बजेट समाजवाद उन्मुख हुन्छ : नेता श्रेष्ठ

४ बर्ष अगाडि

गोरखा। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने “गएको एक वर्षलाई समृद्धिको आधारवर्षमा रुपमा लिएका थियौं त्यो सफल भयो । अव आउने बजेट समाजवाद उन्मुख समृद्धि तिर अघि बढ्छ , चुनावी घोषणापत्र अनुसार जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता वृद्धि हुन्छ । ”

    जिल्ला कमिटिका एकीकृत सदस्यहरुको औपचारिक सपथ ग्रहण गर्ने कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्के लगतै बजेटका विषयमा वृहत छलफल हुने बताए । बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्याय सहितको हुने उनले बताए । 

     नेकपा सरकारले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउन खोजेको हो भन्ने प्रश्नमा विद्ययेक पेश गर्दैमा त्यो कानुन नहुने बताउँदै, जे विद्ययेकमा छ त्यही पारीत नहुने उनले बताए । सरकार र नेकपा सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई छ । 

    बुढीगण्डकी परियोजनाको क्षमता किन घटाउन खोजेको भन्ने प्रश्नमा प्रस्तावित योजना अनुसार नै सरकार अगाडि बढीरहेको उनले बताए । मुअब्जा वितरण कार्य तदारुकता साथ अगाडि बढाउनुपर्ने उनको भनाई छ । 
    
    नेकपा जिल्ला पार्टी कमिटी सदस्यहरु सपथ ग्रहण तथा पूर्ण बैठक कार्यक्रममा नेकपा गण्डकी प्रदेशका  सहइञ्चार्ज खगराज अधिकारी, नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा साँसद हरीराज अधिकारी, केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्य, कृष्ण धिताल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका मन्त्री रामशरण बस्नेत लगायतले सम्बोधन गरेका थिए । 
    
    नेकपाका जिल्ला अध्यक्ष लेख बहादुर थापा मगरको अध्यक्षता र सचिव प्रेम गुरुङको सञ्चालनमा भएको कार्यक्रममा  विभिन्न प्रस्तावहरुमा माथि छलफल गरी निर्णय गरेको छ । जसमा जिल्ला कमिटि सदस्यहरु आ आफ्नो गाँउपालिका केन्द्रीत भई काम गर्ने, वडा कमिटी निर्माण गर्ने, पार्टी सदस्य अद्यावधिक गर्ने, स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको  तहगत योजना निर्माण गरी प्रस्ताव पठाउने  रहेका छन् । 

    त्यसैगरी विशेष प्रस्तावमा बुढी गण्डकी हाइड्रोपावरको जग्गाको बाँकी मुअब्जा सहित अविलम्ब निर्माण गर्न नेपाल सरकारसँग आग्रह गर्ने, जिल्ला स्थित रुइला भञ्ज्याङ (सामागाउँ) ङेडला भञ्ज्याङ ( छेकम्पार) चीनसम्मको दुई नाका खोल्न नेपाल सरकारमा अनुरोध गर्ने , गोरखा जिल्ला ऐतिहासिक, सामाजिक,सांस्कृतिक, धार्मिक,प्राकृतिक रुपमा महत्वपूर्ण रहेकोले  पर्यटन जिल्लाको रुपमा विकास गर्न प्रदेश सरकार र नेपाल सरकारमा अनुरोध गर्ने, र  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  जिल्ला संगठन समिति गठन गर्नु भएकोमा प्रदेश कमिटी र केन्द्रीय समिति पार्टी प्रति हार्दिक धन्यवाद ज्ञापन  गर्ने निर्णय भएको नेकपा गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए । 
    
    
    

४ बर्ष अगाडि

प्रतिक्रिया