सावधान ! मुख गन्हाउने समस्याले क्यान्सर पनि हुन सक्छ

४ बर्ष अगाडि

डा.घिमिरे ओम समाज डेन्टल हस्पिटलका ओरल म्याक्जिलोफेसियल सर्जन – काठमाडौँ – मुख गन्हाउने समस्याले व्यक्तिको व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । साथै, मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिपे्रसनमा हुन्छन् । आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । यदि, लामो समयदेखि मुख गन्हाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले, यसबारेमा बुझेर समयमै उपचार गरौँ । 

मुख गन्हाउने कारण

-प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा ।
-पानी कम पिउने कारण मुख सुक्खा हुनाले ।
-कफीको अत्यधिक सेवनले ।
-दाँत तथा मुख राम्रोसँग सफा नगर्दा ।
-सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्नाले ।
-लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्नाले ।
-लामो समयसम्म एउटै ब्रस प्रयोग गर्नाले ।
-खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा ।
-चिनी भएको चुइंगम चपाउनाले ।
-गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।
-गिजा सुन्निएर पाइरिया भएमा । 
-पिनासको संक्रमण भएमा ।
-धूम्रपान, मध्यपान तथा सूर्तीजन्य वस्तुको प्रयोगका कारण । 
-दाँत किराले खाएर खाल्डो भएमा ।
-मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा ।
-टन्सिलाइटिस भयो भने । 
-सुतेको वेला घुर्नु, मुख खालेर सुत्नु तथा मुखबाट सास फेर्ने बानी हुनु ।
-एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु ।
-श्वास नली र फोक्सोमा संक्रमण हुनु ।
-खाना नली र पेटमा घाउ हुनु ।
-शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु ।
-पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु । 
-नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले ।
-जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा ।
-कलेजोले काम गरेन भने ।
-मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ । 
-रेडियोथेरापी तथा क्यान्सरको उपचार गराउँदा पनि मुख गन्हाउँछ ।
 

रोकथाम र उपचार 

-मुख गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने   
-किनकि, यो ब्रस वा फ्लस गर्दा पनि जाँदैन ।
-पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा 
-सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन । 
-जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने । 
-कफी र गुलियो खानेकुरा कम खाने ।
-सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने ।
-कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने ।
-एउटा ब्रसलाई तीन महिनाभन्दा बढी प्रयोग नगर्ने । 
-खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने । 
-धेरै गुलियो, चकलेट र चुइंगमको प्रयोग कम गर्ने । 
-गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने ।
-पिनास र टनसिलको उपचार गर्ने ।
-धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
-दन्त सडनको उपचार सही ढंले गर्ने ।
-मुखका घाउ–खटिराको उपचार समयमै गर्ने ।
-मुखमा क्यान्सर भएमा यसको उपचार समयमै गर्ने ।
-मुखमा अम्लको मात्रा बढी आउन नदिने ।
-खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने ।
-श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने ।
-मधुमेह नियन्त्रणमा राख्ने ।
-नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्हाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्ने । 

डा. सुवास घिमिरे  । नयाँपत्रिका दैनिकबाट । डा.घिमिरे ओम समाज डेन्टल हस्पिटलका ओरल म्याक्जिलोफेसियल सर्जन हुन्

४ बर्ष अगाडि

प्रतिक्रिया