'भिडियो लाइभ'मा फेसबुकको कडाइ, नियम उल्लंघन गरे प्रतिबन्ध

४ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष भिडियो प्रसारणमा कडा नियम ल्याएको छ ।

गत मार्चमा न्युजिल्यान्डमा भएको आतंकवादी हमलामा फेसबुकबाट प्रत्यक्ष प्रसारण भएपछि प्रत्यक्ष प्रसारण गर्न कडा नियम ल्याएको हो ।

फेसबुकको नयाँ नियमअनुसार अब गम्भीर नीतिको उल्लंघन गरेमा निश्चित समयका लागि प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाइनेछ । जसअनुसार पहिलोपटकमा एक महिनासम्म प्रतिबन्ध हुनेछ ।

फेसबुक इन्टिग्रिटी विभागका उपाध्यक्ष गाय रोसनले ब्लग लेख्दै अपराधको बढ्दो संख्या हेरेर प्रत्यक्ष प्रसारणमा नयाँ नियम ल्याइएको बताए ।

न्युजिल्यान्डको क्राइस्ट चर्चमा र दुईवटा मस्जिदमा भएको हमलाको फेसबुकबाट प्रत्यक्ष प्रसारण भएको थियो । फेसबुकले सो आक्रमणपछि २४ घण्टामा १५ लाख भिडियो नष्ट गरेको थियो भने १२ लाख भिडियोमाथि प्रतिबन्ध लगाएको थियो ।

क्राइस्ट चर्च हमलामा ५१ जनाको मृत्यु भएको थियो । हमलाको मुख्य भिडियो फेसबुकबाट हटाउनुअघि ४ हजारपटक हेरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया