बीमा कम्पनीलाई अर्थमन्त्रीको निर्देशन: दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु

४ बर्ष अगाडि

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको बताएका छन् । 

बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा.खतिवडाले यस्तो धारण व्यक्त गरेका हुन् । 

पछिल्लो समय बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन नसकेको जिकिर गर्दै डा. खतिवडाले अब कम्पनीहरुले दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु पर्ने बताए । ‘आजभोलि बैंक तथा वित्तीय संस्थानहरु जस्तै बीमा कम्पनीहरुको दायरा समेत फराकिलो हुँदै गएको छ ।

अब बीमा कम्पनीको नियामक निकाय बीमा समिति सक्रिय हुनुपर्छ’ उनले भने, ‘बजारमा व्यापक अस्वस्थ प्रतिस्पर्धा छ । कमाउनकै लागि बिमा कम्पनीहरु आफ्नो सीमा नाघेर काम गरिरहेका छन् । चाहिने भन्दा बढी स्किमहरु विज्ञापन गरिरहेका छन् । यसले सेवाग्राही प्रताडित छन् ।’ 

उनले आफूलाई केके र कुनकुन खालको जोखिमको सुरक्षण चाहिएको अब बिमित पनि स्पष्ट हुनुपर्ने खतिवडाले बताए । अन्यथा जोखिम सुरक्षणका लागि बीमा गरिएपनि उल्टै असुरक्षित बन्ने खतरा बढ्नसक्ने तर्फ उनले सचेत गराए । खुल्ला बजार र खुल्ला अर्थतन्त्रकै कारण नीजि कम्पनीहरुले सहजै लाईसेन्स पाएको तर कारोबार भने प्रभावकारी रुपमा गर्न नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ । 

‘बीमा कम्पनीमा न्यूनतम चुक्तापुँजी सिलिङ्गको व्यवस्था गर्दा कम्पनी र सेवाग्राही दुबै सुरक्षित हुन्छन् । यसले कम्पनीमा पुँजी अभाव हुन दिँदैन भने सेवा ग्राहीको बीमा दाबी समेत समयमानै सम्वोधन हुन्छ’, उनले भने, ‘अब चुक्तापुँजी नपुगेका कम्पनीहरुले पुँजी विस्तारमा लाग्नुपर्छ । त्यसका लागि मर्जरको प्रक्रिया समेत खुल्ला रहेको छ ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया