टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । 

यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ ।नेपाल टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा लिने ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्र मात्र कल गर्न मिल्नेगरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो ।

सो अफर असार मसान्तदेखि समाप्त भएकोले साउन ५ गते पश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त व्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ । त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपैयाँ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्नेछ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस (उयक्)  प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ । 
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ ।

जस अन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेज अन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरु उपलब्ध छन् ।  नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई  निःशुल्क उपलब्ध गराइने छ भने छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा रु. ३ हजार छुट उपलब्ध गराइने छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरुलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया