मृत्युको भय...

४ बर्ष अगाडि

एकपटक सहरमा एक प्रसिद्ध ज्योतिषको आगमन भयो । उनी देशकै नाम चलेका विद्वान् ज्योतिष थिए । उनको जिब्रोमा सरस्वती विराजमान भएको विश्वास गरिन्थ्यो । उनले जीवनमा जेजति भविष्यवाणी गरेका थिए, ती सबै सत्य साबित भएका थिए । सहरमा उनको आगमन भएपछि उनलाई बस्नका लागि एक सरकारी आवास उपलब्ध गराइएको थियो । उनलाई आफ्ना हात, चिना वा टिपन देखाएर आफ्नो भविष्य जान्न चाहनेको भिड बाक्लो थियो । उनी पालैपालो उपस्थित मानिसको भविष्य बताउँदै थिए । 

उनको चर्चा सुनेर बजारका एक धनाढ्य व्यापारी पनि आफ्नो भविष्य जान्न उनीकहाँ पुगे । आफ्नो पालो आएपछि उनले राम्रै भेटी अर्पण गरेर आफ्नो जिज्ञासा ज्योतिषसामु राखे– ज्योतिष महाराज, मेरो मृत्यु कहिले, कहाँ र कस्तो परिस्थितिमा होला ? कृपया प्रस्ट बताइदिनुहोस् न ! 

ज्योतिषले गम्भीर हुँदै व्यापारीका हस्तरेखा हेरे । उनको अनुहार र निधार पनि राम्ररी हेरे । स्लेटमाथि केही अंक लेखे र जोडघटाउ पनि मिलाए । त्यसपछि निकै गम्भीर स्वरमा उनले भने— महाशय, तपाईंका हस्तरेखाले तपाईंको भविष्यबारे धेरै कुरा बताएका छन् । यथार्थमा तपाईंका पिताको आयु जति हुनेछ, तपाईंको पनि त्यति नै हुनेछ । जुन परिस्थितिमा जेजसरी तपाईंका पिताको मृत्यु हुनेछ, तपाईंको पनि सोही स्थानमा त्यसरी नै मृत्यु हुनेछ । 

ज्योतिषको भविष्यवाणी सुनेपछि व्यापारी गम्भीर हुँदै उठे । उनी त्यहाँबाट बिस्तारै बाहिर निस्किए । एक घन्टापछि तिनै व्यापारी वृद्धाश्रमबाट आफ्ना पितालाई साथमा लिएर घर फर्किरहेका थिए ।नयाँपत्रिकाको प्रेरक प्रसंग । 

४ बर्ष अगाडि

प्रतिक्रिया