प्रत्येक दिन १० लाख यौनरोगी थपिंँदै

४ बर्ष अगाडि

एजेन्सी – विश्वमा हरेक दिन १० लाख बढी यौनरोगका नयाँ विरामीहरु थपिने गरेको तथ्यांक स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । खासगरी १५ देखि ४९ वर्षका व्यक्तिहरुमा उपचारजन्य यौनरोग देखिएको सर्वेक्षण पश्चात पत्ता लागेको छ । यो तथ्यांक अनुसार प्रत्येक वर्ष ३७ करोड ६० लाख यौनरोगीहरु थपिंदैछन् । यस्ता यौनजन्य रोगहरुमा क्ल्यामिडिया, गोनोरिया, ट्रिकोमोनियासिस र सिफिलिस रहेका छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठन, यनिभर्सल हेल्थ कभरेज एण्ड द लाइफ कोर्षका कार्यकारी निर्देशक डा। पिटर सलामाले सरुवा यौनजन्य रोगहरु फैलनबाट रोक्न गरिएको प्रयासमा सफतलाको कमी भेटिएको प्रतिक्रिया दिएका छन् । यो सर्वेक्षण समयमै सर्तकताको लागि चेतावनी भएको प्रतिक्रिया दिंदै उनले जो कोहीले जहाँसुकैबाट यस्ता सरुवा यौनजन्य रोगबाट बच्न र उपचार पाउन सक्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठनको बुलेटिनमा प्रकाशन भएको तथ्यांक अनुसार १५ देखि ४९ वर्षका उमेर समूहका महिला वा पुरुषमध्ये सन् २०१६ मा क्ल्यामिडियाका १२ करोड ७० लाख, गोनोरियाका ८ करोड ७० लाख, ६३ लाख सिफिलिसका नयाँ विरामी थपिने गरेका छन् । यस्तै सबैभन्दा बढी ट्रिकोमोनियासिसका १५ करोड ६० लाख नयाँ विरामी एक वर्षको अवधिमा थपिने गरेको सर्वेक्षणले देखाएको छ । यस्ता रोगहरु एकै व्यक्तिमा दुई वा बढी पनि भेटिएको तथ्यांकमा उल्लेख छ ।

यस्ता प्रकारका यौनजन्य सरुवा रोगका कारण वयस्क र बच्चाहरुको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । अझ उपचारको अभावमा यी रोगहरुका कारण स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्नेतर्फ सचेत गराइएको छ । समयमा उपचार नभएमा नसा तथा मुटुका रोगहरु, बाँझोपना, गर्भाधानमा समस्या, तथा एच।आइ।भि एड्सको खतरा समेत हुने प्रतिवेदनमा उल्लेख छ । यस्त,ै त्यस्ता विरामीहरु विभिन्न प्रकारको घरेलु हिंसाका कारक समेत हुन सक्छन् । सिफिलिसका कारण मात्रै सन् २०१६ मा २ लाख मृत शिशुको जन्म भएको भन्दै यसलाई विश्वभर शिशु मृत्युको प्रमुख कारण समेत मानिएको छ ।

सन् २०१२ पछि आएको विश्व स्वास्थ्य संगठनको यो नयाँ सर्वेक्षणले यौनजन्य सरुवा रोगहरु विश्वमा लगातार खतराको अवस्थामा रहेको भन्दै सचेत रहन सुचित गरेको छ । प्रत्येक २५ जनामध्ये १ मा यस्तो रोग भेटिनुले यौन तथा प्रजनन् स्वास्थ्यप्रतिको लापरवाही प्रष्ट पारेको सर्वेक्षणमा सम्मिलित विश्व स्वास्थ्य संगठनका प्रतिनिधीले जिकिर गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया