देउवा र पौडेलबीच चर्को आरोप–प्रत्यारोप

४ बर्ष अगाडि

काठमाडौँ - पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ ।

बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए ।

कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरू सहभागी नहुने बताएका थिए । चौधवटा एजेन्डा तय गरी कांग्रेस बैठक असार २२ देखि चल्दै आएको छ । तीमध्ये पार्टीको नियमावलीको मस्यौदा, पार्टीको तल्ला तहका अन्तरिम संरचना निर्माण र महाधिवेशनको एजेन्डामाथि मंगलबार छलफल सकिएको थियो । अन्तरिम संरचना निर्माण र महाधिवेशनको तालिका नआएको भन्दै पौडेलले अन्य एजेन्डाको छलफलमा सहभागी नहुने बताएपछि बैठक अघि बढ्न सकेन ।

बैठकमा पौडेलले सभापति देउवा अधिवेशन नगराउने खेलमा अघि बढेको भन्दै रोष प्रकट गरेका थिए । ‘समय घर्काउँदै जाने र समय बितिसकेपछि यही कार्यसमितिलाई मानौं भन्ने परिस्थिति निर्माण गरेर महाधिवेशन नगराउने खेलमा सभापति लाग्नुभएको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संकटमा पुर्‍याएर पार्टीलाई बचाउन भन्दै यही समितिलाई निर्वाचित भनी निर्वाचन आयोगमा बुझाउने दिन ल्याउन खोजिएको छ ।’

लगत्तै झोक्किँदै देउवाले पौडेलको प्रतिवाद गरे । ‘मलाई खालि शंका गर्ने ? चार वर्षमा अधिवेशन गर्न अब सम्भव छैन । तर, पाँच वर्ष कटाउने पक्षमा म छैन,’ देउवाको भनाइ थियो, ‘मलाई भिलेन जस्तो बनाउने ? अरू सबै हिरो हुने ? मैले महाधिवेशन गराउन नचाहेको छु र ? सभापति देउवाले एक वर्षको कार्यकाल बढाएर २०७७ फागुनसम्ममा महाधिवेशन गर्ने बताएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया