नेकपामा बादलको 'बदलाव'

४ बर्ष अगाडि

काठमाडौं – नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भूमिका पार्टीभित्र कुन लाइनमा छ भनेर कसैले भन्न सक्दैनन् । बादल अहिले अध्यक्ष प्रचण्डको लाइनमा छन् कि प्रधानमन्त्री केपी ओलीको लाइनमा छन् भन्ने प्रष्ट हुन सकेको छैन । अर्थात् आफ्नै गुट पनि राम्रोसंग चलाउन नसकेका बादल विस्तारै ओली लाइनमा देखिन थालेको चर्चा प्रचण्ड समूहमा हुन थालेको छ । 

माओवादीले पाएका ६ वटा जनसंवर्गीय संगठनको नेतृत्वमा वादल समूहले महिला र सञ्चारका दुईवटा महत्वपूर्ण संगठनको संयोजक पाएको छ । त्यसले गर्दा पार्टीभित्र बलियो समूहकै रुपमा देखिएको वादल समूहले प्रचण्डलाई छोडेर अध्यक्ष केपी ओलीतिर नजिक भएपछि प्रचण्ड अहिले तनाबमा परेका छन् । हुन त, वादलले प्रचण्डले भनेको नमानेका भने छैनन् । दुबै अध्यक्षको ‘एसम्यान’ भएका वादल मन्त्री पद जोगाउनका लागि पनि अध्यक्ष ओलीतिर लागेको चर्चा नेकपामा देखिन्छ ।

कथंम्कदाचित दुई अध्यक्षवीच फाटो आउदा बादलले ओलीलाई समर्थन गर्न सक्ने आंकलन पूर्वमाओवादीहरूले गरेका छन् । नेपाल नागरिकता ऐन २०६३ को संशोधनमा बादलले लिएको पक्षधरताले उनी चर्को  विवादमा परेका थिए । प्रधानमन्त्री ओलीले साथ नदिएको भए बादलको मन्त्री पद सुरक्षित नहुने अवस्था रहेको थियो ।

अहिले प्रचण्डभन्दा ओलीसंग बढी सरसल्लाह लिन थालेका बादलले प्रचण्डलाई साथ नदिने बुझेर नै प्रचण्डले खुमलटारमा पनि यसबारे केही आशंका आफुनिकटका नेताहरूबीच गरेका छन् । त्यही कारण कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मालाई खुमलटारमै बोलाएर प्रचण्डले आपसी झगडा टुंग्याउन दबाब दिएको स्रोत बताउछ ।

त्यो दबाब दिनुमा बादल समूहको द्वैधधारले काम गरेको नेकपा नेताहरू टिप्पणी गर्छन् । यता, प्रचण्डले महिला संघको अध्यक्षमा उर्मिला अर्याललाई बनाउन खोजेका थिए । त्यसमा केपी ओली सहमत भइसकेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीका आपत्तिका कारण अर्यालले महिला संघको नेतृत्व पाउन नसकेको स्रोत बताउछ । भण्डारी र अर्यालको राजनीतिक दुश्मनी भएकै एक दशकभन्दा भन्दा धेरै भइसक्यो । पोखरामा महिला संघको महाधिवेशनमा उनीहरूबीच उत्पन्न विवादले चरमरुप लिएको थियो ।

महिला संघको अध्यक्ष बनाउन नसकेपछि अर्याललाई महिला आयोगको अध्यक्ष बनाउने प्रयासमा प्रचण्ड रहेका छन् । तर, त्यसबारेमा भने अहिलेसम्म टुंगो लागेको छैन । अर्याललाई त्यति पनि गर्न नसकेमा कुनै देशको राजदूत बनाएर पठाउने पक्षमा पनि प्रचण्ड छन् । तर, ओलीले अहिलेसम्म मुख खोलेका छैनन् । साँघु साप्ताहिक ।

४ बर्ष अगाडि

प्रतिक्रिया