दीगो विकासको अवधारणालाई बजेटले आत्मसाथ गर्छ : अर्थमन्त्री खतिवडा

४ बर्ष अगाडि

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकासको अवधारणालाई बजेटले आत्मसाथ गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायीक वितरणलाई नै बजेटले आत्मसाथ गर्ने बताएका हुन् । उनले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसाथ गर्ने स्पष्ट पारे ।

खासवर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तीय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो नहुने उनले दाबी गरे । आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुने उल्लेख गर्दै उनले आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संररक्षण र सुरक्षा जस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने स्पष्ट पारे ।

सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध भित्र रहेर बजेटको मोडल तयार गर्नुपर्ने बताए । संविधान र राज्यको निर्देशक सिद्धान्त अनुसार नै बजेटको मोडल तयार गरिने भन्दै उनले त्यो मोडलले मुलुकको सम्मृद्धिलाई समाजवाद तर्फको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरे । आर्थिक वृद्धि विनाको वितरण गरिवीको मात्रै वितरण हुने, आर्थिक वृद्धि न्यायोचित नभए दीगो नहुने र अन्तत त्यसले बढाउने असमानताले द्धन्द्ध निम्त्याउने उनको तर्क थियो । 

उनले वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा आवश्यक कानुनहरु बनेकाले यसले विस्तारै पूर्णता पाउने बताए । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुने तथा आयोजना कार्यान्वयनका सम्बन्धमा निश्चित मापदण्ड बनाएर अघि बढ्ने भएकाले दुविधा नहुने स्पष्ट पारे । उनले साधन, स्रोत, जनसंख्या र भुगोल तथा मानवविकास सूचकांक लगायतलाई आधार बनाउँदै सन्तुलित बजेट आउने विश्वास दिलाए ।

४ बर्ष अगाडि

प्रतिक्रिया