बजेट जनपक्षीय बनाऊ

४ बर्ष अगाडि

सम्पादकीय : काठमाडौँ – संघीय सरकारले यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्न गैरहेको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रम संसदबाट पारित भैसकेको छ ।

विपक्षी दलहरुले गरेको आलोचना तथा सत्तारुढ दलहरुका सांसदहरुबाट आएका रचनात्मक सुझावहरु समेत समेटेर नीति तथा कार्यक्रम पास भएको छ । त्यसैमा आधारित भएर नै बजेट आउने हो । त्यसैले कस्तो बजेट आउला भनेर एक खालको तस्बीर त आइसकेको छ । तापनि ठोस रुपमा सरकारले प्राथमिकताका क्षेत्रहरु क्सरी निर्धारण गर्दछ भन्ने आम चासो भने यथावत छ ।

नेकपाले नेतृत्व गरेको दुई तिहाइृको सरकारले ल्याउने बजेटको चरित्र पनि वाम झुकावको हुनु पर्ने र समाजवाद उन्मुख हुनुपर्ने नागरिक अपेक्षा रहेको छ ।

परम्परागत ढाँचाको बजेटले हाम्रो अर्थतन्त्रलाई नयाँपन र गति दिन सक्तैन । बजेटले अवश्य पनि समाजको कमजोर बर्गलाई राहत दिन सक्नु् पर्दछ । हाम्रो अर्थतन्त्र जहिले पनि परीक्षणमै चलिरहेको छ । विकसित पूँजिवादी मुलुकहरुको अभ्यासलाई पछ्याएर मात्र अविकसित देशहरुले विकासको मार्ग पहिल्याउन सक्तैनन् । आफ्नो मौलिकता अनुसारको आर्थिक योजनाहरु ल्याउन आवश्यक हुन्छ । 

नेकपाले नेतृत्व गरेको सरकार भएकोले पनि मानिसहरु नयाँ बजेटमा जनपक्षीय कार्यक्रमहरु आउने कुरामा आशावादी देखिन्छन् । विगतमा मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने सरकार मुलुकै पहिलो कम्युनिष्ट सरकार थियो । छोटो अवधी भए पनि त्यो सरकारले जनतामा अमिट छाप छोड्ने बजेट ल्याएको थियो । जसले जनतामा ठूलो उमंग र उत्साह पैदा गरेको थियो । आफ्नो गाउँ आफै बनाऊ , वृद्ध भत्ताको सुरुवात जस्ता कार्यक्रमहरुले अहिले पनि त्यो सरकारको लोकप्रियतालाई स्मरण गराइरहेका छन् ।

निश्चय पनि अहिले समय र परिस्थिति बदलिएको छ । राजनीतिक व्यवस्था बदलिएको छ । आज पनि त्यस्तै कार्यक्रम आउनु पर्दछ भन्ने होइन । तर जनताका आवश्यकताहरुलाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउने स्थिति अहिले पनि प्रशस्त छ । जनतामा निराशा छाएको छ । नेता÷कार्यकर्ताहरु जन कार्यमा भन्दा सत्ताको वरिपरि झुम्मिन थालेका छन् । आम जनताको जीवनस्तर गिर्दो छ । बिचौलिया र कालाबजारी तथा तस्करहरु मोटाउन थालेका छन् ।

जनता आर्थिक रुपमा निरीह छन् । यस्तो अवस्थामा सरकारले आधारभूत तहका जनताको जीवनमा प्रभाव पार्ने खालका कार्यक्रम ल्याउन सक्नु पर्दछ । ठूला र महत्वाकांक्षी परियोजना भन्दा पनि स्थानीय स्रोत साधनको परिचालन गर्दै जनताका तत्कालीन आवश्यकताहरु पुरा गर्ने किसिमको बजेट ल्याउनु पर्दछ । पार्टीको घोषणा पत्रमा उल्लेख गरिएका विषयहरु पनि समेटिन सके भने जनतामा राम्रो र सकारात्मक सन्देश प्रवाह हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया