८० वर्षपछि लण्डन र न्युयोर्क जस्ता सहर डुब्ने, नेपालमा कस्तो असर पर्ला ?

४ बर्ष अगाडि

काठमाडौं – विश्वव्यापी तापमान वृद्धिले आगामी केही दशकभित्रमा नै संसारमा भयावह अवस्था सिर्जना हुने विज्ञहरुले बताउँदै आएका छन् ।  तापमान वृद्धिका कारण मरुभूमीकरण, अतिवृष्टि, अनावृष्टि र खडेरी जस्ता समस्याबाट मानव तथा प्राणी जगतको अस्तित्व नै जोखिममा पर्ने उनीहरुको निष्कर्ष छ । त्यस्तै, तापमान वृद्धिकै कारण समुन्द्रको सतह अनुमान गरेभन्दा दोब्बरले  बढ्ने हालैको नयाँ अध्ययनले देखाउँछ ।

ग्रिनल्याण्ड र अन्टार्कटिकामा रहेको हिउँ तीव्ररुपमा पग्लिरहेकाले समुन्द्रको सतह २ मिटरसम्म बढ्ने नयाँ अनुसन्धानले देखाउँछ । प्रोसिडिङ अफ द नेशनल एकेडेमी अफ साइन्सेज नामक जर्नलमा प्रकाशित गरिएको एक अध्ययनमा यस्तो अनुमान गरिएको हो । यसअघिका अध्ययनमा सन् २१०० सम्म समुन्द्रको सतह करिब १ मिटरले बढ्ने अनुमान गरिएको थियो । तर हालै गरिएको उक्त अध्ययन अनुसार समुन्द्रको सतह झण्डै २ मिटरले बढ्ने देखिन्छ । यसबाट तटीय क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसहरु विस्थापित हुने भनेर वैज्ञानिकले चेतावनी समेत दिँदै आएका छन् । साथै अन्टार्कटिका र ग्रिनल्याण्डमा पर्यावरणीय असन्तुलन सिर्जना भई पेन्गुइन जस्ता जीवहरु लोप हुन सक्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ ।

नयाँ अध्ययनले के भन्छ ?

यसअघिका अध्ययनमा सन् २१०० सम्म पृथ्वीको तापक्रम २ सेल्सियसले वृद्धि भई समुन्द्रको सतह करिब १ मिटरले माथि आउने अनुमान गरिएको थियो । तर हालैको नयाँ अध्ययन अनुसार विश्वव्यापी तापमान ५ सेल्सियससम्म बढ्न गई पृथ्वीमा रहेको हिउँ पग्लने दरमा व्यापक वृद्धि हुने छ । फलस्वरुप, समुन्द्रको सतह २ मिटर माथि आउने अनुसन्धानकर्ता बताउँछन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले सन् २०१३ मा प्रकाशित गरेको प्रतिवेदनमा समेत समुन्द्रको सतह बढ्ने विषयलाई गम्भीरताका साथ उठाइएको थियो । यदि कार्वन उत्सर्जनको वर्तमान दरलाई नियन्त्रण नगर्ने हो भने सन् २१०० सम्ममा समुन्द्रको सतह १ मिटरसम्म बढ्ने उक्त प्रतिवेदनको निष्कर्ष थियो । तर  विश्व तापमान वृद्धिका कारण समुन्द्रको सतह २ मिटरसम्म बढ्ने  नयाँ अध्ययनको निष्कर्ष छ । ग्रिनल्याण्ड, अन्टार्कटिका लगायत पृथ्वीको अन्य क्षेत्रमा रहेको हिउँ पग्लने दरमा वृद्धि भइरहेकाले यस्तो  अवस्था आउन सक्ने अनुसन्धानकर्ता बताउँछन् । अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक जोनाथन ब्याम्बर भन्छन्( ‘सन् २१०० सम्ममा हिउँ पग्लेर समुन्द्रको सतह ७ देखि १७८ सेन्टिमिटर सम्म बढ्न सक्छ तर हिउँ नदी र हिमश्रृंखलामा रहेको हिउँलाई समेत जोड्ने हो भने यो दर २ मिटर सम्म पुग्न सक्छ ।’

कार्वन उत्सर्जनको हालको मात्रालाई नियन्त्रण नगर्ने हो भने पृथ्वीको तापक्रम बढेर अन्टार्कटिका जस्ता क्षेत्रमा रहेको हिउँ पग्लेर समुन्द्रको सतह बढ्ने अनुसन्धानकर्ताले बताएका छन् । पृथ्वीको तापक्रम ५ प्रतिशतले बढी यस्तो अवस्था सिर्जना हुने उनीहरुको भनाइ रहेको छ ।

समुन्द्र सतह बढ्दा मानवलाई कस्तो असर पर्ला ?

सन् २१०० सम्ममा समुन्द्रको सतह २ मिटर बढेमा पृथ्वीमा विभिन्न खालका समस्या देखा पर्न सक्ने अनुसन्धानकर्ताको ठहर छ । यस्तो अवस्थामा करिब १८ लाख वर्ग किलोमिटर जमिन समुन्द्रमुनि डुब्ने अनुमान उनीहरुले गरेका छन् । अनुमान गरे अनुसार समुन्द्रको सहत बढेमा एसिया, अफ्रिका, अमेरिका र युरोपमा रहेका उर्वरभूमि समेत गुमाउनु पर्नेछ भने बंगलादेश जस्ता तटीय क्षेत्रमा बस्ने मानिसहरु बढी जोखिममा रहने छन् । त्यस्तै लण्डन, न्युयोर्क र शांघाइ जस्ता शहरहरु समेत डुबानको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

विश्वव्यापी तापमानका कारण नेपालमा समेत जोखिम बढ्दै
समुन्द्रको सतह बढ्दा यसबाट उत्पन्न हुने अवस्थाबाट नेपाल जत्ता भूपरिवेष्ठित मुलुकहरु केही हदसम्म सुरक्षित हुन सक्छन् । तर  हिमालय क्षेत्रमा रहेका सुन्दर चुचुराहरुको हिउँ पग्लेर प्राकृतिक सुन्दरतामा ह्रास आउने संभावनालाई भने नकार्न सकिँदैन । । त्यस्तै, वर्षायाममा पानीसँगै हिउँ पग्लने दरमा तीव्र वृद्धि हुन गई बाढी र पहिरोबाट ठूलो जनधनको क्षति हुन सक्ने भनेर चिन्ता व्यक्त भइरहेको छ ।

तर आगामी केही दशकभित्रमा कार्वन उत्सर्जनको दरमा कटौती गर्न सक्ने हो भने यस्तो विकराल अवस्थालाई टार्न सकिने प्राध्यापक ब्याम्बरको दाबी छ । (बीबीसीको सहयोगमा तयार पारिएको)

४ बर्ष अगाडि

प्रतिक्रिया