कसरी कम गर्ने विषादीको असर ?

४ बर्ष अगाडि

काठमाडौँ- कस्तो तरकारी किन्नुहुन्छ ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् । ‘तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ । बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔं, खानै परे नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खाऔं,’ उनले भने, ‘नुनपानीको घोलले धेरैजसो विष सोस्छ ।’

विषादी, रासायनिक मल आदिको अनियमित, अनियन्त्रित र अवैज्ञानिक उपयोगबाट उमारिएका सागसब्जीको दीर्घकालीन उपयोगले क्यान्सरलगायत विभिन्न नसर्ने रोग लाग्छन् । शरीरको रोग प्रतिरोधक क्षमता प्रभावित गराउँछन् ।
पालक, गोलभेंडा, बैगुन, भेडे खुर्सानी, काउली, बन्दा, लौका, सागलगायत तरकारीमा विषादी बढी हुन सक्छन् । बेमौसमी तरकारीमा रोग, किरा बढी लाग्ने भएकाले किसानले धेरै मात्रामा विषादी छर्ने गरेको पाइएको छ । ‘बजारमा राखिएको गोलभेंडा बाहिर सेतोसेतो दाग देखियो भने त्यो एक–दुई दिनअघि विषादी हालेर बेच्न ल्याइएको बुझ्नुपर्छ । सीमापारिबाट आएको भन्टालाई टल्किने र लामो समयसम्म ताजा राख्न विषादीको झोलमा डुबाइएको हुन्छ,’ विज्ञ भन्छन्, ‘यस्ता भन्टा नखानु नै राम्रो ।’ रायोलगायतका सागमा पनि डाएथेन–४५ फंगिसाइडको झोल हालिएको हुन्छ ।कान्तिपुर दैनिकाम खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया