सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा, आन्दोलन चर्काउने

४ बर्ष अगाडि

काठमाडौं–सत्तारुढ नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । 

“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने ।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । 

“संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजीनामा दिनुस् ।” उनले भने ।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने ।

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो । 

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन् । 

“म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले भने ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए ।

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए । 

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे ।

६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए ।

ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे । 

“गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।” प्रधानले भने ।

साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । 

गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन् । 

“गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो ।” टण्डनले भने ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया