धराशयी बन्दै वायुसेवा निगम, १३ जहाजमध्ये सातमात्रै उड्छन्

४ बर्ष अगाडि

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन। घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ। निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार निगमसँग भएका १३ वटा जहाजमध्ये सातवटाले मात्र उडान भरिरहेका छन्। ‘पाइलट अभाव र केहीको जारी मर्मतमा भएका कारण ६ वडा जहाजले उडान भरेका छैनन्,’ चन्दले भने। निगमले पाइलट व्यवस्थापन गर्न नसक्दा जहाज थन्किएका छन्। ‘पाइलट व्यवस्थापन गर्ने प्रयास गर्दैछौं,’ चन्दले भने। निगमले वाइड बडी खरिद गरेर ल्याए पनि नयाँ गन्तव्य विस्तार गर्न सकेको छैन। निगमले हाल ४४ आन्तरिक र २२ बाह्य गरी ६६ गन्तव्य स्थानमा उडान भर्दै आएको छ। निगमका उच्च अधिकारीमाथि निजी क्षेत्रका विमान कम्पनीलाई फाइदा पुग्नेगरी काम गर्दै आएको आरोप छ।
निगम प्रतिस्पर्धी बन्न नसक्दा विदेशी कम्पनीलाई रणनीतिक साझेदार बनाएर ल्याउने तयारी गरेको छ। अहिलेको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी नभएपछि व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ। कार्यकारी अध्यक्ष खरेलले पनि विदेशी व्यावसायिक साझेदार ल्याउने योजना रहेको बताउँदै आएका छन्। यहाँ निजी कम्पनीले धमाधम जहाज थपेर व्यवसाय विस्तार गरिरहेको भए पनि अन्तर्राष्ट्रिय मात्र नभएर आन्तरिक उडानमा पनि नेपाल एयरलाइन्स कमजोर छ। नागरिक दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया