छोरा मदन कुमार पिया पेशाले छाती र क्यान्सर विशेषज्ञ चिकित्सक हुन् ।

उनले सामाजिक कार्यका लागि बुबाले चालेको कदम प्रशंशनीय रहेको बताए । स्पाईनल इन्ज्युरीका बिरामीलाई हिडडुल गर्न निकै कठिन हुने भएकाले यो केन्द्र स्थापना गर्नु पूण्र्य काम भएको पियाले बताए ।तीन करोड दान दिएपछि मुलदाताकै नामबाट केन्द्रको नामाकरण गरिएको छ । जसको नाम ‘श्री उदय कुमार चमेली देवी पिया चितवन स्पाईनल इन्ज्योरी हस्पिटल तथा पुर्नस्थापना केन्द्र’ राखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया