पातीखोला जलविद्युत आयोजना सञ्चालनमा

४ बर्ष अगाडि

पर्वत – स्थानीय बासिन्दाको विरोधका कारण बन्द रहेको एक मेगावाट क्षमताको पर्वतको पातीखोला जलविद्युत् आयोजनामा हिजो साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको छ । पर्वतको मोदी गाउँपालिका–२ ढाँडखेतमा रहेका प्रसारण लाइनका पोल स्थानान्तरण गर्ने सहमतिसँगै पाँच दिनपछि विद्युत् उत्पादन शुरु भएको हो । विद्युत् उत्पादन बन्द हुँदा आयोजनाका कर्मचारी चार रातसम्म विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका थिए ।

आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । मोदी गाउँपालिका–२ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युत्का तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका थिएनन् । प्रसारण लाइनको एउटा पोलमा बिग्रेको कण्डक्टर मर्मत गरेपछि विद्युत् उत्पादन सञ्चालन भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताउनुभयो ।
 
“प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प भएको थियो”, प्रबन्ध निर्देशक कोइरालाले भन्नुभयो, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैनबत्ती बालेर विद्युतगृह कुर्दै आएका थिए ।” तत्कालका लागि विद्युत् उत्पादन शरु गर्ने र पछि स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि केही पोलहरु परिर्वतन गर्ने सहमति मोदी गाउँपालिकामा भएको हो । वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यर्होन बाध्य भएको थियो । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया