पराजयपछि कांग्रेसमा राजीनामाको श्रृंखला सुरु

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतको लोकसभा चुनावमा शर्मनाक पराजयपछि कांग्रेसमा राजीनामाको श्रृंखला सुरु भएको छ । उत्तर प्रदेश, ओडिसा र कर्नाटकका तीन वरिष्ठ नेताहरुले पार्टी प्रमुख राहुल गान्धीसमक्ष आफ्नो राजीनामा पठाएका छन् ।

उत्तर प्रदेशमा कांग्रेसलाई प्रदेशको ८० सिटमध्ये केवल रायबरेली सिटमा मात्र जित मिलेको छ । यहाँसम्म कि राहुल गान्धीले पनि अमेठीको सिट बचाउन सकेनन् । यो पराजयसँगै प्रदेश कांग्रेस अध्यक्ष राज दब्बरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राज बब्र आफैं पनि फतेपुर सिकरीबाट चुनावी मैदानमा उत्रिएका थिए । उनलाई बिजेपी उम्मेदवारले करिब ५ लाख मतले हराए । बब्बरले ट्वीट गर्दै प्रदेशमा भएको यो पराजयको जिम्मा लिँदै राजीनामा दिएको छु भनेर लेखेका छन् ।

कांग्रेसले एचके पाटिललाई कर्नाटकमा चुनावी अभियानको जिम्मेवारी दिएको थियो । तर, यहाँ पनि कांग्रेस नराम्रोसँग पराजित भयो । यो पराजयसँगै पाटिलले पनि आफ्नो राजीनामा बुझाएका छन् ।

त्यसैगरी, ओडिसा कांग्रेस प्रमुख निरञ्जन पटनायकले पनि राजीनामा दिएका छन् । ओडिशामा कांग्रेसलाई विधानसभामा ९ र लोकसभामा एक सिटमा विजय मिलेको छ । पटनायकले आफूलाई पनि दुई विधानसभा सिटमा उम्मेदवारको रुपमा उभ्याएका थिए । उनी पनि दुवै स्थानबाट पराजित भए ।

कांग्रेसले पार्टीमा महत्वपूर्ण निर्णय लिन सक्ने हैसियत राख्ने कांग्रेस कार्य समितिको आज बैठक बोलाएको छ । यो बैठकमा चुनावी नतिजाको समीक्षा गरिने बताइएको छ ।

कांग्रेस स्रोतले पराजयपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिनसक्ने सम्भावनालाई नकारेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया