नेपाल भ्रमण वर्षको नाममा सरकारी स्रोतको दुरुपयोग हुँदै

४ बर्ष अगाडि

काठमाडौं – नेपाल भ्रमण वर्षको बजेट मनलाग्दी तवरले खर्च गर्ने तयारी गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले मनलाग्दी तवरले सरकारी स्रोत खर्च गर्ने योजना बनाएको छ ।

सरकारले नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिसकेको छ । त्यसमा संयोजक रहेका छन् व्यापारी सुरज वैद्य ।

सचिवालयका कामले भ्रमण वर्ष सफल बनाउनेभन्दा पनि विनियोजित बजेट कसरी छिटो छिटो सक्ने भन्ने ध्याउन्नमै केन्द्रित भएको पाइएको छ । त्यसले आर्थिक अपचलन हुने सम्भावना बढी रहेको देखाएको छ ।

सचिवालयले यस वर्षको खर्चमा भ्रमण वर्ष प्रवर्धनका लागि कार्यक्रम  शिर्षकमा करिब ७२ प्रतिशत रकम छुट्ट्याए पनि  खुद्रे कार्यक्रमकै बाहुल्य देखिएको छ । त्यसको अर्थ भनेको मनलाग्दी रकम खर्च गर्ने नै हो ।

भ्रमण वर्षको प्रचार प्रसारदेखि पर्यटन लगानी सम्मेलनको आयोजन  र सगरमाथा सरसफाइदेखि न्युजलेटर प्रकाशनसहित घरको रंग रोगनसम्म समेटिएका छन् ।  ती खास अर्थ नराख्ने कार्यक्रम हुन् ।

त्यसबाट नेपालको पर्यटन  प्रवर्धन हुनेमा स्वयं व्यवसायीहरु नै विश्वस्त छैनन् । सचिवालयले मध्य असारसम्म करिब रु ६ करोड खर्च गर्न विभिन्न व्यक्ति तथा संस्थाहरुसँग सम्झौता गरिसकेको छ । असार मसान्तसम्म बाँकी रकम पनि सकिने छ । गत महिना प्रस्तुत बजेटमा आगामी वर्षका लागि पनि रु १० करोड बजेट  विनियोजन गरिएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वाधार, नयाँ गन्तव्य पहिचान र प्रवर्द्धन लगायतका योजनाले गति लिन नसकिरहेका बेला नेपाल भ्रमण वर्षका लागि छुट्टै निकाय खडा गरेर खर्च गरिए पनि आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो हुनु भनेको परिणामप्रति आशंका गर्ने आधार प्रशस्त रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया