प्रधानमन्त्रीको नाम लिँदै निक्षेपकर्तालाई थर्काउने को हुन ती बैंकर ?

४ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय क्षेत्रमा एक पछि अर्को अराजकता बढ्दै गएको छ ।

आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने हात बताउँदै आएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारीको नाममा लुटपाट नै गरेको तथ्य सार्वजनिक भएको छ । सोही खालको समस्या सिभिल बैंकमा समेत देखिएको छ । सिभिल बैंकमा उनले सर्वसधारणको निक्षेपलाई जोखिममा पार्ने गरी काम गरिरहेको पत्ता लागेको छ । सिभिल सहकारीमा त उनले निक्षेपकर्तालाई पैसा दिन सक्ने अवस्था रहेको छैन ।

सिभिल सहकारीको पैसा अपचलन गरी तामाङले मनमौजी तरिकाले खर्च गरेका थिए । संविधानसभा सदस्यका रुपमा  तत्कालीन  संसद समेत रहेका तामाङले आफ्नो स्वार्थमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई समेत प्रभावमा पारेका थिए । पछिल्ला दिनमा उनले आफू प्रधानमन्त्रीको मान्छे भएकाले नेपाल राष्ट्र बैंकले समेत केही गर्न नसक्ने भन्दै  निक्षेपकर्तालाई समेत दुःख दिने गरेका छन् ।

सिभिल सहकारीमा उनले पैसा झिक्न आउनेलाई अहिले पैसा छैन, पछि आउनु भन्दै फर्काएर पठाउन निर्देशन  दिएको बताइन्छ । सो सहकारीका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंकले आफूलाई केही गर्न नस्क्ने भएकाले कोही कसैबाट पनि चिन्ता नलिन र निक्षेपकर्तालाई पैसा छैन, पछि आउनु भन्दै फर्काउन भनेका छन् । उनले निक्षेपकर्ताको निक्षेपलाई जोखिमा पारेपछि केन्द्रीय बैंकले हालसम्म कुनै पनि एक्सन गरेको छैन । अन्य बैंक तथा वित्तीय संस्थामा सामान्य समस्या पर्ने वित्तिकै कारवाहीमा उत्रने राष्ट्र बैंकले सिभिलको हकमा कुनै पनि कारवाही सुरु गरेको छैन । त्यसो त सिभिल बैंक समेत सोही प्रकरणमा तानिएको छ । सहकारीलाई कारवाही गर्ने आधार राष्ट्र बैंकसँग नभएपनि बैंक नै समस्यामा पर्ने गरी भएको चलखेलको विषयमा नै केन्द्रीय बैंक मौन बस्नुले भने आशंका जन्माइदिएको छ । 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ समेत तामाङको तरिकाले हैरान परेका छन् । उनले बैंकको आर्थिक अवस्था बिग्रदै गएको र सहकारीमा फसेको पैसाको हिसाब मिलाउन बैंकबाट पैसा झिक्न थालिएको भन्दै निकटस्थहरुसँग गुनासो गर्ने गरेका छन् । तर उनको गुनासोलाई लिएर बैंक सञ्चालक समितिले कुनै सुनुवाई समेत नगरेको पाइएको छ । बैंकमा नागरिकको पैसा जम्मा हुने भएकाले सो पैसामा खेलबाड गरिनु सोझै गैरकानुनी क्रियाकलाप हो । गैरकानूनी क्रिायकलाप बैंकमा मौलाइरहँदा समेत राष्ट्र बैंक नै चुप लाग्नुले भने संन्देहको घेरा बढाइदिएको छ ।

सिभिल बैंकका अध्यक्ष  समेत तामाङले सिभिल होम्सको नाममा समेत घर खरीद गरेकालाई दुःख दिएको दर्जनौ उजुरी परेपनि कुनै कारवाही भएको छैन । कमसल निर्माण सामग्री प्रयोग गरेर निर्माण गरिएको घरमा बस्न नहुने भएको भन्दै केही घर खरीदकर्ताले सिभिल होम्सको ध्यानकर्षण गराएपनि सुनुवाई हुन सकेको छैन । आफू प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्षको दाहिने हात भन्दै उनले सबै व्यावसायमा दैनिक जसो नै पीडीत थप्दै लगेका छन् ।

पहुँच नभएकालाई चूल्ठे मुन्द्रे लगाएरै भएपनि तह लगाउने गरेका तामाङले अलिक जान्ने सुन्नेलाई भने प्रहरी प्रशासन लगाएर तह लगाउने धम्की समेत दिएका छन् । उनको हर्कत बढ्दै गएको भन्दै नेकपा पार्टी कार्यालयमा समेत तामाङ विरुद्ध उजुरी परेको छ । तीन महिना पहिले नै उजुरी परेपनि त्यसको कुनै सुनुवाई भएको छैन । शक्तिको दुरुपयोग गर्दै तामाङले मच्चाएको अराजक धन्दालाई लिएर पीडितहरुले क्षतिपूर्ति पाँउ भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गरेको भएपनि हालसम्म सुनुवाई नभएको एक पीडितले बताए । नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती पीडितले भने मेरो परिचय सार्वजनिक भयो भने तत्काल समस्या पर्न सक्छ । तर तामाङको ज्यादतीले हामी असाध्यै समस्यामा प¥यौ, कहि कतैबाट पनि सुनुवाई भएन । 

उता बैंक पनि साथी पनि भन्ने नारा दिने एनआइसि एशिया बैंकको विज्ञापनमा चर्को प्रचार भएपनि भित्र भित्र बैंक समस्यामा पर्दै गएको छ । नेपाल राष्ट्र बैंकले सो बैंकको ठूला ऋण सम्बन्धी तीन सय बढी फाइलको सुक्ष्म अध्ययन गरिरहेको छ । गोर्खा फाइनान्सको बाटोमा एनआइसिएशिया बैंक लागेको भन्दै आम निक्षेपकर्ताको निक्षेप जोगाउनका लागि प्रयास थालिएको राष्ट्र बैंकका एक अनुसन्धान अधिकृतले जानकारी दिए । कूल २६८ करोड बराबरको रकममा अनियमितता भएको पाइएको केन्द्रीय बैंकले जनाएको  छ  ।

बैंकको शाखा विस्तार गर्दै जाँदा बैंकका ग्राहक पनि बढेका छन् । तर ग्राहक बढेपनि बैंकले दिने सेवा भने असाध्यै झुर रहेको छ । दैनिक जसो नै बैंकले टे«नीका रुपमा कर्मचारी राख्ने र छाड्ने क्रम पनि उस्तै रहेको छ । भारतमा निर्वाचन हुँदा मारवाडी मार्फत भारतको कालोधन भित्र्याएर केही मात्रामा शेयरको मूल्य बढाएको भएपनि ठूलो मात्रामा रकम अपचलन भएको तथ्य सार्वजनिक भएपछि दोस्रो बजारमा शेयरको मूल्यमा निरन्तर गिरावट भएको छ । बैंक पनि साथी पनि नारा दिने बैंकले निक्षेपकर्तालाई समेत समस्यामा पार्ने गरी हर्कत गरेको र सो विषयमा केन्द्रीय बैंकले छानबिन सुरु गरेको छ । एक एक गरी तीन सय बढी ऋणको फाइलको अध्ययन  भइरहेको र केही फाइलमा गम्भीर समस्या रहेको पाइएको छ ।

मनलाग्दी तवरले ऋण दिइएको, धितोमा समेत कमसल रहेको तथा वित्तीय अनुशासन कायम नभएको पाइएको छ । मारवाडी समुदायको बैंकको रुपमा परिचित एनआइसि एशिया गोर्खा फाइनान्सको दिशामा लागेपछि निक्षेपकर्र्ताले समेत आफ्नो निक्षेप क्रमशः निकाल्न थालेका छन् । त्यसको प्रभाव शेयर बजारमा परेको हो । भारतीय निर्वाचनको क्रममा भित्रिएको पैसाको बलमा शेयर बजारमा केही समय चलखेल भएपनि पछिल्लो दिनमा सो बैंकको शेयर क्रमशः साइजमा आउन थालेको हो । 

उता सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयलाई लिएर सञ्चालकहरुबीच नै लफडा सुरु भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष समेत रहेका शैलेन्द्र गुरागाईले सञ्चालक समिति सदस्यलाई नै गुमराहमा राखेर माछ्रापुच्छ्रे बैंकबाट असफल भएर बाहिरिएका निरज श्रेष्ठलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनाइएकोमा गुरागाईले आपत्ति जनाएका छन् । यस्तै श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गर्दा बढी शेयर भएका मालचन्द्र दुगडलाई समेत जानकारी नदिइएको पाइएको छ ।

वित्तिीय रुपमा समस्या नभएको भएपनि बैंकमा देखिएको खिचातानीले थप समस्या बल्झने देखिएको छ । निरज श्रेष्ठ माछापुच्छ्रे बैंकमा काम गर्न नसकेका कारण कार्यकाल छदा छदै छाडेर हिडेका थिए । कुनै पनि संस्थामा लामो समयसम्म काम गर्न नसक्ने श्रेष्ठले सनराइज बैंकलाई नै समस्यामा पर्ने भन्ने भन्दै गुरागाई दुगडलगायतले आपत्ति जनाएका छन् । 

बैंकमा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले समेत चासो देखाएको छ । चार वर्षका लागि नियुक्त भएका श्रेष्ठ सञ्चालकहरुको दबाव धान्न नसकेपछि १६ महिनामा नै जागिर छाडेर कुलेलाम ठोकेका थिए । बैंकिङ क्यारियर नै धरापमा पार्ने गरी श्रेष्ठले माछापुच्छ्रेलाई बाई बाई गरेका थिए ।

क्षमता नभएका, तीन वटा बैंक तथा वित्तीय संस्थामा कार्यकाल नै पूरा नगरी बाहिरिएका निरजलाई कस्को स्वार्थमा सनराइज बैंकमा ल्याइयो भन्दै सञ्चालकहरुले नै आपत्ति जनाएका छन् । उनीहरुले निरज श्रेष्ठका कारण बैंकमा कुनै पनि प्रकारको समस्या आए, निक्षेपकर्ताले बैंकलाई व्श्विास गर्न छाडे भने त्यसको जवाफ कस्ले दिने भन्दै प्रश्न उठाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बैठकमा मालचन्द्र दुगड उपस्थित थिएनन भने गुरागाईले माइन्यूटमा हस्ताक्षर गरेका छैनन् । प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै आफूले हस्ताक्षर नगरेको गुरागाईको भनाइ छ । त्यस्तै अन्य आधा दर्जन बैंक तथा वित्तीय संस्था समेत समस्यामा परेका छन् । एनसिसि बैंक पनि गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका कारण समस्या परेको छ । बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको स्वार्थका कारण पनि थप जटिलता पैदा भएको बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया