विप्लव नेकपाले समातेको बाटो नै गलत छ, सरकारले अब औपचारिक वार्ताको पहल गर्नुपर्छ : ज्ञवाली

४ बर्ष अगाडि

काठमाडौं। कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विप्लवीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिए । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । 
ज्ञवालीले नेपालको संविधान धेरै राम्रो भएको सुनाउँदै आवश्यक परे परिमाजर्न गर्न सकिने पनि धारणा राखे । उनले अहिले तीन वटै केन्द्रमा नेकपाको सरकार रहेकोले अब मिलेर देश बनाउनुपर्नेमा जोड दिए । सरकार सञ्चालनमा कमिकमजोरी रहेको स्विकार्दै यसलाई सच्याउनुपर्ने उनको जोड छ । 
ज्ञवालीले सरकारले ल्याएको बजेट धेरै राम्रो रहेको सुनाउँदै यसलाई कार्यान्वयनमा लाग्नुपर्ने सुनाए । सरकारले यो एक वर्षको अवधिमा धेरै राम्रो काम गरेको उनको दाबी छ । उनले भने,‘नियम, कानून बनाएको छ। लोककल्याणकारी काम गरेको छ ।’
उनले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यक नरहेको जिकिर गरे । उनले थपे,‘जनता हिंसा चाहँदैनन् । हामी अब समाजवादी बाटोमा अघि बढिरहेका छौं । त्यसैले लोकतान्त्रिक बाटो र शान्तिको विकल्प छैन् ।’
ज्ञवालीले विप्लव नेकपाले समातेको बाटो नै गलत रहेको दाबी गरे । उनले भने,‘उहाँहरुले लिएका एजेण्डा बेठिक छन् । उहाँहरुका खास केही एजेण्डा नै छैनन् । त्यसैले तपाईहरु शान्तिपूर्ण रुपमा राजनीतिमा आउनुहोस् ।’ सरकारले विप्लवसँग अनौपचारिक छलफल गरिरहेकोले अब औपचारिक छलफल नै गर्नुपर्ने पनि उनले सुझाए । 
उनले भने,‘विप्लव समूहले अब हिंसाको बाटो छोड्नुपर्छ । नेपालमा बाहृय शक्तिले नेपालमा द्धन्द्धलाई उपयोग गरेर खेल्न लागिपरेका छन् । कतिपय हतियारका व्यापारीहरु नेपालमा एक आपसमा लडाउन खोजिरहेका छन् । हामी सबै सचेत हुनुपर्छ ।’
त्यस्तै, कार्यक्रममा जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्लेले वर्तमान सरकारका कारण मुलुक समाजवादी गन्तव्यमा पुग्न नसक्ने दाबी गरे । उनले भने,‘यो सरकारले मुलुकलाई समाजवादी बाटोतर्फ लैजान सक्दैन् । प्रधानमन्त्री ओलीले झुक्याउने र झुक्किने नाटक गर्नुभयो । अब हामीले टिभीमा सिरियल हेर्नुपर्दैन् ।’
उनले वर्तमान सरकारलाई सुतेर बसेको स्यालको संज्ञा दिए । सरकार र विप्लवबीचको वार्ता पारदर्शी हुनुपर्ने उनको माग छ । उनले भने,‘मुलुकलाई अब धेरै द्वन्द्वमा नधकेलौं । सरकार र विप्लवबीचको वार्ता जनतालाई थाहा हुनुपर्छ । लेनदेन जनताले थाहा पाउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’
कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बोर्ण बहादुर कार्कीले देश अहिले धेरै जटिल अवस्थामा रहेको सुनाए । उनले भने,‘कतिवेला विष्फोटक हुन्छ थाहा छैन् । कुनैपनि बेला आन्तरिक गृहयुद्धमा फस्ने प्रूवल सम्भावना छ ।’
उनले सरकारले विप्लवसँग वार्ताको नाटक गरिरहेको पनि आरोप लगाए । उनले भने,‘सरकारले वार्ताको नाटक गरिरहेको छ । तर, सरकारले वार्ताको नाटक गरेर दमनको तयारी गरिरहेको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले धाक दिएर हिजो भने अब विप्लवले आत्मसमर्पण गरेमात्रै वार्ता हुन्छ भनेर । यो त वार्ता नगर्ने नाटक हो ।’
कार्कीले अहिलेपनि विप्लवका ७०० सय नेता तथा कार्यकर्ता जेलमा रहेको सुनाए । उनले भने,‘विप्लवले हतियार उठाए मुलुकमा सशस्त्र द्धन्द्ध सुरु हुन्छ ।देशले गृहयुद्ध थाम्न सक्दैन् । तर, ओली सरकार मुलुकमा द्धन्द्ध चर्काउन चाहन्छ । दिनप्रतिदिन गैरजिम्मेवार बन्दै गएको छ ।’ वर्तमान सरकार पश्चिमाहरुको दलदलमा फसेको उनको आरोप छ । उनले भने,‘यो कुरा घट्नाक्रमले पुष्टि गरेको छ। अहिले नेपाल ईण्डो–प्यासिफिक स्टा«टेजीमा आवद्ध भएको छ ।’
नेपाललाई अर्को असफल अफ्गानिस्तान र सिरिया बनाउने षड्यन्त्र भैरहेको उनको आरोप छ । 
कार्यक्रममा वामपन्थी नेता साध्यबहादुर भण्डारीले सरकार र विप्लवबीच निःशर्त वार्ता हुनुपर्ने माग राखेका थिए । उनले मुलुकलाई युद्धतर्फ धकेल्न नहुने धारणा राखेका थिए । उनले भने,‘सरकार र विप्लव समूह दुवैले वार्तालाई स्विकार्नुपर्छ ।’
त्यस्तै कार्यक्रममा माथिल्लो कर्णाली बचाउन अभियानका अभियन्ता भरतबहादुर शाहीले पनि सरकार र विप्लवबीच चाँडै वार्ता होस भन्ने धारणा राखेका थिए । उनले विप्लवमाथि लगाईएको प्रतिबन्ध गलत भएको टिप्पणी गरे । 
उनले वर्तमान सरकारलाई फाँसीवादी चरित्र भएको सरकारको संज्ञा दिए । उनले भने,‘यो सरकार हरेक मोर्चामा असफल भएको छ । यो सरकार रिमोट कन्ट्रोलबाट चलेको छ ।’ कार्यक्रममा पुष्पालाल अध्ययन समाजका लोककृष्ण भट्टराईले पनि सरकार र विप्लवबीच यथाशक्य वार्ता हुनुपर्ने बताएका थिए । 


 


 

४ बर्ष अगाडि

प्रतिक्रिया