बालकको पसिनामा मालिकको मस्ती !

जेठ २९, २०७६ | आजको अर्थ
ajaako_artha

कालीले हिजोदेखि आजसम्म कति खाई, के खाई कसैलाई केही मतलब त हुँदैन ? अर्थात्, ऊ बिरामी पनि त हुन सक्छे । उसका गाउँका गरिब बाबाआमाले कसरी थाहा पाऊन् ? थाहा भएर पनि ती बबुराले कसरी सान्त्वना दिऊन् ? कालीले बेलुका सबै कामधन्दा सकेर सुत्दा रात छिप्पिएको कुराप्रति कसले सहानुभूति प्रकट गर्छन् र ?

काठमाडौँ – काले, डल्ले, नेप्टी, पुड्की आदि नाम गरिब, श्रमिक या कम आय भएर श्रममा लादिएका मान्छेलाई रहेछ क्यार । हाकिम साब बिहानभरि कुकुरलाई सु–सु गराउन र मर्निङ वाक गर्न तल्लीन छन् । घरमा काम गर्ने काली नामकी (काल्पनिक नाम) बाह्र वर्षे बालिकाले चिया र पाउरोटीलाई पिलेटमा हालेर टेबलमा चटक्क सजाएर राखिदिनुपर्छ । 

दुनियाँले ठूला बिल्डिङमा गर्व गर्छन् । कालीका लागि पाँचतले बिल्डिङको भ¥याङमा पोछा लगाउँदा ढाड दुख्ने रोग लागिसकेको छ, खै कसरी खुसी मान्ने ! हाकिमनी साहेबा भ¥याङमा पोछा राम्ररी नलगाएको अनि आफ्नो कुर्तामा आइरन बिगारेको बहानामा कर्कस आवाजमा छुद्र गाली वर्षाइरहन्छिन् । हाकिम बालमजदुर दिवसको भाषणका लागि तयार हुँदै गर्दा कुकुरलाई राम्रोसँग मासुभात खुवाउने आदेशसहितका केही सूची कालीका हातमा थमाउँदै चिसो हात पुछ्नका लागि न्याप्किन पेपर मगाउँछन् । 

कालीले हिजोदेखि आजसम्म कति खाई, के खाई कसैलाई केही मतलब त हुँदैन ? अर्थात्, ऊ बिरामी पनि त हुन सक्छे । उसका गाउँका गरिब बाबाआमाले कसरी थाहा पाऊन् ? थाहा भएर पनि ती बबुराले कसरी सान्त्वना दिऊन् ? कालीले बेलुका सबै कामधन्दा सकेर सुत्दा रात छिप्पिएको कुराप्रति कसले सहानुभूति प्रकट गर्छन् र ? बिहान उठेर मालिकको सानो छोरालाई ब्रेक फास्ट तयार पारी टिफिनमा राखिदिन ढिलो हुन सक्ने त्रासमा घडीको सुइरोलाई चारबजे अघिदेखि नै कालीले पटकपटक हेरिरहने आदत बसाउनै प¥यो । 

वन्दना (मालिककी ठूली छोरी–काल्पनिक नाम) आठ बजेतिर उठेर बाथरुममा स्नान गरे लगत्तै चिसो कपाल फट्कार्दै आफ्नो कोठामा भ्याकुम क्लिनरले राम्रोसँग सफा नगरेको गालीसँग आमाकै तहसम्म पुगेर छुद्रतापूर्ण गाली वर्षाउँछिन् । कालीलाई चुपचाप सहनुको विकल्प छैन किनकि उसका आमाबाबा गाउँको एउटा कुनामा हावाले झुप्रो उडाइदिएकाले पालमा बसेका छन् । ऊ घरमा आपूm पाँच जना दिदीबहिनीमध्ये जेठी छोरी पनि त हो । उसदेखि मुनिका साना बहिनीलाई कालीका कमाइले केही राहत देला भन्ने आशा बाआमालाई पनि हुँदो हो । तब त उसले सहनशील मूर्ति नबनेर के गरोस्, धन्न त्यत्तिको उत्तम काम पाएकी छे । 

सुन्दा–पढ्दा दासता र शोषणका केही कुरा आजका हुन् जस्तो लाग्दैनन् । आजको युगमा भलै हिजो जसरी र हिजो जत्तिको क्रुरता नहोला तर दासताले, शोषणका जघन्य कुकृत्यले सामान्य र निरीहको गला निमोठिरहेको छ । भलै यस लेखका घटना र पात्र काल्पनिक हुन् तर हाम्रा बिल्डिङहरूमा, होटलका रक्षानमा, किचनमा, टेबल पुस्दै गर्दा, माइक्रो बसमा हामीले राम्ररी नियालिरहेकै छौँ । आज पनि छन्– नियमले बाँध्न चाहेर नबाँधेका विषय पुराना बनेनन् । ठूलाठालुलाई नमस्कार ग¥यो भने कति जनाले हाम्रो नमस्कारलाई सहज र समान तरिकाले स्वीकार्छन् ? यसो एउटा हात उठायो, आफ्नै सुरमा हिँड्यो– कुलीन चालढालको हुकुमी बडप्पनको प्रतिक्रिया । हामी त एकदम विनम्रतापूर्वक छातिभरि आँट बोकेर श्रद्धापूर्वक सम्मान गर्छौँ नि । 

हाम्रो सत्कारको संस्कारभरि सभ्यता छ । इमानदारिता छ तर सत्कार पाउनेमा इमानदारिता आजसम्म देख्न पाइन्न । सत्य हो– आज पनि मालिकवादी सोचको शासनले हैकम लादेकै छ । अफिसमा कर्मचारीको शासक पद्धति र शोषक सोचले सोझा र बोल्न नसक्नेले दैनिक झमेला बेहोर्छन्, हेपाइ बेहोर्छन्, चुपचाप सहन्छन्– यथार्थवाद हो । कति यौन शोषणको सिकार बन्छन् । अत्याचारको सीमा आजसम्म पुरानो बन्नै कहाँ सक्यो र !

निरङ्कुश भनेर बुझिने राणाशासकभित्रकै एक शासक चन्द्र शमशेरले १९८१ सालमै नेपालमा दासप्रथाको अन्त्य गरे । राणा शासक हुन् तर त्यतिखेरै शोषक पद्धतिको क्रान्तिकारी कदम उठाए । उनले दासदासी बनाउन नपाइने भनेर भाषण मात्र पनि त गरेनछन् नि– सबै दासदासीलाई यसो छानो र मानोको जोहो पनि गरिदिएका रहेछन् । यहाँ कुनै सरकार वा बाहिरको पार्टी र नेताको विषय जोड्नु आवश्यक छैन । सबैजसोमा माथितिर हेर्ने सोचको संस्कार रूढि बनिसकेको छ । सोध्ने मन हुन्छ– आजका शासकमा राजा रजौटा प्रवृत्ति छैन त ? 

उच्च तहका कैयौँ कर्मचारीमा अहम्भावले जकडेकैले साना मान्छेको नमस्कारलाई तिरस्कार गरिन्छ । आफ्नो घरमा काम गर्न राखेका नोकरलाई कुकुरलाई जति पनि माया नगर्ने शासक वर्गले शोषित वर्गलाई दमन गरेका घटना हामीले नियाल्न सक्दैनौँ र ? मानवीय क्रुरता हिजो जसरी नदेखिएर शैली बदलिएको हुन्छ । काम गर्ने कमारोले ‘सर हजुर’ नभनेर ठूलो बोलेर बाँकी जीवन र परिवार धान्ने उपाय कसरी खोज्ने ! शरहका घरबेटीलाई कोठा भाडामा बस्नेले पैसा तिरे पनि दुई जना पाहुना आएका दिन डराउँदै फकाउनुपर्छ । निस्केर जा– भने भने त तत्कालै चाहेर पनि कोठा पाएनन् त्यसमा पनि एउटा कोठा दिँदैनन् ।

संयुक्त राष्ट्र संघले हरेक वर्षको जुन ४ लाई संसारभरि “निर्दोष बालबालिका माथिको अत्याचार विरुद्ध दिवस” का रूपमा मनाउन आग्रह गरेको छ । मे १ मा मजदुर दिवसको मनायौँ । बाल दिवस पनि मनाउँदै आएकै छौँ । दिवस मनाउनका लागि भन्दा समाज बनाउनका लागि हुनुपर्छ । नेताले हैन नीतिले देश चल्नुपर्छ । यस्ता विषय नेता र पार्टीका आधारमा होइन आवश्यकता र मानवीय संवेदनाका आधारमा सञ्चालित हुनुपर्छ । 

सोचनीय पक्ष हो– आज बालक शारीरिक, मानसिक, भावनात्मक एवम् संवेगात्मक कुनै पनि कोणमा दबिन्छ । मालिकले नोकरशाही दमन लाद्छ । घरमा काम गर्न सक्ने कर्मचारी छन् भने तिनका बालबच्चाले अभिभावकत्वबाट वञ्चित हुन अभ्यस्त बन्नुपर्छ । एउटा वर्गले जानेर दमन गर्छ, अर्को वर्गले जानेर वा नजान्दै बाध्यताले दमन गर्छ । तर, समस्या राज्यको हो समाधान भेट्टाएर पनि हुँदैन –अपनाउन गाह्रो हुन्छ । आज जागरणका ठूला गफ गर्नेहरूले गिट्टी कुटिरहेको, चालीसौँ केजीको भारी बोकिरहेका अबोध बालकको कलिलो अवस्थाको दृश्यलाई कुन आँखाले हेर्छ ? 

राजधानीको मुटु भनिने क्षेत्रमा पुगेर नियालौँ– गाडिको ढोकामा झुन्डिएर चिच्चाइरहेको बालकले टाइसुटमा सजिएका व्यक्तिलाई ससम्मान सिटमा राख्न चाहन्छ । हुन सक्छ, उनी बालहिंसा विरुद्ध नारा लगाइरहनेमध्येकै नाइके हुँदा हुन् । मात्र– यत्तिमै सीमित हो । लेखाइपढाइ गर्नुपर्ने बालकले मजदुरी गरिरहँदा कानुनका पानाभरि सजायलाई सिफारिस गरेर राखिन्छन् । वर्षेनि अद्यावधिक हुन्छ । समयसँगै दासताको बल्छी बदलिरहन्छ । सामाजिक अभियन्ताका आँखामा गान्धारी पट्टि कसरी बाँधिइरहन्छ– सायद तिनको पनि बाध्यता हुँदो हो भनौँ । 

राज्यले दमन नगर भन्छ तर विकल्प र सुरक्षाको पाटोलाई बिर्सन्छ । भएको जागिर खुस्केपछिका दिन सहज हुनुपर्छ भन्ने विषय किन पर्दा पछाडि हुन्छ ? राज्यको आँखामा पर्न सकेसकेनन्, गरिबीले दबिएरै बस्न विवस पारिरह्यो । यता राज्यले कोटालाई समावेशी बनायो तर गरिबीको कोटा कहाँनेर चुक्यो थाहै भएन । यो आजको कोटा पद्धतिभित्रको सीमा रहेछ । समयले कोल्टो फेरिरहन्छ । व्यवस्थाको नाम फेरिन्छ, शैली उस्तै ।

समय दगुरिरहन्छ, राजधानीभित्रैका गरिबका दशादेखि गाउँसम्मका वेदना कहालीलाग्दा लाग्छन् । गरिबीले नै दुर्घटनालाई एकातर्पm मलजल गराउँदो रहेछ भने अर्कातर्पm आजको पछौटेपनको बाह्य आकर्षणले समाज अस्तव्यस्त छ । समाज हिंसा र प्रतिहिंसामा जकडिएकै छ । घरका छततिर पीडा भोगिरहेका र गाउँका पाखामा रोइरहेका बालबालिकालाई अधिकार माग्ने र तिनका आफन्तलाई बाँच्न पाउने हक खोज्न सिकाउने ज्ञान नै पनि छ नहोला । 

अर्को पक्ष बाबाले अर्की ल्याउने झोँकमा बच्चा र परिवारलाई पीडा दिइरहेका हुन्छन् । उजुरी हालौँ भने कमसेकम परिवार नभाँडियोस् भन्ने चाहना हुन्छ । बाध्यताले दमन बिहोर्छ– स्कुलमा गृहकार्य नबुझाउने विद्यार्थी त्यो घरको बालबालिकामध्येकै हुन्छ । विसङ्गतिका पोका खोतल्दा आजको समाजमा बालबच्चाले आमाकै कारणले समेत अन्यायको पराकाष्ठा बेहोर्नुपरेका दर्दनाक समाचार सुन्नुपरेको छ । आमाबाबाविहीन अरु कसैको साथमा लाचार भएर, हेपिएर बाँच्न विवस बन्नुपरिरहेको दृश्य पनि कम दयनीय कहाँ हुन्छ । बाबाआमा जीवित भएर पनि एकमुष्ट माया नपाउने पीडामा बच्चा तड्पिन्छ । चाडबाडमा मन रुवाउँछ, सम्झाउँछ, सोच्छ । मात्र पीडित बन्छ । 

निर्दोष बालबालिकालाई अत्याचार गर्ने, आमाले नै आफ्नै सन्तान मार्ने, पराइसँग सम्बन्ध गाँस्ने र खोल्साखाल्सीमा बच्चा फाल्ने अनैतिकताको पराकाष्ठामा समाज विसङ्गत लाग्छ । आजको समाजमा आदर्शताहीन अनैतिकताले कुबुद्धिमय सोचलाई मस्तिष्कमा ठोसेको छ । नैतिक आचरणका ज्ञान आजभोलिका पुस्तामा सिकाउनै छोडियो । नैतिक ज्ञानलाई धर्ममा ठोक्काइयो, सत्यतालाई जबर्जस्ती घृणा गर्न सिकाइयो । नत्र मातृदेवो भवः, पितृदेवो भवः भावना आज कसरी एकाएक वृद्धाश्रमभित्र कोचिए । 

बालबच्चालाई अनाथ आश्रम या बालगृहमा छोडिए । ममताभन्दा पैसा मूल्यवान् बन्दै गर्दा बच्चाले हुर्केर बुझ्ने भएपछि कसरी आमाबाबालाई पैसाभन्दा सन्तति स्नेहलाई ग्रहण गर्नुहोस् भन्ला– पश्चिमा शैलीको अमिल्दो परम्परा ठोसिएको कुरूपता हो । बालश्रम र दमनका विरुद्ध आवाज उठाउनुपर्ने बाध्यतासँग बोध र नियमसम्मत अभियानको आवश्यकता छ । अतः बालहितका पक्षमा मानवीय संवेदनाले संवेदनशीलताको जगलाई बलियो बनाउनुपर्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८