२२ मेगावाट विद्युत् थपियो

४ बर्ष अगाडि

काठमाडौं – पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ ।

आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ । 

फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो ।

यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले बताए। खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो ।

प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट पुर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले जानकारी दिए ।

यहाँबाट प्रतिदिन उत्पादित ५ लाख ७० हजार युनिट विद्युतबाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ ।

रु  ३ अर्ब ६६ करोड मा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत ७० करोड रुपैयाँ बढेको आयोजनाले जनाएको छ । नाकाबन्दी, भूकम्प, आन्तरिक विवादका कारण लागत बढेको हो, आयोजना प्रमुख गणेश सुब्बाले भने ।

विसं २०७४ असारमा सक्ने सम्झौताका साथ २०७० मङिसरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ । ३० प्रतिशत प्रवर्दकहरुको स्वपुँजी लगानी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया