बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

४ बर्ष अगाडि

बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ । जुन ७ मा पार्टीको नेताबाट राजीनामा दिएपछि त्यसको अर्को हप्ता नयाँ नेता चयनको प्रक्रिया शुरु हुनेछ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै मेले बेलायतको दोस्रो महिला प्रधानमन्त्रीको रुपमा देशको सेवा गर्न पाएकोमा गर्वान्वित महसुस गरेको  बताइन् । ब्रेक्जिटलाई निकास दिन नसकेकोमा उनले गहिरो दुःख व्यक्त गरेकी छिन् ।

सम्बोधनका क्रममा निकै भावुक देखिएकी मेले २०१६ को युरोपियन युनियनबारे जनमतसंग्रहको परिणामलाई सम्मान गर्न सक्दो प्रयास गरेको बताइन् । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताइन् । ब्रेक्जिटबारे उनको योजनाका लागि उनले आफ्नै पार्टीको संसदबाट आलोचना खेप्नु परेको थियो ।

मेपछि पूर्व विदेश सचिव बोरिस जोनसन बेलायतको अर्को प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको छ । यद्यपि, यस पदका धेरै आकांक्षी रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया