पहिरो रोक्ने काम वर्षात अगाडि नहुने

४ बर्ष अगाडि

चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भासिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । 

    नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकका सात ठाउँ पहिरोका दृष्टिले उच्च जोखिममा रहेका छन् । उहाँका अनुसार भालुढुङ्गा र चार किलोमा गत वर्ष काम गर्न सकिएको थिएन । गएकै वर्षातमा थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएको थियो । 

    ती ठाउँ गाईघाट, घुमाउने, चारकिलो नजिक टोपे खोला र कालीखोलामा पहिरो रोक्नुपर्ने अवस्था छ । ती ठाउँमा गतवर्ष अन्य ठाउँमा गरिएका ‘रक नेटिङ्’ , ‘रक बोल्टिङ्’ , बायो इञ्जिनीयरिङ्सँगै नयाँ प्रविधि ‘रवर सिल’ गर्ने तयारी गरिएको छ ।

    यस्तै सोही सडक खण्डको १७ किलो र २६ किलोमा गतवर्ष काम गर्दागर्दै सडक भासिएको थियो भने २४ किलोमा नदी छेउमा राखिएको ब्लक बगाएको थियो । खनालका अनुसार १७ किलोमा ४० मिटर लामो र ६ मिटर चौडाइ सडक तीन दशमलब ५ मिटर धसिएको छ । त्यस्तै २६ किलोमा ७० मिटर लामो र ७ मिटर चौडाइ सडक ४० सेन्टिमिटर भासिएको छ । साथै २४ किलोमा त्रिशूली तर्फ राखिएका ब्लकमध्ये ३५÷३६ वटा बगाएका छन् ।

    सो सकडको पहिरो रोक्ने कामको बोलपत्र आव्ह्वान भइसकेको छ भने भासिएको ठाउँ बनाउनका लागि विस्तृत अध्ययनको काम भइरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया