सावधान डेंगुले समाउला !

४ बर्ष अगाडि

काठमाडौं । देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ । जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ ।

रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो ।  जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेगुं रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन । विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन् । डेंगु रोगबाट प्रभावितहरुको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ ।’

महाशाखाका अनुसार चालू आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तीमध्ये संघीय सरकारले ७० लाख र स्थानीय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, विनियोजित रकम पनि जनचेतना र डेंगु रोग नियन्त्रण अभियानमा खर्च हुन नसकेको देखिएको छ । यो वर्ष ‘डेंगु रोग सार्ने लार्भाको खोज र नष्ट गर्ने अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सम्बद्ध अधिकारी स्विकार्छन् ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ प्रशासक घनश्याम पोखरेलका अनुसार डेंगु रोगबाट प्रभावित ४७५ जनाको बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । डेंगु रोगकै कारण नेपालमा सन् २००६ देखि हालसम्म १३ जनाको मृत्यु भएको तथ्यांक छ । यस वर्ष सुनसरीसहित झापा, मोरङ, चितवन, नवलपरासी र धनकुटा डेंगु रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन् । धरानमा मात्रै डेंगु रोगबाट प्रभावित ४७५ जनाको उपचार भइरहेको छ ।
सन् २०१५ मा १३४ जना, सन् २०१६ मा १ हजार ५ सय २७, सन् २०१७ मा २ हजार १ सय ११ र सन् २०१८ मा ८ सय ११ जना यो रोगबाट प्रभावित भएको सरकारी तथ्यांकमा उल्लेख छ । राजधानीमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया