जङगली जनवारको आतङ्कबाट काभ्रेका  कृषक त्रसित्

४ बर्ष अगाडि

 काभ्रेपलानचोक – काभ्रेपलानचोक जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिकै रहेका  बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित् अवस्थामा बस्नुपर्ने बाध्यता छ । तीन वर्षदेखि बँदेलले बालीमा पु¥याउँदै आएको क्षति सहँदै आएका पाँचखाल नगरपालिका–१३ कोशीदेखाका बासिन्दा अहिले बाँदरको समेत आतङ्क थपिँदा निकै आजित भइसकेका छन् । स्थानीयवासी यमलक्ष्मी थपलियाले भन्नुभयो, “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।”

यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । उनीहरु जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको दुखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि एक वर्ष भयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ”, स्थानीयले भने, “नगरप्रमुखलाई पटक–पटक भेट्दा आश्वासन मात्र पाइयो ।” नगरप्रमुख महेश खरेलले जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको बताउनुभयो ।

बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगार्इंले वन जोगाउँदै जाँदा जङ्गली जनावर पनि बढ्दा मानिसका लागि चुनौती बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उहाँका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् । सोही गाउँका रामेश्वर बजगाईंको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो, “२२ रोपनीमा हिउँद र वर्खामा दुई सिजन आलु लगाउँछु, कहिले त आलु टिप्नै पाइन्नँ ।”

स्थानीय शिक्षक तुलप्रसाद दाहालसँग भने बँदेल भगाउन बारीमा रेडियो बजाएरसमेत राख्ने गरेको अनुभव छ । उता, धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको छ । “दुम्सीले मेरो एक हजार ५०० बोट काँक्रो सखापै पा¥यो”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुम्सी ओडारमा लुक्ने र कोही नभएका बेला बारीमा आएर काँक्रोका बोट उखेलेर फाल्ने गर्दछन् ।

केही महीनादेखि पनौती नपास्थित कुशादेवी क्षेत्रमा पनि बाँदर आएर स्थानीयवासीलाई दुःख दिइरहेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकका गुनासा आइरहेका छन्, कसरी समाधान गर्ने भन्नेमा विभिन्न निकायसँग सल्लाहा गर्दैैछौँ ।” त्यसो त, काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानतर्फ जान छलफल पनि चलाउन थालिएको छ ।

जिल्लास्थित संवाद समूहले विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेलको समस्या बढी देखाएका छन् । डिभिजन वन कार्यालय धुलिखेलका सहायक वन अधिकृत रामकुमार भण्डारीले जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा रहेको बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार बितेका १० वर्षमा जिल्लामा जङ्गली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच घाइते भएका थिए । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते, अन्नबाली क्षति, करीब २०० घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिइएको छ । कार्यालयले मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिँदै आएको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया