भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन

४ बर्ष अगाडि

– हिमलाल पराजुली
स्याङ्जा – वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । 

चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्ने गर्छ । भारतीय सेनामा ७ वर्ष बिताउनुभएका खाँण अहिले बाख्रापालन व्यवसायमा  रमाइरहनु भएको छ । भारतीय सेनामा काम गरेर अवकाश लिएका उहाँले लण्डनमा ७ वर्ष बिताउनुभयो । स्वदेश फर्केर केही समय ठेक्कापट्टाको काम गर्नुभयो । त्यसलाई पनि छाडेर २०७० सालदेखि १० लाख रुपैयाँ लगानी गरेर ३० वटा बाख्राबाट बाख्रापालन व्यवसाय शुरु गर्नुभयो खाँणले । अहिले उहाँको फार्ममा झण्डै १०० माउ बाख्रा र ५० पाठापाठी छन् । बाख्राका लागि चार रोपनी जमीनमा खोर बनाउनुभएको छ भने ६० रोपनी जमीनमा बाख्राका लागि आवश्यक पर्ने डाले घाँस लगाउनुभएको छ । 

खाँणको फार्ममा अष्ट्रेलियन र अफ्रिकी जातका ८० प्रतिशत बोयर बाख्रा रहेका छन् । महीनामा ८० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने गरे पनि बजारको समस्या रहेको उहाँले बताउनुभयो । 

त्यसैगरी, वालिङ नगरपालिका–१० ढकाल डाँडाका ४२ वर्षीय रुकमांगत ढकालले २०७४ साल कात्तिकदेखि रु ३ लाखको लगानीमा २० वटा बाख्राबाट यो व्यवसाय शुरु गर्नुभएको हो र अहिले उहाँको फार्ममा ५६ वटा बाख्रा छन् । वैदेशिक रोजगारीमा १९ वर्ष बिताउनुभएका ढकालले विदेशमा सोचे जस्तोे कमाइ नभएपछि आफ्नै गाउँघरमा फर्किएर बाख्रापालन थालेको बताउनुभयो । 

ढकालले भन्नुभयो – “विदेशमा गर्ने दुःख यहीँ गर्दा राम्रो आम्दानी लिन सकिँदो रहेछ । अहिले मैले एक वर्षमा ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेको छु । आम्दानी अझै बढी लिन सकिने थियो तर, हामीले उत्पादन गरेका खसीबोकाको राम्रो भाउ पाइँदैन । मूल्य एउटै छ,  खसीबोकाको लागि खुवाउने दानाको भने वर्षै पिच्छे मूल्य बढ्छ ।” उहाँका अनुसार बाख्रालाई समय समयमा पी पी आर खोरेतको सूई लगाउने गरेमा कुनै समस्या आउँदैन । 

भीरकोट नगरपालिका–८ ओकादीका कृषक चोकबहादुर गुरुङको फार्ममा अहिले ६५ वटा बाख्रा छन् । विसं २०७१ मा ६ वटा बाख्राबाट उहाँले यो व्यवसाय शुरु गर्नुभएको हो । स्वीट्जरल्याण्डको सानन जातको बाख्रा पाल्दैआउनु उहाँ सोही गाउँका दिलबहादुर गुरुङ मिलेर बाख्राको दूधबाट चिज उत्पादन गर्ने र साबुन बनाउने तयारीमा लाग्नुभएको छ । विसं २०७० देखि  १२ वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका दिल बहादुरका ६८ वटा बाख्रा भए । गुरुङ द्वय बाख्रापालनलाई उद्योगका रुपमा सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । सानन जातको बाख्राले राम्रो दूध दिने भएकाले भदौ महीनादेखि दूधबाट नुहाउने साबुन बनाएर बिक्री गर्ने योजनामा रहेको उहाँहरुले बताउनुभयो । अहिले वर्षमा पाँच÷छ लाख रुपैयाँ कमाइ भए पनि उद्योग सञ्चालनमा आएपछि राम्रो आम्दानी लिन सकिने चोक बहादुर आशावादी हुनुहुन्छ । 

वालिङ नगरपालिका–१४ माथिल्लो पेखुका ४७ वर्षीय जीवन खाँणले पनि २०६९ सालदेखि ५० हजार रुपैयाँको लगानीमा बाख्रा पाल्न शुरु गर्नुभयो र अहिले उहाँको वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म पुग्छ । बोयर जातको बाख्रा पाल्दैआउनु भएका खाँणले वास्तविक किसानले सहज रुपमा सेवा सुविधा नपाएको र टाठाबाठाले मात्रै पाउँदैआएको गुनासो गर्नुभयो ।     
वालिङ नगरपालिका–६ की सीता भण्डारीले दुई वर्षदेखि बाख्रापालन व्यवसायबाट हुने आम्दानीबाटै घर खर्च चलाउँदै आउनुभएको छ । खेतीकिसानी सँगसँगै पनि यो व्यवसाय गर्न सकिने भएकाले आफूले खेतबारीको कामसँगै बाख्रा पाल्दै आएको उहाँले बताउनुभयो । उहाँको वर्षमा डेढ÷दुई लाख आम्दानी हुन्छ ।

बाख्रापालन व्यवसायमा लागेकाहरु अधिकाँश वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् । बाख्रापालन गर्न चाहने युवाका लागि नमूना बाख्रा गाउँ अभियान प्रेरणाको स्रोत बनेको छ । बाख्रापालन गर्छु भन्ने युवालाई नमूना बाख्रा गाउँ अभियानले प्राविधिक सहयोगका साथै तालीम र निःशुल्क परामर्श समेत प्रदान गर्दैआएको छ । बाख्रा गाउँ अभियान स्याङ्जाका अध्यक्ष तथा कृषि सेवा केन्द्र दहथुमका प्रमुख सुशील अर्यालले जिल्लामा १२९ जना युवकले फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन गर्दैआएका जानकारी दिनुभयो । 

४ बर्ष अगाडि

प्रतिक्रिया