तरकारीमा उपभोक्ताको ढाड सेकिएपछि एकाबिहानै कालीमाटी पुग्यो विभाग

४ बर्ष अगाडि

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारमा छापा मारेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज शुक्रबार बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो ।अनुगमनका लागि दुई टोली खटिएको थियो । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको विभागको भनाइ छ ।

गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छा निकै महंगो बनेको छ ।

सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको छैन ।बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहन्छन । ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको विभागले जनाएको छ । खरीद गरिएको बिलबिजक, भरपाई  तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिएको छ ।

अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ ।  बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया