विद्युत प्राधिकरणमा फेरी पनि चुरोटका बट्टाहरुको ज्यादती, को-को पर्ने भए कारवाहीमा ?

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणमा विगतमा चुरोटको बट्टामा आवेदन दिएर जागिर खाएकाहरु यतिखेर अराजकता मच्चाउन लागिपरेका छन् । 

विशेष गरी कर्मचारी कम , नेपाली काँग्रेसको राजनीति बढी गर्दै आएका केही स्वार्थी  झुण्डले प्राधिकरणलाई असफल बनाउन लागिपरेको छ । विशेष गरी प्राधिकरणलाई विगतमा लुटपाटको अड्डा बनाएको भनेर चर्को आलोचनामा परेका मुकेशराज काफ्लेको योजनामा नै प्राधिकरणको नेतृत्वलाई असफल बनाउने खेल सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरणमा यही  बैशाख १९ गते हुने आधिकारिक टे«ड यूनियनको निर्वाचनका कार्यक्रम अघि बढ्दै गर्दा विगतमा लोडसेडिङ गरेर खान पल्केका र प्राधिकरणले  प्रगति गरेको देख्न नसक्ने तत्वहरु सल्बलाउन थालेका छन् ।  यहि क्रममा केहि समयअघि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले एउटा टेलिलभिजनलाई अन्तर्वार्ता दिदै प्राधिकरण नाफामै नगएको बताएका थिए जबकी भर्खरै महालेखा परिक्षकको कार्यालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा विद्युत प्राधिकरणले  यो वर्ष मात्रै २ अर्ब ८४ कराड  नाफा गरेको र संस्थाको आर्थिक स्थितिमाउल्लेख्य सुधार आएको उल्लेख गरेको छ ।

आधिकारिक युनियनको निर्वाचन कार्यक्रम अन्तर्गत यहि चैत्र २९ गते सुरु मतदाताको नामावली प्रकाशन गर्ने क्रममा केहि कार्यलयहरुमा तनावको स्थिति पैदा गरिएको छ । त्यसमा आफूलाई काँग्रेसको ठूलै नेता भए जसरी प्रस्तुत हुने जनार्दन भट्टराईको विशेष हात रहेको छ । प्राधिकरणको हित विपरित बोलेको भन्दै उनलाई प्राधिकरणको व्यवस्थापन पक्षले स्पटिकरण लिएको थियो । स्पष्टिकरण पत्र बुझ्न अस्वीकार गरेपनि उनलाई सार्वजनिक सूचना नै दिएर स्पटिकरण माग गर्न लागिएको बताइन्छ । कर्मचारी संघले  आफैले सहमति गरेर घोषणा  गरेको मितिमा चुनाव हुन नदिने भन्दै केन्द्रीय कार्यालयको निर्वाचन अधिकृतको कार्यालयमा लागेको ताला ब्यबस्थापनले एक घण्टा पनि नबित्दै खोलेर सबै कार्य सुचारु गरेको थियो । अन्य केहि कार्यालयमा पनि तालाबन्दी गर्ने मतदाता नामावली च्यात्ने कार्य गरिएको जानकारी पाएपछि कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्ता गतिविधिमा संलग्न सबैलाई कडा कारबाही गरिने बताएका छन् ।

प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार विराटनगर क्षेत्र अन्तर्गत अनारमनी वितरण केन्द्र, बेलबारी वितरण केन्द्र, रंगेली वितरण केन्द्र र विराटनगर वितरण केन्द्रमा कर्मचारी संघका विराटनगर क्षेत्रिय अध्यक्ष सुपरभाइजर उद्धव भुजेल साथै दमक वितरण केन्द्रमा कार्यरत  सुपरभाइजर  ज्योति प्रसाईं र बेलबारी वितरण केन्द्रका  भिम गनगाईको फोनमार्फत निर्देशन र भौतिक उपस्थितिमा ताला लगाउने र नामावली च्यात्ने काम भएको छ । संघका क्षेत्रिय अध्यक्ष भुजेल केन्द्र प्रमुखहरुलाई प्रभावमा पारि ठेक्का पट्टा गर्ने गतिविधिमा समेत संलग्न छन् । 
 
त्यस्तै जनकपुर क्षेत्रिय कार्यालय अन्तर्गत जनकपुर वितरण केन्द्रमा लेखापाल उमेश साह, सुपरभाइजर जगदीश साह उक्त गतिविधिमा संलग्न रहेका थिए । यी २ जना कर्मचारी तिनै हुन् जसलाई केहि समय पहिला कार्यलयमा अराजक गतिविधि गरेको भन्दै ब्यबस्थापन ले कारबाही गरेको थियो ।कर्मचारी संघले यी फटाहा कर्मचारीको सरुवा फिर्ता नभएसम्म चुनावमा नजाने अडान राखेपछि व्यवस्थापनले यिनीहरुको काज सरुवा गरेको थियो । पटक पटक अराजक गतिविधिमा संलग्न भएकोले यी कर्मचारीहरुको जागिर समेत जानसक्ने श्रोतले बतायो । स्मरण रहोस कर्मचारी संघका कोषाध्यक्ष मनिज श्रेष्ठ मिटर उल्टो घुमाई प्राधिकरणलाई करोडौ घाटा पुर्याएको कारण जेल परेका थिए ।
 
त्यस्तै पोखरा क्षेत्र अन्तर्गत लेखनाथ वितरण केन्द्रमा सिमिरी नारायण प्रसाद रिजालले र स्यांजा वितरण केन्द्रमा लेखापाल केशव नेउपानेले नामावली च्यातेको फोटो पनि खिचिएको पाईएको छ । नेपालगंज क्षेत्रिय कार्यालय अन्तर्गत नेपालगंज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रमा फोरमेन दुर्गा जैसी, इलेक्ट्रिसियन भाइराजा श्रीवास्तव, फोमे ड्राइभर राजेन्द्र थापाले नामावली च्यातेका थिए । वुटवल क्षेत्रिय कार्यालयमा कार्यालय समयपछि नयाँमिल वितरण केन्द्रमा कार्यरत लेखापाल लक्ष्मी क्षेत्रि, क्षेत्रिय कार्यालमा कार्यरत बरिस्ठ सहायक विनु पाण्डे र प्रणाली सुद्दिढिकरण का सहायक इन्जिनियर रोहिन्द्र भण्डारी ले तालाबन्दि गरेका थिए । यस क्षेत्र अन्तर्गत तौलिहवा वितरण केन्द्रमा हेल्पर यज्ञ मुर्ति न्यौपाने परासी वितरण केन्द्रमा सुपरभाइजर रोशन मिश्राले मतदाता नामावली च्यातेका थिए ।

राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले कर्मचारीहरुले आफ्नो अभिमत प्रकट गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने कुनैपनि गतिविधि आफ्नो युनियनलाई स्वीकार्य नभएको बताउदै चुनाव विरोधी सबैखाले गतिविधिको विरूद्धमा आफु खडा हुने बताउनुभयो । साथै प्राधिकरणमा अराजकता फैलाउने जो कोहीलाई पनि कारबाही गर्न ब्यबस्थापनलाई आग्रह गरिसकेको बताए । संयोजक पौडेलले विद्युत  प्राधिकरण उज्यालो नेपाल बनाउदैं समृद्दीको यात्रामा अघि बढिसकेकोले अब अध्यारो बेचेर खान पल्केकाहरुले उठाउन खोजेको टाउको विद्युत प्राधिकरणका १० हजार कर्मचारी, ४० लाख ग्राहक र नेपाली जनताले कुल्चेर धुलोमा मिलाईदिने बताउदै आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएको मितिमा सम्पन्न हुने कुरामा कुनै दुविधा नरहेको बताए । युनियनका केन्द्रीय कार्यालय सदस्य एवं आन्तरिक ब्यबस्थापन तथा सुशासन विभाग प्रमुख झुलिराम थापाका अनुसार तालाबन्दी गर्ने नामावली च्यात्ने  गतिविधिमा संलग्नहरुलाई कारबाहीको लागि संलग्नहरुको  नाम, फोटो, भिडियो संकलन गर्ने काम भईरहेको छ । उनका अनुसार मतदान अधिकृत तोकिएका केहि कार्यालय प्रमुखहरुले समेत नामावली प्रकाशनमा असहयोग गरेको जानकारी आएकोले यदि त्यस्तो गरेको पाइएमा ति कार्यालय प्रमुखहरुलाई समेत कारबाही गर्न ब्यबस्थापनको ध्यानाकर्षण गराईसकिएको छ ।  

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र कुनै पनि खालका अराजक गतिविधि आफुलाई स्वीकार्य नहुने बताउदै यस्ता गतिविधिमा संलग्न हरुको विवरण संकलन गरिरहेको र संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन् ।  साथै तोकिएको मितिमा निर्वाचन गराईछाड्ने र नेता बनेर काम नगरी खाने कर्मचारीहरुलाई जलेश्वर, दार्चुला, रुकुम, रोल्पा जस्ता चुहावट हुने र कर्मचारी अभाव रहेका कार्यालमा खटाउने तयारीमा रहेको तथ्य सार्वजनिक भएको छ ।

स्मरण रहोस विद्यमान श्रम ऐनले समते विद्युत सेवा दिने जस्ता अत्यावश्यक सेवा दिने कार्यालयमा हड्ताल तालाबन्दी गर्न नपाउने कानुनी व्यवस्था गरेको छ साथै हड्ताल गर्नैपर्ने भएमा पनि ३० दिन अगाबै जानकारी दिनुपर्ने उल्लेख छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार विद्युत प्राधिकरणमा हड्ताल गर्ने, तालाबन्दी गर्ने जस्ता अराजक गतिविधिमा  संलग्न कर्मचारीको उजुरी परेमा तत्काल हिरासतमा लिई कारबाही गर्न सुरक्षा निकायलाई  निर्देशन दिईसकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया