एकता भाँडन यतिसम्म गरियो, किन बकबक गर्दैछन् ईश्वर पोखरेल ?

४ बर्ष अगाडि

काठमाडौं – कुनै पनि समझदारी कार्यान्वयनका लागि गरिन्छ । कार्यान्वयन नहुने समझदारीको कुनै अर्थ रहँदैन । 

जनयुद्धको राप र तापबाट उठेको हो माओवादी आन्दोलन । सिंहदरबार वरीपरी चक्कर काट्ने भूमिकामा रहेको तत्कालीन नेकपा(एमाले)लाई माओवादीले नै त्राण भरेको थियो, जुन आज नेकपा बनेको छ, त्यसमा माओवादी आन्दोलनको हिस्सा पनि जोडिएको छ । विगतमा माओवादी केन्द्र र एमालेकाबीचमा पार्टी एकताको क्रममा केही सम्झौता भएका छन् । यो आम रुपमा पनि सार्वजनिक छ  । 

विगतमा तत्कालीन नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादी केन्द्रसँगको सहमति तथा सम्झौता कार्यान्वयन नगर्दाको परिणाम सो दलले भोगकेै थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै जोडबल गरेर दुई पार्टी मिलेर नेकपा बनेको हो । तर पछिल्ला दिनमा पार्टी हाम्रो हो, मेरो हो, एमालेको हो, म मात्रै हो भन्ने कुतर्क गर्ने जमात पूर्व एमले पंक्तिबाट देखिन थालेको छ । पार्टी एकताको क्रममा भएका सम्झौता र सहमतिलाई लत्याएर पार्टी छाडेर गए हून्छ, यो एमाले हो भन्ने शैलीमा केपी ओली निकट बताउने केही हुडारप्रवृत्तिका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालको भित्तो फोहोरा पार्न थालेका छन् ।

विशेष गरी इश्वर पोखरेल उक्त हुडार प्रवृत्तिको प्रमुख मुखियाको रुपमा देखिएका छन् । विगतमा पार्टी एकता भाँड्न उनले ठूलै चलखेल गरेको कुरा कोही कसैबाट छिपेको छैन । उनले हदैसम्मको प्रयास गर्दा समेत पार्टी एकता अगाडि बड्यो । उनलाई एकीकृत पार्टीको पनि महासचिव बन्नु थियो, त्यो उनले नै प्रष्ट बताइसकेका छन् । तर एकता प्रक्रियामा विशेष योगदान गरेको भन्दै बुटवलका विष्णु पौडेलले पोखेरेलको सपनामा तातो पानी खन्याइदिए । सधै शक्तिमा रहनुपर्ने, पद र प्रतिष्ठाका लागि आफ्नै सहकर्मीको समेत गला रेटन पछि नपर्ने स्वभावका धनी पोखरेल फेरी पनि पार्टी एकता भाडन सकिन्छ कि भन्ने साजिसमा लागेका छन् । 

घटनाक्रमहरु भन्छन् –रक्षा मन्त्रालयलाई उनले पूर्व एमाले र त्यसमा पनि आफ्ना गुटको मुख्यालय बनाएका छन् । रक्षा मन्त्रालयको दैनिक खर्चमा भएको बढोत्तरी तथा उनले त्यहाँबाट गरेको धन्दाले पनि सोही कुराको पुष्टि गरेको छ । आवश्यक भन्दा अनावश्यक व्यक्ति थुपारेर राज्यको साधन र स्रोतमाथि ब्रम्हलुट गर्ने मनसायका साथ पोखरेल प्रस्तुत भएको उनका निकटस्थहरु नै बताउँछन् । 

केही मिडियाका पत्रकारलाई सेनाको मिशनमा हैटी, दक्षिण सुडान जस्ता मुलुक पठाइदिने आश्वासन दिएर उनले नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध भए नभएको प्रचार गर्न, आफ्नो अन्तरवार्ता छपाउन , आफ्ना नजिक भनिएका केही नेतालाई प्रचण्ड विरुद्ध छारस्ट गर्न लगाएको पाइएको छ । ईश्वर पोखरेल आपूर्ति मन्त्री बन्दा नेपाल आयल निगमको पैसा हिनामिना गरेको र पानी ट्यांकीबाट पैसाको बिटोका बिटो फेला परेको तथ्य पनि सार्वजनिक नभएको होइन । एकता प्रक्रिया बाँकी नै रहेको बेला विशेष गरी पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अपराधी नै जस्तो पोखरेलले प्रचार प्रसार गराउन उद्यत देखिएका छन् । 

उनको चाहना छ, प्रचण्डहरु आएर मेरो पद खोसे । नेपालको कम्युनिस्ट आन्दोलनमा इश्वर पोखरेलहरु नकारात्मक प्रवृत्तिका उपज हुन र छन् पनि । प्रतिगमन आधा सच्चिएको, महाकाली सन्धी जायज हो, माओवादीलाई बन्दुकले ठिक गर्नुपर्छ, यनीहरु हत्यारा हुन ् भन्दै नेपाली जनताको त्याग र बलिदानको खिसी टिउरी गर्ने प्रवृत्तिका मसिहा हुन पोखरेल । माओवादीले अडेर ल्याइदिएको गणतन्त्रको व्याज खाएर माओवादीका नेतामाथि भए नभएको फतुर लगाउने अभियानमा उनी लागेका छन् । 

रक्षा मन्त्रालयको साधन र स्रोत दुरुपयोग गरेको भन्दै उनीहरुमाथि कारवाहीको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नपरेको पनि होइन  तर ओलीले आफ्नै गुटका भएकाले उनीहरुमाथि कुनै चेतावनी समेत दिइएको छैन । 
तर पछिल्ला दिनमा नेकपा अध्यक्ष प्रचण्ड माथि उनले जुन तरिकाले सिगौरी खेल्न खोजेका छन् त्यो भने अत्यन्तै गैरराजनीतिक चरित्र र चिन्तले ग्रस्त भएको छ । 

कार्यकर्ताको विश्वास जित्न नसकेका, सधै गुटको फेर समाएर फरक विचार राख्नेलाई पाखा लगाएर खान पल्केका पोखरेलहरु पूर्व माओवादीका नेतालाई  आँखाको कसिंगर जस्तो ठान्ने गरेका छन् । आफूहरुले विगतमा गरेको लुटपाटलाई नेपाली जनताले एक पटक क्षमा दिए भनेर मात्तिएका पोखरेलको शैलीलाई आगामी दिनमा नेपाली जनताले क्षमा गर्लान् भन्ने अवस्था छैन । 

नेपालको ऐतिहासिक आवश्यकताका आधारमा भएको एकता प्रक्रियालाई धमिल्याउन, भाडन् तथा सेवोटेज गर्न पोखरेल लागिपरेका छन् । नेपाली सेना भित्र अत्यन्तै तल्लो स्तरको राजनीति समेत गरिरहेका उनकै सचिवालयमा कार्यरतहरुले सिंहदरबार र भृकुटीमण्डपतिर बताउँदै हिड्ने गरेका छन् । यूवा संघमा रहेका एक नेताले त नेता जस्तो लागेको थियो पोखरेल होइन रहेछ, उनी त पूरापूरा व्यापारी रहेछन् भन्दै हिडेका छन् । 

सचिवालयको बैठकमा समेत पोखरेलले पूर्व माओवादीका नेताहरुलाई होच्याएर बोल्ने गरेका छन् । कति पटक त ओलीले नै उनलाई हस्तक्षेप गर्नुपरेको छ । ओली पछिको नेता  आफू भएको भन्ने भ्रम छ उनलाई । तर इतिहासले पोखरेललाई धेरै पर फालीदिएको छ । समाजवादको यात्रामा अगाडि बढ्ने समयमा कुनै सार नै नभएको जबजको केतुकी बोकेर हिडेका छन् उनी । 

केतुकीको फूल देख्न त राम्रो हुन्छ, तर सिंउडी जत्ति पनि प्रभावकारी हुँदैन । सिँउडी त बरु बार बान्नै काम लाग्ला, केतुकी भने वर्षमा एक पटक मात्रै फूल फूल्छ । त्यसको कुनै काम लाग्दैन । पोखरेलले सचिवालयका बैठकमा प्रचण्ड विरुद्ध नै बिषवमन गर्ने गरेको , बेला कुबेलामा किन अभिव्यक्ति दिएको भन्दै डिस्कटेक गर्ने गरेका छन् । उनी यति हदसम्मका गैरराजनीतिक व्यक्ति रहेछन् कि , त्यसको कल्पना पनि गर्न सकिदैन, बैठकमा सहभागी हुने एक सचिवालय सदस्यको टिप्पणी छ । उनले प्रचण्डलाई मात्रै नभई झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई समेत तल्लो स्तरको व्यवहार गर्ने गरेका छन् । 

जसरी पनि पैसा कमाउनुपर्छ भन्ने ध्याउन्नमा लागेका पोखरेलले सचिवालयमा समेत आफ्ना गुटका विश्वासपात्र र हनुमानहरुलाई मात्रै भर्ना गरेका छन् । सेनाका उच्च अधिकारीसँग ठेक्का पट्टा मिलाउने र कसरी हुन्छ पैसा कमाउनुपर्छ मान्यतामा नै उनीहरुलाई पोखरेलले परिचालन गरेका छन् । सेनाका एक अधिकारीले त पोखरेलका मान्छे भन्दै आए भने छिर्न नदिनु भन्नेसम्मको निर्देशन दिनु परेको छ । उनकै कारण नेपाली सेनमा माओवादीका तर्फबाट समायेजित भएका पूर्व लडाकुलाई पेल्ने काम भइरहेको जानकार स्रोतको भनाइ छ । 

गणतन्त्रका लागि लड्ने यमबहादुर अधिकारीहरुलाई पन्छाएर पोखरेलले राजाका एडिसीहरुलाई बढुवा गराउनुको पछाडि पनि सोही कारण रहेको छ । माओवादीका सबै नेता तथा कार्यकर्तालाई कुनै जिम्मेवारी दिनुहुन्छ, उनीहरु अपराधी हुन् भन्नेसम्मको व्यवहार समेत उनले देखाउने गरेको काठमाडौँ क्षेत्र नं ५ का  नेता तथा कार्यकर्ता बताउँछन् । उनी प्रचण्डसँग जोरी खोजेर कुहिनो फुटाउने धन्दामा लागेको जानकारहरुको भनाइ छ । किनकी नेपालको राजनीतिमा प्रचण्ड एउटा पहाड नै हुन, ईश्वर पोखरेलहरुले प्रचण्डसँग जोरी नै खौज्न सक्दैनन् । तर षड्यन्त्र गर्ने, जे जे मन लाग्छ, त्यही त्यही लेखाउने र प्रचण्डको तेजोबोध गर्न सकिन्छ कि भनेर लाग्ने उनको प्रवृत्तिलाई पूर्व एमालेका कार्यकर्ताले समेत मन पराएका छैनन ।

उनको महात्वाकाक्षालाई धुलीसात बनाउने क्षमता आफूहरुसँग रहेको भन्दै पूर्व एमालेका कार्यकर्ताले समेत प्रचण्डलाई दरिलो साथ दिन र खुटटा टेक्न आग्रह गरेका छन् । भ्रष्टाचारमा गन्हाएका, राजनीतिक रुपमा षडयन्त्र र छलछाम बाहेक जिन्दगीभर कुनै पनि काम नगरेका पोखरेललाई नेता कार्यकर्ताले आपराधीक मानसिकता भएको व्यक्तिको रुपमा चित्रण गर्छन् भने आम नेपाली जनताले ट्यांकीमा पैसा लुकाउने भ्रष्टाचारीको रुपमा चित्रण गर्छन् । उनको छवी कही कतै पनि राम्रो नभएको सन्दर्भमा अरुको खुट्टा काटेर अग्लो बन्ने उनको महत्वाकाक्षी पूरा नहुने बताइन्छ ।

केही विदेशी शक्ति केन्द्रको उक्साहटमा पोरखेल प्रचण्ड विरुद्ध लागेको बताउने पनि कम छैनन् । केही राजनीतिक विश्लेषकहरुका अनुसार उनी नेकपालाई भताभु बनाउन चाहने भारतीय संस्थापन पक्ष,  पश्चिमा केही गैरसरकारी संस्थाको चंगुलमा फसेको बताउँछन् । उनलाई केवल आफ्नो हित सिवाय देश, जनता, र पार्टीको समेत हित गर्नुनपर्ने भएकाले प्रचण्ड विरुद्ध सिगौरी खेल्न बल मिलेको बताइन्छ । उनले केही दिन पहिले एक दैनिक पत्रिकामा दिएको अन्तरवार्ता, उनका निकट भनिएकाहरुले सामािजक सञ्जालको भित्तामा गरेको फोहोरेले उनीहरुकै हैसियत प्रष्ट पारिदिएको छ । त्यसले बरु प्रचण्डप्रति नै आम मानिसको सहानुभूति बढ्दै गएको छ । 

देश जनताको पक्षमा निरन्तर लड्ने प्रचण्ड नै योग्य र सक्षम व्यक्ति हुन सक्छन् आम जनताको नजरमा । भुइफुट्टा प्रवृत्तिमा भ्रष्टाचार भन्दा अरु कुनै पनि चिन्तन नभएका पोखरेलहरु क्रमशः नेपाली जनताको नजरबाट ओझेल पर्ने कुुराका कुनै दुईमत नरहेको जानकारहरुको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया