अविवाहित छोरीको बच्चा माइतीको जिम्मा लगाउने चलन

४ बर्ष अगाडि

हुम्ला–अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ । 

“विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो । दुःखजिलो गरेर बसेकी छु”, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन् । बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ । 
त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी ? प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्छिन्, “अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ”
धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ । तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उनले बताइन् ।
तामाङजस्तै ३५ वर्ष उमेर पुगेकी लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उनको व्यवस्था राम्रै छ । 
लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी बताए । गोरखापत्र दैनिकमा यो खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया