क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग

४ बर्ष अगाडि

महोत्तरी – जिल्ला क्रिकेट सङ्घ महोत्तरीले दुवै मिर्गौला खराब भएका एक राष्ट्रिय क्रिकेट खेलाडीलाई उपचारका लागि रु ५१ हजार सहयोग गरेको छ ।

सङ्घले काठमाडौँमा उपचार गराउँदै आएका जलेश्वर नगरपालिका–९ फुल्हट्टाका २१ वर्षीय कुन्दनकुमार सिंहलाई आज सो रकम प्रदान गरेको हो । सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जलेश्वरमा एक कार्यक्रम गरी पीडित खेलाडीका मामा अनोजकुमार सिंहलाई चेक हस्तान्तरण गरे । चौध वर्षको उमेरमा जिल्लास्तरीय प्रतियोगिता खेलेका सिंह दुई पटक यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि छनोट भएका थिए । सिंहले यु–१९ र प्रधानमन्त्री कपसमेत खेलिसकेका छन् ।
    
आठ वर्षको उमेरमा आमा र १२ वर्षको उमेरमा बुबा गुमाएका सिंहको पालनपोषण र शिक्षादीक्षा मामा घरमा भएको हो । प्रधानमन्त्री कप खेलेर आएपछि सिंह बिरामी परेको उनका मामा अनोजकुमारले बताए । करीब २० दिन अघि अचानक छातीमा समस्या आएपछि सिंहलाई वीर अस्पतालमा भर्ना गरिएको हो । दुवै मिर्गौला खराब भएपछि सिंह हाल भक्तपुरको एउटा अस्पतालमा डायलसिस गराइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलाडीको उपचारमा कुनै चासो नदेखाएको सिंहका परिवारजनको गुनासो छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया