प्रतिपक्षी दलको अवरोधले सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

४ बर्ष अगाडि

कैलाली–प्रतिपक्षी दलका सदस्यको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन भएको छ ।
 प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि राख्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध पारेका हुन् । 

    बैठक प्रारम्भ हुनासाथ काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आआफ्नो आशनबाट उठेर विरोध जनाएका थिए । सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यलाई आफ्नो धारणा राख्न समय माग गर्नुभएको थियो । प्रदेशसभा सदस्य भरतबहादुर खड्काले प्रतिपक्षीको रचनात्मक सहयोग हुँदाहुँदै पनि सरकारले सुनुवाइ नगरी अपारदर्शी ढङ्गले ‘ब्ल्याङ्क’ बजेट ल्याएको, बजेट ल्याउँदा विधि, पद्धति र आर्थिक अनुशासनको खिल्ली उडाएर सदनको अपमान गरेका कारण विरोध गर्नु परेको बताउनुभयो । उहाँले यथास्थितिमा सदन चल्न नसक्ने बताउनुभयो । 

    त्यसपछि प्रतिपक्षी प्रदेशसभा सदस्यले आआफ्नो आशनबाट उठेर विरोध जारी राख्नुभएको थियो । सभामुख थापाले बजेटका सम्बन्धमा सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीले धारणा राख्नुहुने कार्यसूची रहेकाले आफ्नो आशनमा बस्नका लागि पटकपटक आग्रह गर्नुभयो । प्रतिपक्षीको विरोध जारी रहँदा सभामुख थापाले अर्को बैठक असार ८ गते बिहान ८ बजेसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया