सिक्किममा पवनको २५ वर्षे सत्ता यसरी पल्टाइदिए प्रेमसिंह तामाङले

४ बर्ष अगाडि

काठमाडौं– नेपाली मूलका मानिसहरु समेत बसोबास गर्ने सिक्किममा यस पटक नयाँ पार्टीले कब्जा गरेको छ। लगातार २५ वर्षसम्म सिक्किममा राज गर्दै आएको सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटक नराम्रो पराजय बेहोरेको छ।

पवन चाम्लिङको नेतृत्वको उक्त पार्टीले विधान सभामा पनि यस्तै हार ब्योहोरेको थियो। हाल भएको लोकसभा निर्वाचनमा पनि चाम्लिङले आफ्नो छवि बचाउन सकेनन्। 

यो निर्वाचनको परिणामसँगै पवन चाम्लिङको २५ वर्षे शासन सत्ता सिक्किममा समाप्त भएको छ। 

यसरी चाम्लिङलाई समाप्त पार्ने नेता हुन प्रेमसिंह तामाङ (पिएस गोले)। कुनै समय चाम्लिङ र गोले राजनीतिक सहयात्री थिए। तर उनीमाथि चाम्लिङले भ्रष्टाचारको आरोपमा कारबाही गराएपछि तामाङले अलग पार्टी निर्माण गरेका थिए।

सिक्किमको एक मात्र लोकसभा सिटमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ। यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्यमा विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ। 

चाम्लिङसँगको सोही रिसइवीका कारण गठन गरिएको तामाङको नयाँ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले अब शासन चलाउने छ। 

सिक्किममा विधानसभाका ३२ सिटमध्ये गोले नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको थियो। चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको थियो। सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थिए।

भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिस्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेदवार खडा गरेको थियो। 

गोले पवन चाम्लिङको पार्टी एसडीएफमा रहँदा पश्चिमी सिक्किमको चुखुंग निर्वाचन क्षेत्रबाट सन् १९९४ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनले सन् २०१३ को सेप्टेम्बरमा चाम्लिङ नेतृत्वको एसडिएफ पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका थिए।

त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नामको नयाँ पार्टी खोलेर राजनीतिमा सक्रिय भएका थिए।  सन् २०१४ को विधानसभा चुनावमा उनको पार्टीले १० सिटमात्र जितेको थियो। सन् २०१६ मा भ्रष्टाचारको मुद्दा लागेपछि उनी यस पटक उम्मेदवार हुनबाट वञ्चित भए।

४ बर्ष अगाडि

प्रतिक्रिया