कर्मचारी समायोजन,२५ हजार गुनासो छानबिनसँगै सकियो प्रक्रिया

४ बर्ष अगाडि

काठमाडौं ।  २५ हजार कर्मचारीको गुनासो छानबिनसँगै कर्मचारी समायोजनको काम औपचारिक रूपमा सम्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ९९ हजार ५७२ कर्मचारीको समायोजनको काम औपचारिक रूपमा सम्पन्न भएको हो । समायोजनप्रति असन्तुष्टि जनाउँदै २४ हजार ९२० जना कर्मचारीले गुनासो दर्ता गराएका थिए । मन्त्रालयले यस सम्बन्धमा छानबिन गरी १५ हजार ६५९ को गुनासो सम्बोधन गरिएको बताएको छ । ९ हजार २६१ को गुनासो भने सम्बोधन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । गुनासो सम्बोधनसँगै समायोजनको सम्पूर्ण प्रक्रिया टुंगिएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालका अनुसार मन्त्रालयका तर्फबाट समायोजनका सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेका छन् ।

मुख्य सचिवदेखि सम्पूर्ण कर्मचारीको समायोजन सम्पन्न भएको हो । स्वास्थ्यतर्फका कर्मचारीको समायोजन पत्र वितरण स्वास्थ्य मन्त्रालयबाट भइरहेको छ ।सरकारले पहिलोपटक सफ्टवेयरमार्फत समायोजन गरेको थियो । समायोजन सुरु भएसँगै कर्मचारीहरूले समायोजन कर्मचारीको भावनाविपरीत रहेको तथा समायोजनबाट मर्कामा परेको गुनासो गर्दै आएका थिए ।
मन्त्रालयका अनुसार ४९ हजार ५३३ संघमा, १३ हजार ७९० प्रदेशमा र ३१ हजार ७०८ जनाको समायोजन स्थानीय तहमा भएको छ ।
मन्त्रालयले कर्मचारी समायोजन तथा संगठन विकास महाशाखामार्फत समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन सम्पन्न भएसँगै महाशाखा औपचारिक रूपमा मंगलबारबाट विघटन भएको छ । महाशाखा विघटन भएसँगै महाशाखा प्रमुख केदार पनेरुलाई सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको योजना तथा विकास महाशाखामा जिम्मेवारी दिइएको छ । पनेरुका अनुसार समायोजनपछि बाँकी रहेका काम प्रशासन सुधार महाशाखामार्फत गरिनेछ ।

सहसचिव पनेरुका अनुसार समायोजन सुरु भएपछि सोप्रति असन्तुष्टि जनाउँदै निजामतीतर्फ १२ हजार ६१४ वटा उजुरी परेका थिए । यसमध्ये ६ हजार ९०५ उजुरी सम्बोधन भएको सहसचिव पनेरुले जानकारी दिए । बाँकी ५ हजार ७०९ गुनासा भने सम्बोधन गर्नु नपर्ने प्रकृतिका रहेको पनेरुले बताए ।राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया