देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : नेता नेपाल

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पाटी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आज आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उहाँले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताउनुभयो । 

“हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ”, उहाँले भन्नुभयो, “नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदारण मैले स्वयम् पाएको छु ।” आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व प्रधानमन्त्री बाराक ओवामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसको विचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताउनुभयो । 

उहाँले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गर्नुभयो । नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उहाँले आग्रह गर्नुभयो । हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गर्नुभयो ।

महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ ।”
सांसद नवराज सिलवालले राष्ट्रिय पहिचान भएका मुलुक विकासको गतिमा अघि बढिरहेका बताउनुभयो । प्रदेशसभा सदस्य लालकुमारी पुनले नेपालको सभ्यता झल्काउन राष्ट्रिय पोशाकले सदैव हरेक नेपालीलाई सहयोग गर्ने बताउनुभयो । 

नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताउनुभयो । 

४ बर्ष अगाडि

प्रतिक्रिया