सडक पुगे पनि हवाई यात्रामा उस्तै चाप , सडक सञ्जालमा पुल निर्माण नभएकाले सास्ती

४ बर्ष अगाडि

डोल्पा – डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा भने कमी आएको छैन । 

जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताउनुभयो । 

जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी कटान सकिए पनि सडकको स्तरोन्नति र पुल निर्माण नभएकाले हवाईमाध्यमबाट यात्रा गर्नेको सङ्ख्य दैनिक बढिरहेको छ । औषधि, अन्य सामग्रीसमेत जहाजमार्फत नै ढुवानी हुँदै आएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रतिनिधि बालकृष्ण डाँगीले बताउनुभयो । 

मौसम राम्रो हुनेबित्तिकै दैनिक तीन वटाभन्दा बढी उडान भर्ने गरेको नेपाल वायु सेवा निगमका जुफाल स्टेशन इञ्चार्ज सुमन विसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी, औषधि र आवश्यक काम सबै हवाईमाध्यमबाट हुने गरेको छ ।” सडक सञ्जालमा पुल निर्माण नभएका कारण सास्ती भोग्ने र दुःख पाउने भएपछि डोल्पा जाने र आउने यात्रु हवार्ईमार्गमार्फत यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोेलामा पानीको मात्रा बढेका कारण ठाउँ, ठाउँमा यातायातका साधन फेर्नुपर्ने बाध्यताले गर्दा थप समस्या भएको डोल्पा ठूलीभेरी नगरपालिका– ६ का लक्ष्मीचन्द्र कार्कीले बताउनुभयो । 

जाजरकोट–डोल्पा सडकखण्डमा एक दर्जन पुल निर्माण गर्न बाँकी छ । डोल्पा आउने अधिकांश पर्यटक हवाईमार्गमार्फत नै आउने गरेका छन् । त्रिपुरासुन्दरी दर्शनदेखि उपल्लो डोल्पा, शे–फोक्सुण्डोमा जाने पर्यटक सबै हवाईमार्गमार्फत आउने गर्दछन् । जुफाल विमानस्थल स्तरोन्नतिको काम सम्पन्न भए पनि अहिले यात्रा थप सजिलो भएको छ । जुफाल विमानस्थलमा एक्स–रे मेसिन नहुँदा सुरक्षा जाँचमा समस्या भएको विमानस्थलका सुरक्षा प्रमुख कमल शाहले बताउनुभयो । 

हातले छामेर, हेरेर दैनिक हवाईमार्गमार्फत पठाउने सामग्रीको जाँच हुँदै आएको छ । यसले सुरक्षा चुनौती भएको उहाँको भनाइ छ । डोल्पाबाट नेपालगञ्जका लागि रु पाँच हजार ११० हवाई भाडा लाग्ने गर्दछ । यातायातका साधनमा यात्रा गर्दा नेपालगञ्जबाट डोल्पा आउन रु पाँच हजारभन्दा बढी लाग्ने गरेको प्रचण्डविक्रम शाहीले बताउनुभयो । दश ठाउँभन्दा बढी स्थानमा यातायातका साधन बदल्नुपर्ने बाध्यता भएको शाहीले बताउनुभयो । 

जुफालबाट दुनै जानका लागि रुपगाड खोलाको पुल नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् । जहाजको टिकट पाउनका लागि पनि ठूलै युद्ध जिते झैँ हुने गरेको उहाँले बताउनुभयो । सरकारले यो आर्थिक वर्षमा यो सडक खण्डको स्तरोन्नति र पुल निर्माणका लागि विशेष पहल गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । पहिलो चरणमा ट्र्याक खोल्ने काम पूरा भएको छ, अब स्तरोन्नति र पुल निर्माणमा ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो । 

आज नै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले सडक अनुगमन गर्नुभएको छ । उता सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले सडकको काम जारी रहेको बताउनुभयो । 
रासस

४ बर्ष अगाडि

प्रतिक्रिया