संसदको गतिरोध खुलाउन सर्वदलीय बैठक शुरू

४ बर्ष अगाडि

प्रतिनिधि सभाको जारी गतिरोध खुलाउने विषयमा छलफल गर्न संसद भवन बानेश्वरमा सर्वदलीय बैठक शुरू भएको छ। 

सभामुख कृष्णबहादुर महराको पहलमा शुरु भएको  बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायतको सहभागीता छ ।

त्यसैगरी प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल र प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु बैठकमा उपस्थित भएका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपा नेपालले गत असार २४ बाट लगातार संसद‍् अवरुद्ध गर्दै आएका छन्।

संसदीय सर्वोच्चता कामय गरिनुपर्ने, प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेललगायतको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने उनीहरुको माग छ । 

संसद बैठक आज दिउँसो २ बजेका लागि बोलाइएकोले त्यसभन्दा अघि सहमतिका लागि सभामुख महराले सर्बदलिय बैठक बोलाएका हुन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया