मेस्सीले हारपछि किन पुर्पुरोमा हात लाउँछन् ?

४ बर्ष अगाडि

लियोनल मेस्सी, वर्तमानमा विश्व फुटबलका महान खेलाडी मानिन्छन् । विश्व फुटबलमा राष्ट्रिय टोलीका लागि सन् २००८ मा ओलम्पिक स्वर्ण पदक जित्नुबाहेक ठूला उपाधि हात पार्न नसकेपनि क्लब फुबटलमा उनले आफ्नो नाममा अनेक कीर्तिमान बनाएका छन् ।

सन् २००३ मा स्पेनिस क्लब बार्सिलोनाको सी टिमबाट फुटबल खेल्न थालेका उनले बार्सिलोनाका लागि ६१४ गोल गरिसकेका छन् ।

अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका उनले राष्ट्रिय टोलीको जर्सी लगाएर ८३ गोल गरेका छन्, जसमध्ये ६७ गोल सिनियर टोलीबाट गरेका हुन् ।

अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपको फाइनलसम्म पुर्याएका मेस्सीले २०१५ र २०१६ को कोपा अमेरिका कपको फाइनल खेलेपनि उपाधि जित्न सकेनन् ।

उपाधीको नजिक पुगेर पनि हार्नुपर्दा असह्य पीडा हुन्छ, मेस्सीले यही पीडाकै कारण सन् २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । यो निकै अप्रत्यासित घटना थियो ।

तर अर्जेन्टिनी राष्ट्रपतिसहित धेरैको आग्रहपछि उनले सो निर्णय फिर्ता लिएर पुनः राष्ट्रिय टोलीबाट खेल्न सुरु गरे र सन् २०१८ को विश्वकपका लागि छनोट गराए । तर विश्वकपको प्रिक्वाटर फाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरियो ।

अहिले कोपा अमेरिका कपको ४६ औं संस्करण जारी छ र अर्जेन्टिना फेरि पनि उपाधिको दाबेदारमध्ये एक हो । तर पहिलो खेलमा नै अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भयो र आफ्ना समर्थकलाई निराश बनाएको छ ।

अर्जेन्टिनाको हार वा जितको केन्द्रमा हुने गर्छन्, कप्तान लियोनल मेस्सी । त्यसैले हारपछि उनको हाउभाउ र प्रतिक्रिया सबैको नजरमा पर्नु स्वभाविक नै हुने भयो ।

कोलम्बियासँगको हारपछि बिक्षिप्त बनेका मेस्सीले पुर्पुरोमा हात लगाएर मैदानबाट बाहिरिदै थिए । यसैबेला फोटो ग्राफरको क्यामेरामा कैद भयो । अहिले यो तस्बिर चर्चामा आएको छ ।

हारको पीडाले उनले पुपुर्राेमा हात लगाएको तस्बिरमाथि केही अस्वभाविक प्रतिक्रिया समेत गरिएका छन् भने केहीले मजाक समेत उडाएका छन्। मेस्सीकोे बार्सिलोला वा अर्जेन्टिना जहाँबाट खेल्दा पनि हारपछि करिब उस्तै शारीरिक हाउभाउ पाइन्छ । 

उनले सन् २०१६ को कोपा अमेरिका कप, २०१८ को विश्वकप र यसपटकको कोपा अमेरिका कपमा पनि पहिलो खेलमा नै हार ब्येहोरेपछि बाहिरिने क्रममा समान शारीरिक प्रतिक्रिया देखिन्छ । फक्स स्पोर्टस्ले मेस्सीका तीन अलग समयका समानखाले तस्बिर ट्विट गरेपछि त्यसमाथि विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

कतिपयले टोलीले राम्रो नखेलेपछि मेस्सी एक्लैले केही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले युरोकप र हालै युईएफए नेसन्स लिगको उपाधि जिताउने रोनाल्डोको प्रशंसा गरेका छन् ।

केहीले भने अर्जेन्टिनी टोलीमा अग्वेरो र डि मारियाको स्थानमा पाउलो डिबाला र इकार्डीलाई खेलाउनुपर्ने बताएका छन् ।

उनलाई बार्सिलोनाको खेलाडी भएको र अर्जेन्टिनाका लागि राम्रो नखेलेको आरोप लगाउने पनि कम छैनन् । तर मेस्सीको शारीरिक हाउभाउले हारको पीडाबोध झल्किन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया