नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सका ६ लाख लगानीकर्ताले सेयर नपाउने,यस्तो छ कारण

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन गर्ने ६ लाख लगानीकर्ताको हात खाली हुने भएको छ ।

नेपाल एग्रो लघुवित्तको आइपीओमा देशभरबाट ३ लाख २० हजार ८०४ आवेदकले ६५ लाख ४२ हजार ४४० कित्ताका लागि र गणपति माइक्रोफाइनान्समा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् ।  

यसका कारण  गणपति माइक्रोफाइनान्सको आइपीओमा मागेभन्दा २१.५५ गुणा बढी आवेदन परेको छ । यसरी हेर्दा यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिनेमध्ये २ लाख ९७ हजार भन्दा बढी रित्तो हात हुनेछन् ।

यो कम्पनीको सेयर १० कित्ताको दरले कुल ३१ हजार ३०७ जनाले मात्र पाउनेछन् । वैशाख ९ गते देखि सो कम्पनीले निश्कासन गरेको आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म आवेदन दिने समय थियो । यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

कुल निश्कासन हुने कित्तामध्ये ५ हजार १७५ कम्पनीका कर्मचारीका लागि, १६ हजार ७५० म्युचुअल फण्डहरुका लागि र बाँकी रहने ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको थियो ।

नेपाल एग्रो लघुवित्तको आइपीओमा ३ लाख २० हजार ८०४ जनाले ६५ लाख ४२ हजार ४४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । यो भनेको मागको तुलनामा ४३.२७ गुणा बढी आवेदन हो ।

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये १५ हजार १२० जनाले १० कित्ताको दरले सेयर पाउनेछन् । बाँकी ३ लाख ५ हजार ६०० भन्दा बढी आवेदकको हात रित्तो हुनेछ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको थियो । कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया