शेरबहादुरलाई बचाइदेऊ प्रचण्ड !

ajaako_artha

प्रचण्ड ! पुरानो गुनको बदला तिर्ने सुवर्ण मौका तिमीलाई प्राप्त भएको छ, अहिले देउवालाई बचाइदेऊ र ‘भित्रै’ जानुपरे सँगै जाउँला भन्ने अठोट गरिदेऊ

उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका छन् । भनिन्छ, सत्तरी नाघेपछि मानिस आफ्नो इज्जत–प्रतिष्ठाप्रति ज्यादा संवेदनशील हुन्छन्, यस उमेर समूहका मानिसमा मान–सम्मानप्रतिको लालसा बढेर जान्छ । हुन त कम्युनिस्टहरूले देउवालाई भ्रष्टाचारी प्रमाणित गरेर काराबास पठाउने नियतबाट यस्तो आरोप लगाएको भन्ने बुझिँदैन । ‘वाइडबडी’ विमान खरिदका क्रममा भ्रष्टाचार भएकोले यसमा छानबिन हुनुपर्छ भनी देउवाले संसदमा बोलेको, काङ्ग्रेस सांसदको संयोजकत्वमा गठित संसदीय उपसमितिले चार अर्ब पैंतीस करोड भ्रष्टाचार भएको ठहरसहित त्यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको र यो प्रकरणले सत्तारुढ कम्युनिस्ट पार्टी तथा सरकारलाई रक्षात्मक बनाएको पृष्ठभूमिमा देउवा (पनि) भ्रष्टाचारी हुन् भन्ने प्रचारबाजी शुरु भएको हो ।

कम्युनिस्टहरू भ्रष्टाचारी हुन्छन् भन्ने मान्यता कम्युनिस्टशास्त्रले राख्दैन र कदाचित कुनै कम्युनिस्टबाट भ्रष्टाचार भइहाल्यो भने पनि त्यो ‘जन भ्रष्टाचार’ या ‘क्रान्तिकारी भ्रष्टाचार’ ठान्ने गरिन्छ, अख्तियारको कारबाहीभित्र कम्युनिस्टले गर्ने भ्रष्टाचारलाई पारिँदैन । नेपालका अधिकांश कम्युनिस्ट नेताहरूको जीवनशैली र सम्पत्तिबारे अध्ययन–अनुसन्धान गरियो भने स्रोत पुष्टि हुने सम्पत्तिका मालिक कमै मात्र भेटिन सक्छन् । तर, भ्रष्टाचारको अभियोगमा कुनै कम्युनिस्ट नेतामाथि अहिलेसम्म छानबिन भएको छैन, कारबाहीमा पर्ने त धेरै टाढाको कुरा !

यसपटक ‘वाइडबडी’ विमान खरिद गर्दा करिब साढे चार अर्ब भ्रष्टाचार भएको र त्यसमा नेकपासम्बद्ध मन्त्री र सचिवको नामसमेत अभियोगीमा परेपछि कम्युनिस्ट नेता–कार्यकर्ताहरूले प्रतिष्ठाको विषय बनाएका छन् । अभियोग गलत या सही भएको पुष्टि गर्न अध्ययन–अनुसन्धान गर्नेभन्दा पनि ‘हामीलाई भ्रष्टाचारी भन्ने भए तिमीलाई पनि भ्रष्टाचारी भनिदिन्छौँ’ भन्ने शैलीमा कम्युनिस्टहरू प्रस्तुत भए–भइरहेका छन् । यसरी प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका शीर्षस्थ नेतालाई समेत भ्रष्टाचारको आरोप लगाइदिएपछि आफूहरू चोखिने या अनुसन्धान र कारबाहीको प्रक्रिया शिथिल हुने विश्वासका साथ कम्युनिस्ट पक्षबाट शेरबहादुर देउवालाई निसाना बनाएर प्रहार शुरु भएको बुझ्न सकिन्छ । यसको अर्थ शेरबहादुर स्निग्ध, पारदर्शी, इमानदार र स्वच्छ छन् भन्नेचाहिँ होइन, कानुनी रूपमा भ्रष्टाचारी प्रमाणित हुन बाँकी मानिसहरूको अग्रपङ्क्तिमा देउवा परिवार पर्दैपर्दैन भन्ने ठानिँदैन ।

यद्यपि, शेरबहादुर देउवा राजनीतिक जीवनमा प्रवेश गर्नुअघिदेखि नै मतिभ्रष्ट रहेको भने मानिँदैन । ०४८ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि देउवाको चर्चा मुलुकमा चुलियो र, चिन्नेहरू उनको ‘सिम्प्लिसिटी’ बाट प्रभावित थिए । अत्यन्त साधारण जीवनशैली र युवादेखि वृद्ध सबैसँग मिल्न सक्ने क्षमताका कारण देउवाले राजनीतिक उचाइ प्राप्त गर्ने अनुमान हरकोहीले उतिबेलै गरेका हुन् । तर, उनको यो छवि धेरै लामो समयसम्म टिक्न पाएन । ललितपुरको एकान्तकुनामा जन्मिएकी एक विवादास्पद युवतीसँग ०५१ मा विवाह भएपछि देउवा जनप्रतिनिधिबाट रातारात शासकमा रूपान्तरित हुन पुगे । आरजु राणा नामकी ती युवतीसँगको विवाहपश्चात् देउवाको ‘हाउभाउ’ बेग्लियो, सोच, शैली र पोसाक फेरियो, साँझ र साथी पनि फेरिए । विवाह गर्नुअघि सत्तामा पुगेर पनि शेरबहादुर जनप्रतिनिधिजस्ता साधारण लाग्थे, त्यसपछि सत्तामा नरहँदा पनि उनी शासकजस्ता देखिन थाले ।

देउवालाई देशको सबैभन्दा भ्रष्ट नेता मानिँदैन । सबभन्दा भ्रष्ट देउवा भएको निष्कर्षमा पुग्दा प्रचण्डलाई के ‘उपमा’ दिने भन्ने प्रश्न उठ्न सक्ने अवस्था रहेको र, विपन्नताबाट सम्पन्नतामा प्रवेश गर्न देउवाको आफ्नै क्षमताले काम नगरेकोले पनि उनलाई देशको सबैभन्दा धनाढ्य नेता भन्न बरु उचित होला, तर सबभन्दा भ्रष्ट भनिदिँदाचाहिँ प्रचण्डमाथि धेरै ठूलो अन्याय हुन सक्नेतर्फ विचार पुऱ्याइदिनुपर्छ ।

ठूलो उमेर अन्तर भएकी शिक्षित र चतुर युवतीले घरबासको ठेगान नभएका, प्रस्टसँग आफ्ना कुरासम्म राख्न नसक्ने राजनीतिकर्मीसँग किन विवाह गरेकी होलिन् भन्ने जिज्ञाशा त्यसताक धेरैले राखेका हुन् । त्यसको जवाफ यो साढे दुई दशकमा मिलेको छ । यस अवधिमा शेरबहादुर जनताबाट शासकमा रूपान्तरित मात्र भएनन्, ‘सर्वहारा’बाट सम्भ्रान्तमा सूचीबद्ध पनि हुन पुगे । आरजु, सुजाता र हिसिलाहरू राजनीतिक सतहमा देखापर्नुअघि नेपालका महिला अधिकारकर्मीहरू बारम्बर दाबी प्रस्तुत गरिरहन्थे– ‘पुरुषहरू नीतिनिर्माणको तहमा भएकोले भ्रष्टाचार बढेको हो, महिलाहरू निर्णायक तहमा पुगे भने भ्रष्टाचार हुनेछैन, महिलाले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछन् ।’ तर, अहिले महिला अधिकारकर्मीहरूले त्यस्तो दाबी गर्न छोडेका छन् र, यसरी अधिकारकर्मीहरूको ‘मुखबन्द’ गराउन आरजु राणाले मुख्य ‘योगदान’ पुऱ्याएकी हुन् ।

पच्चीस वर्षअघि आरजु शेरबहादुरसँग विवाह गर्न किन राजी भएकी रहिछिन् भन्ने कुराको जवाफ पनि उनले आफ्नै व्यवहारबाट दिएकी छिन् । एउटा ‘इनोसेन्ट’जस्ता देखिने क्षेत्रीका छोरालाई ‘करप्ट इमेज’ दिन आरजुले दिएको ‘देन’ भविष्यका सबै राजनीतिकर्मीका निम्ति अविष्मरणीय ‘पाठ’का रूपमा रहन सक्छ । यति हुँदाहुँदै पनि देउवालाई देशको सबैभन्दा भ्रष्ट नेता मानिँदैन । सबभन्दा भ्रष्ट देउवा भएको निष्कर्षमा पुग्दा प्रचण्डलाई के ‘उपमा’ दिने भन्ने प्रश्न उठ्न सक्ने अवस्था रहेको र, विपन्नताबाट सम्पन्नतामा प्रवेश गर्न देउवाको आफ्नै क्षमताले काम नगरेकोले पनि उनलाई देशको सबैभन्दा धनाढ्य नेता भन्न बरु उचित होला, तर सबभन्दा भ्रष्ट भनिदिँदाचाहिँ प्रचण्डमाथि धेरै ठूलो अन्याय हुन सक्नेतर्फ विचार पुऱ्याइदिनुपर्छ ।

शेरबहादुर देउवा कम्युनिस्टहरूको प्रत्याक्रमणमा परेपछि उनी नराम्रोसँग छटपटिएका छन् । दोस्रोपटक सभापति र पाँचौँपटक प्रधानमन्त्री बन्ने स्वप्न संसारमा रमाइरहेका देउवा जीवनको उत्तरार्धमा चौकीदार (जेलभित्र कैदीमध्येको प्रशासनमा सबैभन्दा ठूलो ओहोदा) बन्न जानुपर्ने भयले तिलमिलाएका हुन सक्छन् । यस्तो स्थितिमा देउवाको रक्षा गर्ने पालो प्रचण्डको आएको छ । कुनै बेला प्रचण्डहरू महासङ्कटमा रहँदा तीनपटक शेरबहादुर देउवाले उनीहरूको उद्धार गरिदिएका थिए । हिंसात्मक युद्धकालमा दुईपटक र ‘शान्तिपूर्ण ढङ्गले सत्ताकब्जाकाल’मा एकपटक प्रचण्डहरू जीवन–मरणको दोसाँधमा पुगेका थिए र तीनैपटक देउवाले प्रचण्डहरूको ‘रेस्क्यु’ गरेका हुन् ।

घटना नं. १

०५८ मा माओवादीहरू सुरक्षाकर्मीको घेरामा परे र पार्टीका कैयन उच्च तहका नेतासहितको टोली घेराबन्दीमा परेको उक्त घटनालाई ‘होलेरी काण्ड’का नामले बुझिन्छ । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीविरुद्ध सेना परिचालन गर्ने निर्णयका साथ होलेरीमा ‘आवश्यक’ र ‘उचित’ कारबाही गर्न सेनालाई निर्देशन दियो । त्यसताक माओवादीले गिरिजाविरुद्ध शेरबहादुरलाई उपयोग गर्ने कार्यनीति अपनाएका थिए र उनीहरू नियमित सम्पर्कमा रहन्थे । होलेरीमा माओवादीको उच्च तहसमेत घेरामा परेपछि माओवादीले शेरबहादुरलाई सम्पर्क गरी ‘जसरी भए पनि सेना फिर्ता गराइदिन’ आग्रह गरे ।

देउवाको रक्षा गर्ने पालो प्रचण्डको आएको छ । कुनै बेला प्रचण्डहरू महासङ्कटमा रहँदा तीनपटक शेरबहादुर देउवाले उनीहरूको उद्धार गरिदिएका थिए । हिंसात्मक युद्धकालमा दुईपटक र ‘शान्तिपूर्ण ढङ्गले सत्ताकब्जाकाल’मा एकपटक प्रचण्डहरू जीवन–मरणको दोसाँधमा पुगेका थिए र तीनैपटक देउवाले प्रचण्डहरूको ‘रेस्क्यु’ गरेका हुन् ।

घटना नंं. २

यसरी आग्रह गर्दा प्रचण्डहरूले देउवालाई ‘अहिले सहयोग गरिदिनुहोस्, हामी तपाईं प्रधानमन्त्री बन्ने वातावरण बनाउँछौँ र तपाईं प्रधानमन्त्री बनिसकेपछि युद्धविराम गरी संवादमार्फत सम्झौतामा आउँछौँ, हामीसँग कुरा मिलाएपछि तपाईंलाई पनि ‘क्रेडिट’ जान्छ, मिलेर काम गरौँला’ भने र माओवादीको यस्तो कुरा देउवालाई खुव मन पऱ्यो । यो घटना हुनुभन्दा केही महिना अघि (२०५७ सालमा) देउवाले गिरिजाप्रसाद कोइरालाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव प्रस्तुत गर्दा माओवादीले देउवालाई आश्चर्यजनक ढङ्गले सहयोग गरेका थिए । (जसको चर्चा विस्तारपूर्वक अर्कै सन्दर्भमा गरिनेछ) माओवादीले त्यसरी सहयोग मागेपछि देउवा र निजकी पत्नी आरजुले राजदरबारमा सैन्यसचिव रहिसकेका शान्तकुमार मल्लसँग सम्पर्क गरी कुराकानी गरे ।

मल्ल, नातामा आरजुका मामा पर्छन् र उनीहरूबीच सधैं सुमधुर सम्बन्ध रहिआएको छ । भान्जी र ज्वाइँको कुरा सुनेपछि मल्लले कोसँग कुरा गरे कुन्नि ! केही बेरमै होलेरीबाट सेना फर्काउन आदेश गयो । यता गिरिजाप्रसाद ‘माओवादी घेरामा परेको र सेनाले अब शक्तिशाली कारबाही गर्छ’ भन्दै थिए, उता सेना फर्किसकेको थियो । सेना फर्किएपछि माओवादी पनि आ–आफ्नो बाटो लागे । यही होलेरी काण्डले सत्ता–राजनीतिमा हलचल पैदा गऱ्यो र तात्कालिक राजासँग खटपट पैदा भएपछि गिरिजाप्रसादले प्रधानमन्त्री पदबाट (२०५८ साउन पहिलो साता) राजीनामा दिएका थिए । देउवाको सहयोग नरहेको भए माओवादीको हिंसात्मक सङ्घर्षमा त्यतिबेलै पूर्णविराम लाग्ने निश्चितप्रायः थियो ।

होलेरी काण्डमा राजासँग विवाद उत्पन्न भएर गिरिजाप्रसादले राजीनामा दिएपछि शेरबहादुर देउवा दोस्रोपटक मुलुकको प्रधानमन्त्री बने । देउवा प्रधानमन्त्री बनेसँगै माओवादीले युद्धविराम गरी संवाद र सम्झौतामा आउने भन्ने चर्चा राजनीतिक वृत्तमा शुरु भयो । माओवादीले हिंसात्मक युद्ध शुरु गरेको पाँच वर्ष नाघिसक्दा नसक्दै उनीहरूभित्र निराशा बढ्दो थियो । शक्ति सञ्चय र घातक आक्रमणको योजनामा उनीहरू सफल हुन सकेका थिएनन् । दुईजना प्रहरीसँग भिड्न पनि रात पर्खनुपर्ने र एक्लिएको मौका पार्नुपर्ने अवस्थामा उनीहरू थिए । त्यसैले प्रचण्डहरू सुरक्षाकर्मीभन्दा पत्रकार, शिक्षक, विपक्षी पार्टीका कार्यकर्तालगायतको हत्या गरेर आफ्नो ‘प्रिजेन्स’ देखाउँदै थिए ।

माओवादीहरू शक्ति सञ्चय गरी भयानक आक्रमणको योजनामा भएको हेक्का देउवालाई भएन । युद्धविराम गरी वार्तामा जाने, प्रतिक्रियावादी राज्यसत्तालाई ‘केमोफ्ल्यास’ गर्ने, त्यस अवधिमै नयाँ–नयाँ सेल्टर तथा सम्पर्कको विकास गर्ने, नगद सङ्ग्रह गर्ने, गुरिल्ला तालिम सञ्चालन गर्ने, सूचनाका स्रोतहरू सुदृढ बनाउने, हातहतियारहरू सङ्कलन गर्ने र ठूलै हमलाको तयारी गर्ने माओवादी चालबाजीलाई देउवाले बुझेनन्, बुझ्न खोजेनन् र देउवामा यो तहको राजनीति बुझ्ने क्षमता रहेको पनि मानिँदैन । माओवादीलाई संवाद र सहमतिमा ल्याएर आफू ‘हिरो’ बन्ने कल्पनामा सायद देउवा थिए । माओवादीसँग संवाद मात्र शुरु गर्दा पनि हिजोसम्म माओवादीलाई खाना खुवाउनुपर्ला भनेर ढोकामा आग्लो लगाएर बस्नेहरूले ‘यी त कुनै पनि बेला शासनमा पुग्ने रहेछन्’ भन्ने ठानेर बोलाई–बोलाई खाना खुवाउने र सेल्टर दिने, ज्यान पाल्नका लागि जागिर खाएकाहरूले राज्य संयन्त्रभित्रका संवेदनशील सूचनाहरू माओवादीसम्म पुऱ्याएर निजी भविष्य सुरक्षित तुल्याउने, त्यही अवधिभित्र नयाँ–नयाँ हातहतियार भित्र्याइने तथा खतर्नाक आक्रमणको तयारी हुने कुराको अनुमान–विश्लेषण देउवाले गर्न सकेनन्–खोजेनन् ।

प्रधानमन्त्री बनेलगत्तै देउवा र माओवादीले तीनमहिने युद्धविरामको घोषणा गरे । देउवाको सरकार त्यसपछि ‘वार्ता सफल’ बनाउने काममा केन्द्रित भयो, प्रचण्डहरूचाहिँ वार्ताको स्वाङ रचेर बेग्लै तयारमिा लागे । युद्धविराम गर्नुअघि हतियार बोकेको एउटा प्रहरी जवान देख्दा भाग्ने माओवादीहरू युद्धविराम भङ्ग (२०५८ मङ्सिर ८) गर्दै सेनाको ब्यारेकमै हमला (दाङ) गरेर हतियार लुट्न सक्ने हैसियतमा पुगे । जीर्ण बनिसकेको माओवादीलाई ऊर्जा भर्ने कार्यमा शेरबहादुर देउवाले यसरी सहयोग पुऱ्याएका थिए । यदि त्यसबेला देउवाले प्रचण्डहरूलाई सहयोग नपुऱ्याएको भए माओवादी सङ्घर्ष रोल्पा–रुकुमको जङ्गल–कन्दरामा लाग्ने डढेलोबाट नै नामेट हुन सम्भव थियो ।

स्थानीय निर्वाचनमा माओवादीसँग काङ्ग्रेसले चुनावी गठबन्धन नगरेको भए संसदीय निर्वाचनमा एमालेले माओवादीसँग एकता गर्ने सम्भावना पनि नरहन सक्थ्यो । देउवाले अवलम्बन गरेको नीतिकै परिणामका रूपमा एकताबद्ध कम्युनिस्टलाई देशले व्यहोर्नुपरेको छ र विघटनको बाटो लिइसकेको माओवादीले पुनर्जीवन प्राप्त गरेको हो ।

घटना नं. ३

०७० मा सम्पन्न संविधानसभाको (दोस्रो) निर्वाचन परिणामले प्रचण्डलाई आफ्नो वास्तविक औकात देखाइदियो । दुई सय चालीस निर्वाचन क्षेत्रमा दुई दर्जनभन्दा केही बढी (सम्भवतः २७) स्थानमा मात्र माओवादी विजयी बनेको थियो र, यो पराजयसँगै नेपाली राजनीतिमा माओवादीको भूमिका रक्षात्मक अवस्थामा पुगेको हो । चुनावी परिणामले प्रचण्डहरूलाई चरम निराशाको स्थितिमा पुऱ्याएको थियो । त्यसपछि काङ्ग्रेस–एमालेबीच भएको सहकार्यले माओवादीलाई किनारमा पुऱ्याइदिएको भए पनि सुशील कोइरालाको हठ (प्रधानमन्त्रीमा चुनाव लड्ने) का कारण दुई मुख्य दलहरूबीचको सहकार्यमा विराम लाग्यो । केपी ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादीलाई पनि छेउ–कुनातिर स्पेस दिनुपर्ने अवस्था सिर्जना भयो ।

तड्पिएर आफ्नो अगाडिको यात्रासमेत ठम्याउन नसक्ने अवस्थामा पुगेका माओवादीले अचानक सरकारको छेउछाउमा ठाउँ पाउँदा तिनलाई मरुभूमिमा शीतले राहत दिएजस्तो महसुस गराएको थियो । तर, केपी ओली नेतृत्वको सरकारमा रहँदा पनि माओवादीको आयतन बढ्ने स्थिति देखा परिरहेको थिएन । आमनिर्वाचन (२०७४) मा माओवादीले प्रत्यक्षतर्फ बढीमा सात स्थानमा मात्र विजय हात पार्न सक्ने विश्लेषण हुन थालेको थियो । त्यस्तो समयमा शेरबहादुर देउवाले केपी ओलीबाट छुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिए ।

प्रचण्डलाई सरकारप्रमुख बनाएपछि नै माओवादीमा पुनः रक्तप्रवाह शुरु भएको हो, स्थानीय तहको निर्वाचनमा माओवादी उम्मेदवारलाई मतदान गर्न शेरबहादुरले काङ्ग्रेसका कार्यकर्तालाई बाध्य पारे । भरतपुरजस्तो रणनीतिक महत्वको महानगरमा प्रचण्डकै छोरीलाई लगेर स्थापित गरिदिने काम देउवाले गरिदिए । आखिर त्यही जगमा प्रचण्ड चितवनबाट प्रतिनिधिसभामा विजयी बन्ने हैसियत बनाउन सफल भएका हुन् । यसरी ०७० को निर्वाचनले रुग्ण तुल्याएको माओवादी (जुन त्यसपछिको निर्वाचनमा समाप्तप्रायः हुने अवस्थामा थिए) लाई पुनर्जीवन दिने काम शेरबहादुर देउवाबाट भयो । स्थानीय निर्वाचनमा माओवादीसँग काङ्ग्रेसले चुनावी गठबन्धन नगरेको भए संसदीय निर्वाचनमा एमालेले माओवादीसँग एकता गर्ने सम्भावना पनि नरहन सक्थ्यो । देउवाले अवलम्बन गरेको नीतिकै परिणामका रूपमा एकताबद्ध कम्युनिस्टलाई देशले व्यहोर्नुपरेको छ र विघटनको बाटो लिइसकेको माओवादीले पुनर्जीवन प्राप्त गरेको हो ।

यसरी शेरबहादुर देउवाले तीन गम्भीर सङ्कटको अवस्थामा विशेष सहयोग पुऱ्याएकोले यसपटक देउवामाथि ‘सङ्कट आइपर्दा’ उनलाई प्रचण्डले ‘बचाइदिनुपर्ने’ अपेक्षा राखिएको छ भने त्यो गलत भए पनि अस्वाभाविकचाहिँ होइन । फेरि भ्रष्टहरूको संसारमा आफू बाहिर बसेर आफूभन्दा कनिष्ट देउवाहरूलाई मात्र ‘भित्र’ पठाउनु प्रचण्डका निम्ति शोभनीय र सराहनीय कर्म नठहरिन पनि सक्छ । ‘गृहलक्ष्मी’को कृपाबाट जतिसुकै कमाइ गरेको भए पनि शेरबहादुर देउवाले प्रचण्डलाई उछिन्न सकेको ठानिँदैन । आफूभन्दा सानाको रक्षा गर्नु सबै ठूलाहरूको कर्तव्य पनि हो, त्यसैले प्रचण्ड, पुरानो गुनको बदला तिर्ने सुवर्ण मौका तिमीलाई प्राप्त भएको छ, अहिले देउवालाई बचाइदेऊ र ‘भित्रै’ जानुपरे सँगै जाउँला भन्ने अठोट गरिदेऊ । त्यति गऱ्यौ भने भ्रष्टहरूको राजले अझै केही समय निरन्तरता पाउन सक्छ र प्रचण्ड सकारात्मक संसारमा ‘अनफिट’ भए पनि नकारात्मक संसारका इमानदार मानिस भएको सन्देश पनि जानेछ, यो एक सामान्य नागरिकको सुझाव मात्र हो, बाँकी प्रचण्डकै मर्जी । (घटना र विचारमा देवप्रकाश त्रिपाठीको लेख)  ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१