स्वदेशमै उपयोग भएन श्रमशक्ति

४ बर्ष अगाडि

काठमाडौँ - विशेष कालखण्डमा मात्र प्राप्त हुने जनसांख्यिक लाभलाई नेपाल विकासमा प्रयोग गर्न चुकेको छ । त्यसको फाइदा खाडी, मलेसियालगायत मुलुकले लिएका छन् । अति न्यून तलब सुविधा दिएर शोषण गर्ने अवसर उनीहरुलाई छ । उपलब्ध श्रमशक्तिलाई सीपयुक्त नबनाउँदा नेपालले भने दोहोरो घाटा बेहोर्नुपरेको छ ।

रोजगारीमा गएको चार वर्षपछि मलेसियाबाट फर्किएर मानेभन्ज्याङ–५ भोजपुरका २८ वर्षीय उदेश निरौलाले गाउँमै कुखुरापालन व्यवसाय थाले । मलेसियामा दिनरात काम गर्दा बचाउने २०/२२ हजार रुपैयाँ उनले कुखुरापालनबाटै जोगाउन सक्ने हिसाब निकालेका थिए ।

मलेसियामा पन्जा बनाउने कारखानामा काम गरेका उनमा कुखुरापालनसम्बन्धी सीप थिएन । मलेसियामा सिकेको सीप मानेभन्ज्याङमा काम लागेन । अरूले गरेकै भरमा उनले कुखुरामा डेढ लाख रुपैयाँ लगानी गरे । त्यो त्यत्तिकै खेर गयो । फेरि लगानी गर्ने क्षमता थिएन । ‘कुखुरापालन व्यवसाय सोचेजस्तो सजिलो रहेनछ । कुन जातको कुखुरा पाल्ने, कस्तो दाना खुवाउने, कसरी हुर्काउने भन्ने विषय नजान्दा मैले ठूलो क्षति बेहोर्नुपर्‍यो,’ उनले भने, ‘रहर गरेर मात्रै हुने रहेनछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया